‘तमाम बर्बादी र नोक्सानपछि पनि जीवन बाँकी रहन्छ’

89
  •  
  •  
  •  

सन् १९७० को दशकमा बेश्यावृत्तिमा लाग्दा ब्रेन्डा मायर्स पावेल सानै थिइन्। यहाँ उनले आफू सानै उमेरमा कसरी गल्लीमा पुगेर यौनकर्म बन्न बाध्य भइन् र त्यसको तीन दशकपछि अरु त्यस्तै साना केटीहरु यो पेशामा फस्नु नपरोस् भनेर आफ्नो जीवन समर्पण गरिन् भन्नेबारे चर्चा गरिँदैछ। उनको जीवन केही मानिसको लागि टिठ लाग्दो हुनसक्छ।

मेरो जीवन सुरु देखिनै कष्टकर थियो तर मैले सधैँ त्यसलाई आफूले सके जति राम्रो बनाउने कोशिस गरेँ।

म सन् १९६० मा सिकागोको पश्चिमी क्षेत्रमा हुर्किएँ।

म जम्मा ६ महिनाको मात्रै थिए मेरी आमाले यो संसार छोड्दा।

मेरी आमा त्यतिबेला जम्मा १६ वर्षकी थिइन्। र, मैले उनको के कारणले मृत्यू भयो कहिल्यै पनि थाहा पाइनँ।

अत्यधिक रक्सी पिउने मेरी हजुरआमाले मलाई मेरी आमाको मृत्यूको कारण त्यसपछि कहिल्यै भनिन्न्।

औपचारिक जानकारीमा चाहिँ मेरी आमाले प्राकृतिक कारणबाटै ज्यान गुमाएकी हुन्।

तर म त्यसलाई विश्वास गर्दिनँ। प्राकृतिक कारणले १६ वर्षको उमेरमा को मर्छ?

बाल्यकाल

मलाई सधैँ भगवान त्यतिबेला मेरी आमालाई लैजान तयार रहेछ भन्ने लाग्छ।

मेरी आमा निकै राम्री र धेरै हाँसो ठट्टा गर्न जान्ने थिइन् रे।

त्यो मलाई सत्य हो भन्ने लाग्छ किनभने म पनि त्यस्तै छु।

आमाको मृत्यू पछि म हजुरआमासँग हुर्किए। उनी खराब मानिस होइनन्।

खासमा उनका केही बानी निकै गज्जबका थिए। जस्तै मेरा लागि कथाहरु पढ्नु, सखरखण्डा र अरु मिठामिठा खानेकुराहरु बनाउनु।

धेरै पियक्कड हुनु उनको मुख्य समस्या थियो। बारबाट उनी घरमा पिउने साथीहरु ल्याउथिन् जसले हजुरआमा मात्तिएर ढलेपछि ममाथि यौन दुराचार गर्थे।

म जम्मा चार वा पाँच वर्षको हुँदा ममाथि यस्ता क्रियाकलाप सुरु भएका थिए।

र, त्यो निरन्तर चलिरह्यो। म विश्वस्त छु, ममाथि भएका यस्ता अपराधबारे मेरी हजुरआमा अनभिज्ञ थिइन्।

उनी सहरबाट अलि टाढाको ठाउँमा घरेलु काम गर्थिन्।

brenda_myers-powell__640x360_brendamyerspowell_nocredit

उनलाई काममा जान र घर फर्किन दुइ-दुइ घन्टा लाग्थ्यो। त्यसैले म आफ्नो घाँटीमा सधैँ साँचो झुन्डाएर बस्थेँ।

हजुरआमा नआउँदासम्म घरपछाडिको खुल्ला ठाउँमा खेलेर बस्थेँ।

र, ममाथि यौन दुराचार गर्नेहरु यसबारे जानकार थिए र त्यसको फाइदा उठाउँथे।

लामो लामो कपाल भएका र निकै चम्किलो लुगा लगाउने महिलाहरु सडकमा उभिइरहेको म घरबाट हेरिरहन्थेँ।

उनीहरु के गर्छन् मलाई थाहा थिएन तर उनीहरु निकै चम्किला छन् भन्ने मलाई थाहा थियो।

एउटी सानी बच्चीको हिसाबले मलाई सधैँ उनीहरु जत्तिकै चम्किलो देखिन मन लाग्थ्यो।

एकदिन मैले मेरी हजुरआमालाई सोधेँ, “ती महिलाहरू के गर्छन्?”

