काठमाडौं, १४ मंसिर, (ओएनएस) : संविधानका अन्तरबस्तुमा रहेका विवाद सुल्झाउनका लागि शीर्ष नेताहरुले केही दिन समय माग गरेपछि संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिको बैठक स्थगित गरिएको छ ।
शनिबार र आइतबार बिहान भएको प्रमुख दलहरुबीचको छलफल र उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा भएका छलफलका आधारमा शीर्ष नेताहरुले सहमतिका निम्ति केही दिन समय माग गरेपछि संवाद समितिका सभापति डा. बाबुराम भट्टराईले १७ गतेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।
‘यसै ढिलो भयो उसै ढिलो भयो केही दिन शीर्ष तहमा सकेसम्म अन्तरबस्तुमा नै सहमति गर्छौं नभए पनि प्रक्रिया वा प्रतिवेदनका विषयमा सहमति जुटाउ“छौं भन्ने कुरा उहा“हरुले गर्नुभयो, आज विहानको उच्चस्तरीय राजनीतिक संयन्त्रमा पनि सैद्धान्तिक छलफलहरु भए’, सभापति भट्टराईले भने – ‘त्यसैको आधारमा केही दिन फेरि शीर्ष नेताहरुले अनौपचारिक परामर्श गर्नका निम्ति समय लिने भन्ने अनौपचारिक सहमति बनेको हुनाले यही विषयको जानकारी मैले समितिलाई गराए“ ।’
बीचमा सार्क सम्मेलनका कारण संवाद समितिको बैठक प्रभावित भए पनि सभापति भट्टराईले अनौपचारिक छलफललाई जारी राखेका थिए । सबै परामर्शहरुमा पहिलेका तीनवटै प्रतिवेदन सहमतिले नै पठाएको र नियमावलीमा पनि छुट्टै कुनै किटान नभएको हुनाले प्रतिवेदनबारे पनि सहमतिबाटै निर्णय गर्नु उपयुक्त हुन्छ भन्ने सुझावहरु आएका थिए । सोही सुझावका आधारमा सभापति भट्टराईले शीर्ष नेताहरुलाई सकेसम्म अन्तरबस्तुमा सहमति गर्न, अन्तरबस्तुमा नभए कमसेकम प्रक्रियामा भए पनि सहमति गर्न आग्रह गरेका थिए ।