यस्तो छ बलिउड हल्लाउने ब्रेकअप

141
  •  
  •  
  •  

व्यावसायिक रूपमा बलिउड जति सफल छ, कलाकारको प्रेम र रोमान्सका कथा त्यत्तिकै रोमाञ्चक छ। इतिहासदेखि वर्तमानसम्मै बलिउड प्रेमको घनचक्करमा देखिन्छ। कतिपय नायकनायिकाबीचको प्रेम, रोमान्स, विवाह र ब्रेकअप आफैंमा चलचित्रको कथाजस्तो लाग्छ। कस्ता छन् त बलिउड हल्लाउने ब्रेकअप :
अमिताभ र रेखा 
अमिताभ बच्चनको नाम बलिउडमा जति उच्च छ, प्रेमप्रसंगमा त्यत्तिकै चर्चित छ। सत्तरीको दशकमा बलिउडमा एकछत्र राज गरेका अमिताभ र रेखाको प्रेमसम्बन्ध चर्चाको शिखरमा थियो।
 चलचित्र ‘दो अन्जाने’ छायांकनदेखि नजिकिएका उनीहरू ‘सिलसिला’देखि अलग हुन पुगे। अमिताभ बच्चन, जया बादुरी र रेखाको वास्तविक जीवनमा आधारित भनिएको यो चलचित्रमा त्रिकोणात्मक प्रेम चित्रण गरिएको छ।
चलचित्र ‘गंगाकी सुगन्ध’को छायांकनमा सहकर्मीले रेखालाई दुर्व्‍यवहार गरेको निहुँमा अमिताभले बबाल बच्चाएपछि उनीहरूको प्रेमसम्बन्ध सार्वजनिक भएको हो। गोप्य रूपमा विवाह गरेको हल्लासमेत चलेको उनीहरूको प्रेम जति चर्चित भयो, ब्रेकअप पनि त्यत्तिकै रहस्यमय छ।
सलमान र ऐश्वर्या 
सलमान खान र एेश्वर्या रायको प्रेमप्रसंग बलिउडमा सर्वाधिक चर्चित मानिन्छ। ‘हम दिल दे चुके सनम’मा सँगै काम गरेका सलमान र पूर्वविश्वसुन्दरी ऐश्वर्यालाई देखेर दर्शक ‘भगवान्ले बनाएको जोडी’ भन्ने गर्थे।
तर, उनीहरूको प्रेम धेरै टिक्न सकेन। सलमानको रिसाहा बानीका कारण सम्बन्ध बिग्रिएको भनिन्छ। सलमान जति रिसाए पनि एेश्वर्यालाई औधि मन पराउँथे।
तर, ऐश्वर्या परिवार भने सलमानसँगको सम्बन्धमा खुसी थिएन। अन्तर्वार्तामा बाबुआमाको चित्त नदुखाउने बताएकी ऐश्वर्याले अभिषेक बच्चनसँग विवाह गरिन्।
आमिर र रीना 
आमिर खान र रीना दत्तको पहिलो प्रेम ‘कयामत से कयामत तक’बाट सुरु भएको हो। आमिरले २१ वर्षमै विवाह गरे तर धर्म फरक भएकाले सुरुआतदेखि नै समस्या देखियो। रीना हिन्दु थिइन् आमिर मुस्लिम।
रीनाको परिवारले स्वीकार नगरेपछि उनीहरूले भागेर विवाह गरेका थिए। पछि आमिर ‘लगान’ की सहनिर्देशक किरण रावसँग नजिकिए। रीनासँग मनमुटाव भयो। त्यसपछि १६ वर्षे वैवाहिक सम्बन्ध विच्छेद गर्दै आमिरले किरणसँग विवाह गरे।
सैफ अलि र अमृता 
सैफ अलि खान र अमृता चलचित्रकै सिलसिलामा भेट भएका थिए। सैफ आफूभन्दा १२ वर्ष जेठी अमृतासँगको प्रेममा परे। उमेर निकै फरक भए पनि विवाह गर्ने निर्णय गरे।
कतिपयले यो विवाहको औचित्य नभएको तर्क गरेका थिए। उनीहरूबाट दुई बच्चा जन्मिए। केही वर्ष सैफ स्विस मोडेल रोसासँग लागे।
