मधेसी र थारु मिलेर नाकामा आन्दोलन झन् चर्काउने

168
  •  
  •  
  •  

काठमाडौं २ मंसिर ।
थारु आन्दोलनका अगुवा नेता राजकुमार लेखीले मधेशी मोर्चासँग कार्यगत एकता गरेर थारुहरुले पनि नाका र राजमार्ग बन्दलाई थप कडा पार्ने तयारी भइरहेको बताएका छन् ।

आगामी मंसिर ५ गतेदेखि थारुहरुले गर्ने आमहड्तालको तयारीका लागि जिल्ला दौडाहमा रहेका लेखीले मंगलबार दाङको लमहीमा भने, ‘थारु र मधेशी मोर्चाबीच कार्यगत एकता हुनुपर्छ, यो जरुरी पनि छ। मधेशी मोर्चाको शीर्ष तहमा कुरा भइरहेको छ, हामी पनि नाका ठप्प पार्ने आन्दोलनमा सहभागी हुन्छौं। अनि वार्तामा पनि सँगै बस्छौँ ।’

उनका अनुसार अब नाकाहरु र राजमार्गहरुमा थारु–मधेशी मोर्चाका कार्यकर्ता मिलेर अझैं शसक्त आन्दोलन गर्नेछन्। भदौ ७ को कैलाली घटनापछि केही सिथिल भएको थरुहट आन्दोलन विजयकुमार गच्छदारको पार्टी सरकारमा सामेल भएपछि छिन्नभिन्न भइसकेको थियो । तर, थारु कल्याणकारिणीसभाका राजकुमार लेखी तथा थरुहट तराई पार्टीका गोपाल दहितहरुको सक्रियतामा फेरि यो आन्दोलन चर्काउने निर्णय भएको हो । अबको थारु आन्दोलनको नेतृत्व पनि लेखी आफैंले गर्नेछन् ।

उनी थारु कल्याणकारिणी सभाको केन्द्रीय आन्दोलन परिचालन समितिका संयोजक पनि हुन् । यसअघिका थारुहट/थारुवान आन्दोलनका संयोजक धनीराम चौधरी भने कैलाली घटनापछि सम्पर्कबिहीन छन् ।

लेखीले थारु अनुहारका केही व्यक्ति सरकारमा जाँदैमा आन्दोलन नरोकिने र सिथिल पनि नहुने बताए । ‘वर्तमान सरकार ब्राहमण एकता परिषदको सदस्य हो, विजयकुमार गच्छदार पनि त्यही समितिको सदस्य भए’ उनले भने ‘केही थारु अनुहारका व्यक्तिहरु मन्त्री हुँदैमा आन्दोलन रोकिन्न, त्यो आन्दोलन अब हामी चर्काउँछौँ ।’

उनले ७ प्रदेशको सिमाङ्क नसच्चिएसम्म आन्दोलन नरोकिने पनि बताए । ‘हामी आयोगहरुका झुठ्ठा आश्वासनमा विश्वास गर्दैनौँ, हामीले पूरा अधिकारसहितको संवैधानिक आयोग चाहेका छौँ’ उनले भने ‘दुई चार जनलाई जागिर खुवाउने आयोगमात्रै होइन ।’

लेखीले थारुले उठाएका माग सरकारले तत्काल सम्वोधन नगरे देश ढिलो चाँडो सिके राउतले भनेको विखण्डनको बाटोमा जानसक्ने खतरा रहेको बताए । राज्य सञ्चालकहरुकै कारण देश विखण्डनको बाटोमा जानसक्ने खतरा उनले औल्याए ।

‘थारुहरुको शान्तिपूर्ण आन्दोलनलाई सुन्ने काम भएन भने अराजकता फैलाउने, विखण्डन चाहने, स्वतन्त्र देश, स्वतन्त्र मधेस चाहने सिके रावतको बाटोलाई टेवा पुग्छ’ उनले भने ‘चाहेर, नचाहेर देश सिके रावतको बाटोमा जाने खतरा छ, त्यसको जिम्मेवारी अहिलेका ठूला दल र सरकारले नै लिनुपर्छ, हामी चाहन्छौँ त्यस्तो दिन नआओस् ।’

लेखीले नेपालमा कार्यरत मानवअधिकारकर्मी तथा तिनका संस्थाहरु स्वतन्त्र हुन नसकेको बताए । उनले मानव अधिकारवादीलाई डलरवादीको संज्ञा पनि दिए । ‘विदेशीको बुई चढेर नेपालका मानव अधिकारवादी डलरवादी भए’ उनले भने ‘थारु आन्दोलनमा दमन हुँदा केही बोलेनन्, आवज नै उठाएनन्, यिनका विरुद्ध पनि हाम्रो अवको आन्दोलन केन्द्रित छ ।’

थारु कल्याण कारिणी सभाले थालेको एक महिने मेची–महाकाली अभियान तथा आगामी आन्दोलनको तयारीका लागि पश्चिमका दश जिल्लाका थारु अगुवाहरु दाङको लमहीमा भेला भएका छन् । थारु आन्दोलनलाई कसरी अघि बढाउने भन्नेबारेमा रणनीति तय गर्न उनीहरु यहाँ भेला भएका हुन् । उनीहरुले आज बुधबार बृहत् छलफल पनि गर्दैछन् ।

अन्नपूर्णपोष्टबाट


  •  
  •  
  •