बम पड्काउने र पैसा असुल्नेसँग वार्ता गर्नुको औचित्य छैन : प्रधानमन्त्री

396
  •  
  •  
  •  

काठमाडौं, २८ फागुन(ओएनएस) : प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसा र बिस्फोटबाट आतंक मच्चाएर लुटपाट गर्ने समुहसँग सरकारले वार्ता नगर्ने बताएका छन् ।

नेपाल वैदेशिक रोजगार व्यावसायी संघको टोलीसँगको भेटघाटमा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
फागुन २४ गते संघका अध्यक्ष रोहन गुरुङको घरमा बम हानेको विषयमा प्रधानमन्त्रीको ध्यानाआकर्षण गर्न आएको टोलीसँग मंगलबार बालुवाटारमा कुरा गर्दै प्रधानमन्त्री ओलीले बम पड्काउने र पैसा असुल्नेहरुसँग वार्ता गर्नुको औचित्य नभएको स्पष्ट पारे ।

उनले भने, ‘कतिपयले वार्ता गर्नुप¥यो भन्छन् तर के का लागि वार्ता गर्ने ? उनीहरुले गरेका क्रियाकलाप राजनीतिक हुन् ? बम पड्काउने,आतंकित पार्ने ,पैसा असुल्ने कुरा राजनीतिक हुन सक्दैनन् । जहाँ जहाँ धेरै पैसा छ भन्ने लाग्छ त्यही बम हान्नेहरुसँग के को वार्ता ? उनीहरुलाई कानून बमोजिम नियन्त्रणमा लिइन्छ ।’
प्रधानमन्त्री ओलीले एउटा गिरोहले कम्यूनिष्टका नाममा घिनलाग्दो काम गरिरहेको बताए ।

कम्यूनिष्टले त यूवाहरुलाई कर्मठ र कर्मशिल हुन सिकाउनुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । ‘कम्यूनिष्टले त यूवाहरुलाई कर्म्शिल हुन,सही बाटोमा हिडाउन र उत्पादनमा लाग्न सिकाउनु पर्ने हो’ प्रधानमन्त्री ओलीले भने, ‘यहाँ त कम्यूनिष्टको नाममा यूवालाई लुट्न सिकाइरहेका छन् । यो हुन सक्ने कुरा होइन ।’

प्रधानमन्त्री ओलीले अध्यक्ष गुरुङको घरमा भएको बिस्फोटप्रति दुःख व्यक्त गरेका छन् । यस घटनाको बारेमा सरकारले छानविन गर्ने प्रधानमन्त्री ओलीले प्रतिवद्धता व्यक्त गरे ।


  •  
  •  
  •