सन् २००४ मा अमृतासँग सम्बन्धविच्छेद गरेका उनी चलचित्र ‘टसन’को छायांकनमा करिना कपुरसँग नजिकिए। पछि उनीहरूले विवाह गरे।
विपाशा र जोन 
विपाशा वसु र जोन अब्राहमलाई बलिउडमा आदर्श जोडी मानिन्थ्यो। उनीहरू चलचित्र ‘जिस्म’मा काम गर्ने क्रममा नजिकिएका थिए। विपाशा जोनका लागि निकै क्रेजी थिइन्।
जोनको अन्य सहकर्मीसँगको निकटता उनलाई मन परेन। विपाशाले जोनले प्रतिबद्धता पूरा नगरेको र उनीसँगको सम्बन्धमा सुरक्षित नभएको आरोप लगाइन्। जोनले प्रिया रुन्चालसँग विवाह गरे। विपासाले जोनले आफूलाई धोका दिएको बताउने गरेकी छन्।
करिश्मा र अभिषेक 
बलिउडमा करिश्मा कपुर र अभिषेक बच्चनको ब्रेकअपलाई सबभन्दा नराम्रो मानिन्छ। बलिउडका दुई खानदानबीचको सम्बन्ध थियो त्यो। उनीहरूबीच अमिताभ बच्चनको जन्मदिन पारेर इन्गेजमेन्ट पनि भएको थियो तर चार महिनामै सम्बन्ध बिग्रियो।
जया बच्चनले भविष्यमा बुहारीलाई चलचित्र क्षेत्रमा आउन नदिने घोषणा गर्नु र उनको विगतको सम्बन्धबारे जान्न खोज्नु ब्रेकअपको मुख्य कारण मानिन्छ। जयाको शंकाका कारण करिश्माकी आमा बबिताले विवाह रद्द गर्ने घोषणा गरिन्। पछि बाध्य भएर दुवैजना आआफ्नो बाटो लागे।
अक्षयकुमार र शिल्पा 
अक्षयकुमार र ट्विंकल खन्नाको विवाहअगाडि अक्षय र शिल्पा प्रेम गर्थे। उनीहरू चलचित्र ‘धड्कन’को छायांकनदेखि नजिकिएका हुन्। अक्षयलाई पाउन शिल्पा पागलझैं बनेकी थिइन्।
अन्त्यमा उनले ट्विंकलसँग विवाह गरे। शिल्पालाई यसले ठूलो चोट पुर्‍यायो। भनिन्छ, अक्षयको विवाहपछि लामो समय चलचित्र क्षेत्रमा शिल्पाले काम गर्न सकिनन्। अन्त्यमा उनले व्यापारी राज कुन्द्रासँग विवाह गरिन्।
दीपिका र रणवीर 
रणवीर कपुर र दीपिका पादुकोणेको प्रेम बलिउडमा पछिल्लो समय निकै चर्चित बन्यो। बलिउडमा दुवै नयाँ अनुहार थिए। ‘ओम शान्ति ओम’को सफलताबाट चम्केकी दीपिका र रणवीरबीचको प्रेमलाई धेरैले रुचाएका थिए।
तर, ‘अजब प्रेमकी गजब कहानी’को छायांकनमा कट्रिना कैफसँग नजिकिएपछि दीपिका र रणवीरबीच मनमुटाव भयो। रणवीर कट्रिनातिरै लागेपछि दीपिकाले रणवीर सिंहसँग डेटिङ सुरु गरेकी छन्।
अनुष्का र रणवीर 
बलिउडमा सँगसँगै करिअर सुरु गरेका रणवीर सिंह र अनुष्का शर्मा अभिनयमा सफलतासँगै प्रेमसम्बन्धबाट पनि चर्चामा आए। उनीहरू एकअर्काको खुलेर प्रशंसा गर्थे।
आफ्नो प्रेम लुकाउन नचाहने जोडीका रूपमा चिनिएका उनीहरूको प्रेम पनि ब्रेक भयो। अहिले रणवीर दीपिका पादुकोणे र अनुष्का क्रिकेटर विराट कोहलीसँगको प्रेममा छन्।
एजेन्सीको सहयोगमा अन्नपूर्णपोष्टका लागि नितु घलेको प्रस्तुति  

  •  
  •  
  •