काठमाडौं, १८ मंसिर (ओएनएस) : स्वविवेक प्रयोग गरेर संबिधानसभामा प्रतिवेदन पठाउने जिम्मा पाएका संबैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराईले शुक्रबार प्रतिवेदन पठाउने भएका छन् । प्रधानमन्त्रि निवास बालुवाटारमा बिहिबार बिहान प्रमुख दलका नेताहरुसँग भएको छलफलपछि सभापति भट्टराईले शुक्रबार प्रतिवेदन पठाउने पत्रकारहरुलाई बताए ।
उनले भने ‘दलहरूको सहमतिअनुसार नै समितिको प्रतिवेदन संविधानसभामा भोलि बिहानसम्म पठाउनेछु । ’ प्रमुख दलका नेताहरुसँग बैठकमा समितिले कसरी, कहिले र कस्तो प्रतिवेदन संविधानसभामा पठाउने भन्नेबारे छलफल भएको उनले बताए । छलफलमा भट्टराईले दलहरूकै सहमतिअनुसार समितिको प्रतिवेदन संविधानसभामा पठाउने प्रस्ताव पेस गरेका थिए ।
यसअघि प्रमुख चार दलका नेताको बैठकले संवाद तथा सहमति समितिमा रहेका विवाद टुंग्याउन समिति सभापति डा. भट्टराईलाई स्वविवेकीय अधिकार प्रयोग गर्ने निर्णय गरेको थियो ।
तर गतिरोध तत्काललाई तोडिएपनि विवाद यथावत रहेका छन् । संविधानसभाको राजनीतिक सम्वाद तथा सहमति समितिले समितिका आएका प्रतिवेदनहरु संविधानसभामा पेश गर्न तयार दलहरु त्यसको भाषामा र प्रक्रियाका बिषमा भने दलहरुबीच मतभेद यथावत नै छ । यसअघि संविधानसभाले कात्तिक १६ गते संविधानसभाका प्रतिवेदन बुझाउने निर्देशन दिएको थियो । समितिले एक महिना ३ दिन ढिला गरी शुक्रबार संविधानसभामा आनो प्रतिवेदन बुझाउने भएको हो ।