उनले जवाफ दिइन, “तिनीहरु आफ्नो कट्टु फुकाल्छन् र उनीहरुलाई केटाहरुले पैसा दिन्छन्।”

र, मैले मनमनै सोचेँ, “सायद म पनि त्यही गर्छु होला, मेरो त पहिला देखि नै केटाहरुले कट्टु खोल्न थालिसकेका छन्।”

अवोध

अहिले पछाडि फर्किएर हेर्दा, मैले यस्ता सबै कुराहरूलाइ निकै राम्रोसँग सम्हालेँ।

त्यो घरमा एक्लै मलाई नाच्न र गाउनको लागि साथ दिन एल्भिस प्रस्ले, डायना रोस र सुप्रिम नाम गरेका काल्पनिक साथीहरु थिए।

मलाई लाग्छ त्यसले मलाई कुराहरुसँग झुझ्न धेरै मद्दत गर्यो।

म धेरै नै रमाइलो गर्नुपर्ने केटी थिएँ र निकै धेरै हाँस्ने गर्थेँ।

र, त्यति नै बेला म निकै डराउँथे। डराइरहन्थेँ। मलाई थाहा थिएन जे भइरहेको थियो त्यो सही थियो वा गलत।

मलाई लाग्थ्यो केही कुरा मसँग नराम्रो थियो सायद। म निकै चलाख भए पनि मैले स्कुल छोडेँ।

सन् १९७० को ताका मलाई थाहा थिएन कसरी केटाहरुलाई नाइ भन्नुपर्छ।

छरछिमेकका केटाहरुले मलाई तिमी मनपर्छौ भनेर राम्रो व्यवहार गर्दा मलाई उनीहरुलाई के भन्नुपर्छ भन्ने थाहा थिएन।

१४ वर्षको हुँदा छिमेककै केटाहरुबाट मेरा दुईवटा छोरीहरु जन्मिइसकेका थिए।

यी दुई छोरीलाई पाल्नका लागि मैले पैसा ल्याउनुपर्ने कुरा मेरी हजुरआमाले भन्नथालिन्।

हामीसँग खानको लागि घरमा केही हुँदैनथ्यो।

त्यसैले शुक्रबारको एक रमाइलो साँझ म मार्क ट्वाइन होटलको अगाडि उभिएँ।

brendamyerspowell_nocredit

करिब ४ डलर जतिको लुगा, सस्तो प्लास्टिकको जुत्ता र सुन्तला रंगको लिपिस्टिक लगाएको थिएँ। मलाई लाग्छ त्यो पहिरनमा मलाई अलि उमेरदार देखिनेछ।

म जम्मा १४ वर्षको थिएँ र ममाथि त्यो रात जे भयो त्यो सबैमा म खुब रोएँ। तर मैले जे गर्नुपर्थ्यो त्यो सबै गरेँ।

मलाई मन परेको थिएन तर मैले रात बिताएका पाँच पुरुषले मलाई त्यो राति मैले के के गर्नुपर्ने सबै सिकाए।

उनीहरुले म भर्खरकी भएको थाहा पाए र उनीहरु यसैबाट हौसिए जस्तो लाग्थ्यो।

मैले त्यो रात ४ सय डलर कमाएँ। मैले कमाएको सबै रुपैँया हजुरआमालाई दिएँ तर त्यतिका पैसा कहाँबाट आयो भनेर उनले सोधिनन्।

त्यसपछिको हप्ता पनि म त्यही होटल छेउ गएँ र मैले पैसा लिएर घर गएपछि हजुरआमा खुशी भएको मैले चाल पाएँ।

