बाबुराम भन्छन् : प्रधानमन्त्री पदबाट राजीनामा दिएकै छैन

320
  •  
  •  
  •  

baburam-bhattaraiकाठमाडौ, २ बैशाख (ओएनएस) : पूर्वप्रधानमन्त्री तथा एकीकृत नेकपा माओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री पदबाट राजीनामा नैं नदिएको दाबी गरेका छन् । मार्टिन चौंतारीले पञ्चयाती व्यस्थापछिको २५ बर्षका विषयमा गरेको छलफल कार्यक्रममा नेता भट्टराईले आफूले राजीनामा नदिएर खिलराज रेग्मीलाई जिम्मेवारी मात्र हस्तान्तरण गरी विदा भएको बताएका हुन ।

‘तपाईहरुले खोज्नुहोला, नखोजेपनि इतिहासले त अवश्य खोज्ने छ, मैले राजीनामा दिएकै छैन’ भट्टराईले भने, ‘इतिहासले यसको सहि मूल्याङ्कन र समिक्षबाट न्याय गरोस भन्ने मेरो मान्यता हो ।’

उनले इतिहासले जसरी मूल्याङ्कन गरेपनि आफूलाई स्वीकार्य भएको पनि बताए । ‘मलाई सैन्य कूबाहेक अर्को माध्यमबाट कसैले हटाउन सक्ने माध्यम थिएन’ उनले भने, ‘म डेमोक्रेट (प्रजातन्त्रवादी) भएका कारण मात्र स्वेच्छाले पद छोडेको हुँ ।’

तात्कालिन प्रधानन्यायाधिस खिलराज रेग्मीलाई विदेशीकै इसारामा सरकारप्रमुख बनाएको भन्ने जिज्ञासामा मौन बसेका उनले कांग्रेस–एमालेले असहयोग गरेका कारण गैरराजनीतिक नेतृत्व खोज्नुपरेको बताए ।

‘संसदीय राजनीतिमा संसद विघटन गर्ने व्यक्तिले चुनाव गराउन पाउनुपर्छ’ उनले भने, ‘तर जति गर्दापनि कांग्रेस–एमाले नआएपछि मैले चुनावी सरकारको नेतृत्व प्रधानन्यायधिसलाई दिन बाध्य भएको हुँ ।’

डा. भट्टरईले चुनावी सरकारको स्मरण गर्दा राष्ट्रपतिप्रति आक्रोस पोखे । ‘कांग्रेस–एमालेले असहिष्णु र अराजनीतिक व्यवहार देखाएपनि मेरै नेतृत्वमा नयाँ सरकार गठन सम्भव थियो’ उनले थपे, ‘राष्ट्रपतिले पनि चुनाव गराउन मान्नु भएन, उहाँ तटस्थ राष्ट्रप्रमुख भन्दापनि नेपाली कांग्रेसको महामन्त्रीबाट माथि उठ्नै सक्नुभएन ।’

Baburam

हिसिलाको प्रश्न बाबुरामको जवाफ
बाबुरामले जवाफ दिदै गर्दा पटक–पटक समावेसी लोकतन्त्रको कुरा गरेपछि प्रवचन कार्यक्रमको संयोजन गरिरहेका मार्टिन चौतारिका भास्कर गौतमले महिलालाई पनि प्रश्न सोध्न प्रोत्साहन गरे । तर, प्रश्न नआएपछि एकजनाले बीचबाट आमाको नामबाट नागरिकता दिने व्यवस्था नभएकाले महिलाबाट प्रश्न नआएको होल भनेपछि डा. भट्टराईले त्यसमा आफूले संवाद समितिमा प्रस्ताव लगेपनि त्यसको कार्यान्वयन हुन नसकेको स्वीकार गरे ।

यत्तिकैमा अन्तिम राउण्डका लागि भन्दै प्रश्न राख्न फ्लोर ओपन गरियो । मेरो प्रश्न छ भन्दै अगाडी बसेकी एमाओवादी नेतृ तथा भट्टराई पत्नी हिसिला यमीले प्रश्न गरिन, ‘ तपाईले नयाँ शक्तिको कुरा गरिरहनु हुन्थ्यो त्यो कहाँ पुग्यो ?’ जवाफमा भट्टराईले नयाँ शक्तिको उदय अवश्यमभावी भएको दाबी गरे ।

‘नयाँ शक्तिको उदय अवश्यमभावी छ’ उनले भने, ‘कहाँबाट कसको नेतृत्वमा आउँछ, म अहिलेनै भन्न सक्ने अवस्थामा छैन, तर नयाँ शक्तिको उदयलाई कसैले रोक्न सक्दैन ।’


  •  
  •  
  •