मधेसमा ५ अर्बको आक्रामक विकास कार्यक्रम

356
  •  
  •  
  •  

काठमाडौं १२ माघ (ओएनएस) : संविधान जारी भएपछिको असन्तुष्टिलाई विकासका माध्यमबाट सम्बोधन गर्न र मानव विकास सूचकमा सुधार ल्याउन सरकारले मधेसका आठ जिल्लालाई लक्षित गरी आक्रामक विकास कार्यक्रमको तयारी गरेको छ । हालको सीमांकन अनुसार प्रदेश नं. २ मा पर्ने पर्सा, बारा, रौतहट, सर्लाही, धनुषा, महोत्तरी, सिरहा र सप्तरी जिल्लामा यो कार्यक्रम लागू हुनेछ । यी जिल्लाका पनि भारतीय सीमासँग जोडिएका १०९ गाविस र ७ नगरपालिकालाई लक्षित गरी यो योजना तय गरिएको छ ।

आर्थिक वर्ष २०७२/७३ देखि ०७६/७७ भित्र महत्वाकांक्षी लक्ष्यहरु पूरा गर्ने गरी ४ अर्ब ९१ करोड ८६ लाख रुपियाँ बराबरको कार्यक्रम तय गरिएको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जनाएको छ । यस कार्यक्रममा चालू आर्थिक वर्षमा मात्रै १६ करोड ४१ लाख रुपियाँ खर्च गर्ने तय भएको छ ।

कार्यक्रम लागू भएको क्षेत्रमा भौतिक पूर्वाधार र सामाजिक क्षेत्रमा लगानी गरिने कार्यक्रमसम्बन्धी दस्तावेजमा उल्लेख छ । कार्यक्रमले स्थानीय सडक (माटोको कामबाहेक), साना सिंचाइ, कृषि, खानेपानी तथा सरसफाइ, सामुदायिक पूर्वाधार, वातावरण संरक्षण, ऊर्जा, सामुदायिक वन, सामुदायिक विद्यालय लगायतमा पूर्वाधार निर्माण तथा सुधारसम्बन्धी गतिविधि समेटेको छ ।

त्यसैगरी, उपस्वास्थ्य चौकी, शौचालय, क्षमता विकास, आय आर्जन तथा सीप विकास, नगदेबाली, सीपमूलक तथा व्यावसायिक तालिम, सचेतना अभिवृद्धि तथा सशक्तीकरण, शिक्षा, स्वास्थ्य र रोजगारका क्षेत्रमा कार्य गर्ने मन्त्रालयले जनाएको छ । यसमा स्थानीय स्रोतको साझेदारी तथा लागत सहभागिता समेत गर्न सकिने व्यवस्था गरिएको मन्त्रालयले विज्ञप्तिमार्फत् जानकारी दिएको छ ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले कार्यक्रमको समन्वय गर्नेछ । ‘कार्यक्रमको प्रभावकारिता वृद्धि गर्न केन्द्रीय अनुगमन तथा मूल्यांकन समिति, कार्यक्रम निर्देशक समिति र जिल्ला कार्यक्रम कार्यान्वयन समन्वय समितिको व्यवस्था छ । जिल्लामा जिल्ला विकास समितिको नेतृत्वमा कार्यक्रम कार्यान्वयन हुने र कार्यक्रम सञ्चालनमा गाविस र नगरपालिकाको अग्रसरतामा स्थानीय जनताको सहभागिता र अपनत्व रहने गरी उपभोक्ता समितिलाई प्राथमिकता दिई कार्यसञ्चालन गरिनेछ,’ मन्त्रालयको विज्ञप्तिमा छ । तर, उपभोक्ता समितिमार्फत् गरिने कार्यक्रमहरूको प्रभावकारिता र पारदर्शितामा भने पछिल्ला वर्षहरूमा प्रश्न उठ्दै आएको छ ।


  •  
  •  
  •