तर म तेस्रोपटक त्यही ठाउँमा पुग्दा पेस्तोल बोकेका केही केटाहरुले मलाई उनीहरुको कारभित्र हालेर लगे।

उनीहरुकै शब्दमा म सडकमा एक्लो देखिएकोले उनीहरुले त्यसअघि नै ममाथि हमला गर्न खोजेका थिए।

पहिला तिनीहरुले मलाई अनकन्टार मकैबारीको बीचमा लगे र त्यसपछि बलत्कार गरे।

त्यसपछि उनीहरुले मलाई एक होटलको कोठामा लगेर बन्द गरिदिए। उनीहरुले ६ महिनासम्म मेरो दलालि गरे।

मैले भाग्ने कोशिस पनि गरें। तर, उनीहरुले मलाई पक्रिए मलाई धेरै पीडा दिए।

मलाई पाँच पटक गोलि हानियो। १३ पटक चक्कु प्रहार गरियो।

मलाई थाहा छैन कि ती व्यक्तिहरुले ममाथि यति ठूलो आक्रमण किन गरे। मलाई यति मात्र थाहा छ कि समाजमा उनीहरुलाई आरामसँग यो सब गर्ने अधिकार दिइएको छ।

यातना

दलालहरु यातना दिन निकै सिपालु हुँदा रहेछन्। त्यसमध्ये केही मध्यरात शीररमा बन्दुक पनि तेर्स्याउँछन्।

र, मेरा लागि यस्तो गरिस् भने यति हिस्सा पाउँछेस् भनेर पनि भन्छन्। तर, कहिल्यै दिँदैनन्।

केही मानिसहरु वेश्यावृत्तिलाई ग्लामरस तथा सहज काम मान्छन्। तर, यहाँ त्यस्तो केही छैन।

एक यौनकर्मीलाई एक दिनमा पाँच जना अपरिचित व्यक्तिसँग सुत्नुपर्छ। त्यो हिसाबले वर्षमा १८ सय भन्दाबढी व्यक्तिसँग सुत्नुपर्छ।

मलाई विश्वास गर्नुस् मसँग सम्बन्ध राख्नेले फूल लिएर आउँदैनन्, केवल मेरो शरिरलाई शौचालयको रुपमा प्रयोग गर्छन्।

यौनकर्मीको रुपमा २५ वर्षसम्म मैले बाहिर निस्कने बाटो नै पाउन सकिनँ।

१ अप्रिल १९९७ मा म ४० वर्षकी हुँदा एक ग्राहकले मलाई आफ्नो कारबाट बाहिर फ्याकिदियो।

मेरो कपडा उसको कारको ढोकामा अड्कियो। ऊ म जमीनमा घिस्रिरहँदा कार चलाइरहेको थियो। मेरो अनुहार र जिउको सबै छाला खुइलियो।

म शिकागोको काउन्टी अस्पताल पुगें। मलाई आकस्मिक कक्षमा लगियो। उनीहरुले एक प्रहरी अधिकारीलाई बोलाए।

उनले मलाई देख्नासाथ भने- ‘यो केटीलाई म चिन्छु। यो त वेश्या हो। सायद यसले कसैलाई पिटी होला वा कसैको पैसा चोरी होला। यसलाई जे गर्नु पर्ने थियो त्यही भएको जस्तो छ।’

उसको कुरा सुनेर नर्सहरु हाँसिरहेको आवाज मैले सुनें। उनीहरुले मलाई प्रतिक्षा कक्षमा धकेलिदिए।

अचानक लाग्यो कि मसँग कोही छैन। मैले माथि हेरें र भगवानसँग भनें, ‘यी मान्छेलाई मेरो कुनै मतलव नै छैन। भगवान के तिमी मलाई सहयोग गर्छौ?’

