बाबुरामलाई छड्के ‘चेक’ !

443
  •  
  •  
  •  

BRBकाठमाडौं, २६ कात्तिक (ओएनएस) : ‘बाबुराम भट्टराईले बाहाना बनाएका हुन्, उनको र प्रचण्डको मिलेमतो छ’ बुधवार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कांग्रेस उपसभापति रामचन्द्र पौडेलले दाबी गरे ।

उनको भनाईमा सही थाप्दै सत्तासिन दलका अरु नेताले पनि भट्टराईको आलोचना गरे । भट्टराईले ज्वरो आएका कारण बुधबारको संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिको बैठक स्थगन गरेको सूचना पाएपछि सत्तासिन दलका नेताहरु निकै आक्रोेसित बनेका थिए । बालुवाटारमै छलफलमा रहेका बेला मालेका महासचिव सिपी मैनालीले एउटा उपाय खोजे । भट्टराईलाई सानेपास्थित उनकै निवासमा भेट गर्न जाने ।

उनी बिरामी भए नभएको जानकारी पनि पाइने र छड्के पनि हुने मनसायले राखेको उनको प्रस्ताव तत्कालकै सबैले सहमति जनाए । स्रोतका अनुसार प्रधानमन्त्री सुशील कोइरालाले सहमतिका लागि आफ्नो सन्देश सुनाई दिन पनि आग्रह गरे । ‘भट्टराई सबैलाई मिलाएर लैजाने समितिको सभापति कम र एमाओवादी नेता बढी भए’ भन्दै आलोचना गरेका नेताहरु छुट्टा छुट्टै समय पारेर भट्टराईको सानेपा स्थिति निवासमा पुगे ।

‘भट्टराईले वाहाना बनाए भन्ने लागेको थियो तर साच्चिकै विरामी हुनुहुदोरहेछ’ भेटपछि माले महासचिव सिपी मैनालीले जानकारी दिए । उनका अनुसार भट्टराईलाई धेरै ज्वरोले नच्यापे पनि केही आरामको आबश्यकता रहेछ । भेटका क्रममा सत्तासिन दलका नेताहरुले सम्वाद समितिमा आएका सबै प्रस्ताव संविधान सभामा लैजान प्रस्ताव गरेका थिए ।

‘मतदान गरेर अल्पमत बहुमत बनाउन होइन प्रक्रिया नै अवरुद्ध नगरौ भन्ने हामीले भन्यौं’ मैनालीले भने, ‘त्यसमा भट्टराई पनि सहमत नै थिए । तर प्रचण्ड आएपछि निणर्य गरौ भन्ने उनको आग्रह रह्यो । ’  एक साताका लागि रोल्पा पुगेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल बिहीबार राजधानी फर्किदैछन् । प्रधानमन्त्रीबाट नै आफुलाई छिटो आउन खबर आएको भन्दै उनी फर्किन लागेका हुन् ।

भेटपछि संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराईले आफू प्रमुख दलहरुबीच हुने सहमतिअनुसार नै अघि बढ्ने प्रतिवद्धता ब्यक्त गरे ।

छलफल पछि सभापति भट्टराईले भने – ‘मैले अन्त्यसम्म पनि प्रमुख दलहरुका बीचमा प्रक्रियाकै विषयमा पनि सहमति नै गर्नुहोस् र जे विषयमा तपाईंहरु सहमति गर्नुहुन्छ त्यही सहमतिअनुसार म जान्छु भन्ने प्रतिवद्धता व्यक्त गरेको छु र गर्दछु ।’


  •  
  •  
  •