निर्णायक वार्ता नेपालका लागि घातक : बिजुक्छें

215
  •  
  •  
  •  

भक्तपुर, २ मंसिर(ओएनएस) : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले मधेश आन्दोलनका नेतृत्वसँगको निर्णायक वार्ता नेपालका लागि घातक सावित हुने बताएका छन् ।

रफत सञ्चार क्लबले आयोजना गरेको साक्षत्कार कार्यक्रममा उनले देशका नदी नाला दिएर भन्दा वार्ता असफल भएको राम्रो हुने र संर्घषलाई निरन्तरता दिनु नै जाती हुने बताएका छन् । उनले भने, ‘मधेशवादी दलहरूसँग वार्ताको प्रमुख पात्रको रूपमा रहेकाहरुले निर्णायक वार्ता गर्दैछौ भनेर जसरी प्रस्तुत् भएका छन्, यसले नेपालको हित हुँदैन र देशलाई दीर्घकालिन घाटा पुर्‍याउँदै नेपालका नदीनाला सुम्पदै वार्ता सफल पार्ने काम मात्र हुनेछ ।’

नेपाली राजनीतिमा सबैभन्दा कमजोर नेताका रुपमा प्रचण्ड रहेको र प्रधानमन्त्री बनेका प्रचण्ड र बाबुरामले आफुले के काम गरे त्यसको विषयमा समेत समिक्षा गर्नु पर्ने भन्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीको देशका नाममा सन्देश सकारात्मक रहेको उनको टिप्पणी थियो ।

सिंहदरबारमा झुन्डाएर राखिएका प्रधानमन्त्रीका तस्वीरहरू नियाल्दै कसको कार्यकालमा कस्ता काम भएका थिए भन्ने मुल्याङ्कन र समिक्षा गर्नु पर्ने भन्दै उनले हाल आएर अरूलाई दोष लगाउने परम्पराको रोग परित्याग गर्नु पर्नेमा जोड दिएका छन् ।

‘औषधिको हाहाकार छ, अक्सिजन छैन तर पनि स्वास्थ्य मन्त्री के गरिरहेका छन् ? यो जटिल प्रश्न उब्जिएको छ । छिमेकी देशहरुमा नियुक्ति गरिएका राजदुतहरु के हेरेर बसिरहेका छन् ? अन्य सहयोगी देशहरुसँग कुटनीतिक पहल गरि औषधि र अक्सिजन ल्याउन पहल गर्नु पर्छ ।’, उनले भने ।

नेपालमा दुईवटा तराई रहेको विषयलाई बुझ्न नसक्नु र तराईका कामदार वर्ग यो तराई आन्दोलनको पिल्साईमा परेको भन्दै बिजुक्छेंले यतिबेला विगतमा मन्त्री भइसकेका र जनताबाट पराजित भएका जमिन्दारहरूको आन्दोलनमा भारतका गुण्डाहरू आएर तराईका नेपालीलाई दुःख दिईरहेको बताए । उनले भने, ‘तराई क्षेत्रबाट हटाईएको प्रहरी चौकीको बिस्तारमा ब्यापकता दिनुका साथै नेपाली सैनिकको समेत परिचालन गर्नु पर्छ ।’

स्थानीय निकायको निर्वाचन गर्न सकिए नाकाबन्दीलाई समेत सहज पार्न सकिने भन्दै देशको हितका लागि समेत स्थानीय निकायको निर्वाचन गर्नु सरकार लागि पर्नु पर्ने उनको भनाई छ ।


  •  
  •  
  •