काठमाडौं, २५ पुस (ओएनएस) : संविधानको विवादित बिषयमा सहमति गर्न संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिमा शुक्रबार तीन विकल्प प्रस्तुत भएको छ । संविधानसभाले विवाद समाधानको लागि संवाद समितिलाई प्रतिवेदन फेरि फिर्ता पठाएपछि सहमति गर्न तीन बिकल्पमा छलफल भएको समितिका सभापति डा. बाबुराम भट्टाराईले जानकारी दिए ।
‘समितिमा नै आजैदेखि छलफल गर्ने पहिलो विकल्प, छुट्टै समिति बनाएर त्यसले सहमति निर्माण गरेर ल्याउने दोस्रो विकल्प र तेस्रो विकल्प चाहि“ सभापतिले नै संयोजन गरेर विभिन्न नेताहरुसग अलग–अलग, समूहगत छलफल गरेर प्रतिवेदन ल्याउने विषयमा हाम्रो छलफल भयो’, भट्टराईले भने – ‘सबै माननीय सदस्यहरुले कुरा राख्नुभयो र थोरै समय भएको हुनाले सभापतिले नै संयोजन गरेर अनौपचारिक ढंगले विभिन्न शीर्ष नेताहरुसग छुट्टा–छुट्टै, समूहगतरुपमा छलफल गर्ने र विषयबस्तुलाई अलि नजिक्याएर फेरि समितिमा प्रस्तुत गर्ने विधि तय भयो । भोलि र पर्सि (पौष २७) विहानसम्म मैले नेताहरुस“ग अलग–अलग ढंगले कुराकानी गर्छु ।’
संविधानसभाले विवाद समाधानका लागि पठाएको समाधान हुन बाकी रहेका संविधानका अन्तरबस्तुका सम्बन्धमा संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा. भट्टराईले दुई दिन शीर्ष तहमा छलफल गर्नेछन् ।
संविधानसभाबाट समितिमा पुनःसहमतिका लागि प्रतिवेदन पठाइएपछि शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकले दुई दिन सभापति भट्टराईलाई नै छलफल गर्न जिम्मा दिने निर्णय गरेको हो । दुई दिनको छलफलको प्रगतिको बारेमा सभापति भट्टराईले समितिको अर्को बैठकमा जानकारी गराउनेछन् ।
सभापति भट्टराईका अनुसार बैठकमा विवाद समाधान गर्न बाकी रहेका संविधान निर्माणका अन्तरबस्तुहरु राज्य पुनःसंरचना, शासकीय स्वरुप, निर्वाचन प्रणाली र न्याय प्रणालीका विषयमा छलफल गरेर टुंग्याउने विधिका बारेमा समितिमा छलफल भएको थियो ।
संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिको अर्को बैठक पौष २७ गते दिउसो २ः०० बजे बस्नेछ ।