चालकसहितको ट्रकमा पेट्रोल छर्केर आगजनी

249
  •  
  •  
  •  

काठमाडौं ९ मंसिर ।
वीरगन्जमा सोमबार राति एउटा ट्रकमा आगजनी भएको छ । वीरगञ्ज उपमहानगरपालिका–२६ पर्साैनीविर्तास्थित भुवनेश्वरनाथ शिव मन्दिरनजिकै ट्रकमा आगजनी भएको हो ।

राति ११ बजेको समयमा दाना कारखानाबाट मालसामान खन्याएर गण्डकतर्फ फर्कँदै गरेको ना४ख ८७४४ नम्बरको ट्रकमा अपरिचित व्यक्तिहरुले पेट्रोल छर्केर आगजनी गरेका हुन् । आगजनीबाट ट्रकको क्याबिन र ईन्जिन पूर्णरुपमा जलेर नष्ट भएको छ । चालकभित्रै रहेको अवस्थामा ट्रकमा आगजनी गरिएको हो ।

ट्रक दनदनी बल्न थालेपछि चालकले ढोका खोलेर ज्यान बचाउन सफल भएका पर्साका सशस्त्र प्रहरी उपरीक्षक भीमबहादुर थापाले जानकारी दिए ।

चारवटा मोटरसाईकलमा आएका व्यक्तिहरुले बाटोमै रोकेर ट्रकमा आगो लगाइदिएको चालक बुद्ध थिङले बताए । ट्रकमा लागेको आगो सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय पर्साका सशस्त्र प्रहरीहरुले दमकलको सहयोगमा आगो निभाएका थिए ।

मधेस आन्दोलन र सीमानाका बन्द गराउने प्रमुख स्थानमा ट्रकमा भएको आगजनीबारे मधेसी मोर्चासहितका संगठनले कुनै प्रतिक्रिया दिएका छैनन् ।
अन्नपूर्णपोष्टबाट


  •  
  •  
  •