काठमाडौं, ५ मंसिर (ओएनएस) : संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिको बैठक अनिश्चित बनेपछि समितिका सभापती बाबुराम भट्टराई बिभिन्न राजनीतिक भेटघाटमा ब्यस्त भएका छन् । विगत तीन साता यता बैठकमा सहमति हुन नसकेपछि भट्टराई परामर्शमा छन् ।
यसै क्रममा भट्टराईले शुक्रबार पनि राजनीतिक परामर्शलाई जारी राखे । सभापति भट्टराईले पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापा र एमालेका उप–महासचिव तथा सभासद् विष्णुप्रसाद पौडेलसग परामर्श गरे ।
भट्टराईले अहिले संवाद समितिमा देखिएको गतिरोध अन्त्यका विषयमा राय लिएका थिए । परामर्शका क्रममा भट्टराईको मध्यमार्गी प्रस्तावमाथि छलफल भइरहेका बेला अचानक हस्ताक्षर बुझाउनु गलत भएको धारणा नेताहरुले राख्नुभएको थिए । चाडै नै सहमतिका लागि शीर्ष नेताहरु बसेर छलफल गर्नुपर्ने र चाडै संवाद समितिमा रहेको गतिरोधको हल खोज्नुपर्ने उनीहरुको धारणा थियो ।
सभापति भट्टराईले आफूले गतिरोध अन्त्य गर्न प्रयत्न जारी राखेको उल्लेख गर्दै थप परामर्श गरेर चा“डै नै संवाद समितिमा देखिएको गतिरोध अन्त्य गर्ने बताए । शुक्रबार नै भट्टराईलाई राष्ट्रिय बहिरा महासंघ नेपालले नेपाली सांकेतिक भाषालाई संवैधानिक मान्यता प्रदान गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको छ ।
यसैबीच शुक्रबार बिहान भट्टराईले नेपाली चलचित्र ‘श्री ५ अम्बरे ’ हेरेका छन् । उनले चलचित्र हेरेपछि ट्वीटरमा लेखेका छन् ‘ श्री ५ अम्बरेको प्रिमियर शोको प्रारम्भिक अंश मात्र हेर्दा सडक बालबालिका र युवाको जीवन र दुनिया बुझ्न उपयोगी लाग्यो, फिल्मको सफलताको कामना । ’