आत्मसमर्पणको वार्तामा सहभागी हुँदैनौ : भट्टराई

184
  •  
  •  
  •  

baburam bhattraiकाठमाडौं, १५ माघ (ओएनएस) : एमाओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले सत्तापक्षीले बोलाएको आत्मसमर्पणको वार्तामा कोही सहभागी नहुने स्पष्ट पारेका छन् ।

‘माघ ११ गते संविधानसभाका अध्यक्षमार्फत बलमिच्याईं गरेर बहमतीय प्रक्रियामा प्रवेश गरिसकेपछि वार्ताको केही औचित्य छैन । नजिकै पुगेको सहमति–समझदारीहरुलाई समेत तोडेर अर्को प्रक्रियामा जानुभयो ।’, रिपोर्टस क्लबले आज एमाओवादी पार्टी कार्यालय, पेरिसडाँडा, कोटेश्वरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा नेता भट्टराईले भने – ‘माघ ११ गते बलजफ्ती गरिएको निर्णयलाई उहाँहरुले फिर्ता लिनुपर्छ । त्यसपछि निःशर्त ढंगले फेरि वार्तामा बसौं भनेर वातावरण बनाउनुपर्छ । त्यसो भयो भने वार्ता हुन सक्छ । तर बलमिच्याईंपूर्ण तरिकाले प्रक्रिया अगाडि बढाउने अनि वार्ता गरौं भन्नु त ‘आत्मसमर्पण गर्न आइज’ भनेजस्तो हुन्छ । त्यस्तो आत्मसमर्पणको वार्तामा कोही सहभागी हुन्छ जस्तो लाग्दैन ।’

नेता भट्टराईले सत्तापक्षले विगतका सहमति–सम्झौतालाई पूरै तोडेर संख्याको आधारमा नै संविधान जारी गर्छु भन्ने मुढेबल प्रदर्शन गरिसकेपछि अन्य पक्षले फेरि आन्दोलनमा जानु, जनताको बीचमा जानुको विकल्प नभएको बताए । फेरि आन्दोलनमा जाने विपक्षी दलहरुको निर्णय उनीहरुको वाध्यात्मक अवस्था भएको पनि उनले बताए ।

‘१२–बुँदे समझदारीदेखि यता निरन्तर शान्ति प्रक्रियामा संलग्न भएको व्यक्तिको नाताले संविधानसभामार्फत अग्रगामी संविधान बनोस्, यो देशका विभिन्न उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग, समुदायको स्वामित्व, अपनत्व कायम गर्ने गरी संविधान बनोस् र देशमा दीगो शान्ति होस् भन्ने मेरो चाहना हो । त्यसैले म आफ्नो तर्फबाट निरन्तर प्रयत्न त गर्छु’, उनले भने  – ‘अब बल सत्तापक्षको कोर्टमा पुगेको छ । उनीहरुले कत्तिको सुझ–बुझका साथ आफ्नो कदम चाल्छन्, फेरी यही दम्भ प्रदर्शन गर्छन् या हिजोका आन्दोलनका सहयात्रीहरुलाई साथमा लिएर जाने तत्परता देखाउँछन् त्यसमा भर गर्छ । त्यसैले आगामी केही हप्ता, केही महिना मैले निकै चूनौतीपूर्ण देखेको छु ।’

संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिको सभापतिको हैसियतले आफूले निरन्तर प्रयत्न गरेको र राज्यको पुनःसंरचना, शासकीय स्वरुप, निर्वाचन प्रणाली लगायतका मुख्य विवादित विषयमा गत असोज १३ गते विभिन्न विकल्पहरु दिएको उनले स्पष्ट पारे ।

‘कार्यनीति फेल हुन लागेको होइन’

संविधानसभाको कार्यनीति नै फेल भएको हो कि भन्ने प्रश्नमा नेता भट्टराईले भने – ‘कार्यनीति नै गलत थियो भन्ने म ठान्दिन“, अहिले पनि नेपालीको निम्ति संविधानसभाबाट संविधान बन्नु नै हितकारी हुन्छ । तर संविधानसभा जनताको हातबाट यथास्थितिवादी शक्तिहरुको हातमा पुगेको छ । खोसेर लिन सकेनन् भने देशको राजनीतिले नै अर्को बाटो लिन सक्छ ।’

सामान्य अवस्थामा संविधान बन्ने लागेको नभई १०–वर्षे जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन, जनजाति आन्दोलन लगायतका आन्दोलनपछि विभिन्न शान्ति सम्झौता र अन्य सम्झौताको आधारमा संविधान बन्न लागेको उनले बताए ।

पहिलो चरणको संघर्षअन्तरगत फागुन १६ गतेसम्मका लागि संविधानसभा र व्यवस्थापिका संसद्का सबै बैठक बहिष्कार गर्न लागिएको बताउँदै उनले यो संघर्षकै एउटा रुप भएको स्पष्ट पारे । उनले भने – ‘सधैंका लागि संविधानसभा र व्यवस्थापिका संसद् छोड्ने भनेको होइन ।’

‘संविधानसभाका अध्यक्ष विगतका अभ्यासका कुरा गर्नुहुन्छ । तर विगत ५ वर्षका कुनै पनि बैठकमा दलहरुको सहमति र कार्यव्यवस्था परामर्श समितिको परामर्शविना सभाध्यक्षले निर्णय गरेको एउटा पनि उदाहरण छैन’, उनले भन्नुभयो – ‘त्यसलाई मिचेर उहाँले सत्तापक्षीको बफादार कार्यकर्ताको भूमिका निर्वाह गर्नुभयो । त्यसले उहाँमाथि पनि गम्भीर प्रश्न उठाएको छ ।’


  •  
  •  
  •