ब्राजिलका राष्ट्रपतिलाई कोरोना संक्रमण

63
  •  
  •  
  •  

एजेन्सी । ब्राजिलका राष्ट्रपति जाइर बोल्सोनारुलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । उनलाई ज्वरोसहितका लक्षण देखापरेपछि सोमबार परीक्षण गरिएको थियो।

बोल्सोनारुले पटकपटक मामुली फ्लुु भन्दै कोरोनाभाइरसको गम्भीरतालाई कम आँकेका थिए। रोग लागिहालेमा पनि आफूलाई त्यसले गम्भीर रूपमा प्रभावित नगर्ने उनले बताउँदै आएका थिए।

उनले कोरोना रोकथामका लागि लकडाउन गर्न अर्थतन्त्रलाई असर गर्ने भन्दै मानेका थिएनन्। मङ्गलवार टिभी अन्तर्वार्तामा बोल्दै उनले ज्वरो कम भइरहेको र आफूले ठीकै महसुस गरिरहेको बताएका थिए ।

आइतवारदेखि ज्वरो र खोकीसहित बिमारी महसुस गरेको उनले बताए। सोमबार थप असहज भएपछि कोरोनाभाइरसको परीक्षण गरिएको उनले बताए। ६५ वर्षीय बोल्सोनारु उमेरका कारण जोखिम समूहमा छन्।

उनले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अघि सारेका औलोविरुद्धको औषधि हाइड्रोक्सीक्लोरोक्वीन तथा एन्टीबायोटिक एजिथ्रोमाइसिन लिइरहेको बताएका छन्।

दुवै औषधिले कोरोनाभाइरसविरुद्ध काम गर्छ भन्ने प्रमाण छैन। अब राष्ट्रपति बोल्सोनारुको सम्पर्कमा आएका मानिसहरूको पनि परीक्षण गरिने बीबीसीले जनाएको छ ।

यसअघि पनि तीनचोटी बोल्सोनारुको परीक्षण गरिएको थियो। त्यतिखेर उनमा सङ्क्रमण देखिएको थिएन। विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओले बोल्सोनारुलाई शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।


  •  
  •  
  •