बाढी प्रभावित क्षेत्रमा बीपी प्रतिष्ठानकाे निःशुल्क घुम्ती स्वास्थ्य सेवा

390
  •  
  •  
  •  

bp pratisthan dharan
धरान, ३२ साउन (ओएनएस) : बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले बाढी प्रभावित क्षेत्रमा निःशुल्क घुम्ती स्वास्थ्य सेवा सुरु गरेको छ ।

हाल सुनसरीको अति प्रभावित क्षेत्रहरुमा प्रतिष्ठानको स्वास्थ्य टोलीलाई खटाइएको अस्पताल निर्देशक डा. गौरी शंकर साहले बताए । उनले स्वास्थ्य सेवाको पहँुच नभएका बाढी प्रभावित अन्य जिल्लाका क्षेत्रहरुमा समेत टोली परिचालन गर्ने योजना रहेको बताए ।

दुषित पानी, खाना तथा वातावरणका कारण हुने जण्डिस, झाडापखाला, ज्वरो, रुघा, खोकी, वान्ता आउने, रिंगटा लाग्ने जस्ता रोगहरुको परीक्षण र निःशुल्क औषधिको समेत प्रबन्ध मिलाइएको निर्देशक साहले बताए ।

प्रतिष्ठानको फेमेली मेडिशिन विभागका प्रमुख डा. रविन भण्डारीको नेतृत्वमा चिकित्सकहरु डा. दिपक मोक्तान, डा. राजन पौडेल, डा. भुवनेश्वर यादव, डा. शुभम गुप्ता र डा. अन्जना पराजुली तथा नर्सहरु कमला राई र संगिता कोइराला सम्मिलित टोलीले सुनसरीको भोक्राहामा गई दुईसय बढी विरामीहरुलाई स्वास्थ्य सेवा प्रदान गरेको प्रतिष्ठानका सुचना अधिकृत सुजेन्द्र तामाङले बताए ।

उनले प्राकृतिक प्रकोप र विपदका कारण उत्पन्न हुने विषम परिस्थितिमा प्रतिष्ठानले सदैव सेवा गर्दै आएको बताए । स्वास्थ्य परीक्षण गर्दा धेरैजसो छाला सम्बन्धि रोग र रुघाखोकीले ग्रस्त भएको पाइएको तथा अधिकांश वालवालिकाहरु रहेको टोलीमा संलग्न डा. रविन भण्डारीले बताए । उनले महामारी फैलिनवाट रोक्न प्रतिष्ठानले चालेको यो कदम प्रभावकारी हुने बताए ।


  •  
  •  
  •