जो अब जल्ने नै भए

425
  •  
  •  
  •  

काठमाडौं २२ चैत ।

संसद्को वातावरण संरक्षण समितिले चितवनको टिकौली र चितवन निकुञ्जको मुख्यालय कसरामा वर्षौंदेखि थुपारेर राखिएका विभिन्न वन्यजन्तुका अंगप्रत्यंग (आखेटोपहार) जलाउन निर्देशन दिएको छ ।

समितिको आइतबार सिंहदरबारस्थित् कार्यालयमा बसेको पूर्ण बैठकले सडेगलेको वा काम नलाग्ने आखेटोपहारलाई प्राविधिकको टोलीबाट एकिन गरी सुरक्षित रुपमा नष्ट गर्न वन मन्त्रालयलाई निर्देशन दिएको हो । समितिका सचिव डा.रवी शर्मा अर्यालका अनुसार गुणस्तरीय आखेटोपहारलाई बारकोडको प्रयोग गरी पारदर्शितापूर्वक औचित्यताको आधारमा एकिन गर्न पनि समितिले मन्त्रालयलाई निर्देशन दिएको छ ।

यसअघि समितिका सभापति जनकराज चौधरी नेतृत्वको टोलीले गत चैत ६ गते वन विभागमातहतको सशस्त्र वन रक्षक तालिम केन्द्र, टिकौली र चितवन निकुञ्जको मुख्यालय, कसरामा रहेका वन्यजन्तुका आखेटोपहारको स्थलगत अध्ययन गरेको थियो ।

स्थलगत अवलोकन गर्दा दुवै ठाउँमा आखेटोपहार व्यवस्थित ढंगले राख्न नसकेको समितिको ठहर छ । ‘व्यवस्थापन गर्न भनिएका आखेटोपहारहरुको स्थलगत रुपमा संरक्षण गरि छुट्याउन सक्ने अवस्थामा राखिएको पाइएन,’ समितिको निर्णयमा छ, ‘त्यसैले आखेटोपहारको व्यवस्थापन गर्नु पूर्व सडिगली रहेकाबाहेक तिनीहरुको संख्या, तौल वा आकारहरु समेत खुल्नुपर्ने र सो बमोजिम प्राविधिक टोलीले उक्त वस्तुलाई छुट्याई व्यवस्थापन गर्नु पर्ने देखिन्छ ।’

यहाँ गैंडाका खाग, हात्तीका दाह्रा, बाघको छाला, नंग्रा, चितुवा, हिउँ चितुवा, हाब्रेका छाला, ओतको छाला, कस्तुरीको विना, भालुको पित्त, सालकको खपटा, अजिंगरको छाला, चितुवाको खप्परलगायत सयौं प्रजातिका हजारौं आखेटोपहार छन् । समितिको निर्देशनअनुसार अब मन्त्रालयले नष्ट गर्ने (धुल्याउने) सम्बन्धि प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने छ । मन्त्रालयले वन्यजन्तुको अवैध कारोबार निस्तेज गराउन लागि परेका राष्ट्रिय अन्तर्राष्ट्रिय निकाय र सञ्चारमाध्यामको रोहबरमा जलाउने बताएको छ । कान्तिपुरबाट


  •  
  •  
  •