भगवानले मेरो गुहार सुने। एक डाक्टरले मेरो रेखदेख र उपचार गरे। उनले मलाई अस्पतालको सामाजिक सेवामा जान भने।

brenda_ayudando

उनले मलाई जेनेसिस हाउस नामको ठाउँसम्म जाने बससम्म पुर्याए। त्यहाँ एडविना गैटली नामकी अंग्रेज महिला भेटिइन्, तिनी मेरो जीवनकी आदर्श नै बनिन्।

यो एक सुरक्षित ठाउँ थियो, जहाँ मेरो आवश्यकताका हर सामान उपलब्ध थिए।

म त्यहाँ दुई वर्ष बसें। मेरो अनुहार र आत्माको घाउ पुरियो। मैले आफूलाई पुन: पाएँ।

एडविनाबाट मैले महिलाहरुको समूहले कसरी एक अर्कालाई माया र सहयोग गर्न सक्छन् भन्ने सिकेँ।

सामान्य रुपमा कुनै पनि महिला वेश्यावृत्तिबाट बाहिर आएपछि त्यसबारे कुरा गर्न चाहनन्।

त्यतिबेला मलाई एक जागिरको खोजी थियो। मैले यौनकर्मीका बारेमा अध्ययन गरिरहेका एक विश्वविद्यालयका शोधकर्तालाई सघाउने काम शुरु गरेँ। र, मलाई थाहा भयो कि कसैले उनीहरुलाई सहयोग गरिरहेको थिएन।

त्यसपछि स्टिफन डेनिल्स विल्सनका साथ सन् २००८ मा मैले ड्रिमक्याचर फाउण्डेशन बनाएँ।

म महिला र केटीहरुको जीवनका खराब सपनाहरु भगाउन चाहन्थेँ। हालै बनाइएको बृत्तचित्र ‘ड्रिमक्याचर’मा हाम्रो कामलाई देखाइएको छ।

अहिलेसम्म हामीले १३ छात्रालाई उच्च शिक्षा दिलाइसकेका छौं। उनीहरु हामीकहाँ आउँदा ११, १२, १३ वर्षका थिए र निकै विक्षिप्त अवस्थामा थिए। अहिले उनीहरु तारा चुम्न खोज्दै छन्।

brenda_myers-powell__624x351_bbc_nocredit

यसबाहेक म विभिन्न सम्मेलनमा भाग लिएर यौनकर्मीहरुको बारेमा गरिने अध्ययन र खोजका विषयमा योगदान दिइरहेको छु।

मेरा छोरीहरु जसलाई मेरी सानीमाले हुर्काइ बढाइ गरिन्, उनीहरु गज्जबको जीवन बाँचिरहेका छन्।

उनीहरु मध्ये एक डाक्टर छिन् भने अर्की फौजदारी न्यायमा काम गरिरहेकी छिन्।

मलाई आफ्नो जीवनका सबै उतारचढावपछि अर्को कोही मानिससँग विहे गर्छु भन्ने लागेको थिएन।

तर मेरो जीवनमा एउटा असाधारण व्यक्ति भेटिए जसले मेरो विगतको जीवनलाई देखेनन्। मात्रै भने, “म तिम्रो मुहारमा एउटी केटीको हाँसो देखिरहेको छु र म उसलाई आफ्नो जीवनको हिस्सा बनाउन चाहन्छु।”

म पनि त्यही चाहन्थे र अघिल्लो वर्ष हामीले विवाहको १० औं वर्षगाँठ मनायौं।

मेरा श्रीमान् र मैले हाम्रो भतिजालाई धर्मपुत्र पालेका छौं। म अहिले ५८ बर्षकी भएँ।

त्यसैले म तपाईंलाई भन्न सक्छु, ‘तमाम बर्बादी र नोक्सानपछि पनि जीवन बाँकी रहन्छ।’

कसैले तिम्रो जीवनको कुनै अर्थ र मूल्य छैन भनेर भने पनि जिन्दगी त हुन्छ नै। मैले जिन्दगीको एउटा सानो हिस्साको मात्रै कुरा गरिरहेको छैन, एउटा सम्पूर्णता सहितको जीवनका बारेमा भनिरहेको छु।

-बीबीसी नेपाली सेवाबाट 


  •  
  •  
  •