६ जिल्लामा शैक्षिक सत्र सुरु, पुस्तक पुगेन

151
  •  
  •  
  •  

डोल्पाको सदरमुकाम दुनैबाट जिल्लाकै तिन्जे, भिजेरलगायत गाविस पुग्न एक साता लाग्छ । त्यहाँ शुक्रबारदेखि नयाँ शैक्षकि सत्र सुरु भएको छ । तर, जनक शिक्षा सामग्री केन्द्र र निजी प्रकाशनले शुक्रबारसम्म पर्याप्त पुस्तक दुनैमा पनि पुर्‍याएका छैनन् । ‘जिल्लामा आवश्यक पुस्तक अझै आइसकेको छैन,’ डोल्पाका जिल्ला शिक्षा अधिकारी गोविन्द अर्यालले भने, ‘जनकले धेरैजसो ल्याए पनि निजीले ल्याएकै छैन ।’

जनक शिक्षाका महाप्रबन्धक अनिल झाले जहाज नचलेकाले २० प्रतिशत पुस्तक मात्रै पुर्‍याउन बाँकी रहेको दाबी गरे । जिल्लामा पुगेको पुस्तक बिक्री नसकिँदै बाँकी पुर्‍याइसक्ने उनले बताए ।

‘सदरमुकाममै पुस्तक आउन कति दिन लाग्ने हो थाहा छैन ?’ डोल्पा शिक्षा कार्यालयका एक कर्मचारीले भने, ‘फागुन अन्तिममा पनि विद्यालयसम्म पुग्न गाह्रो छ ।’ सोमबारदेखि पठनपाठन सुरु भएको मुस्ताङमा पनि निजी प्रकाशनले अझै पुस्तक पुर्‍याएको छैन ।

‘नयाँ शैक्षिक सत्र त सुरु भयो, तर पुस्तक आइपुगेको छैन,’ मुस्ताङका शिक्षा अधिकारी केशरीरमण न्यौपानेले भने, ‘जनकले पुस्तक ल्याइसकेको छ । निजीले छापेको छैन भन्ने सुनेको छु ।’

सरकारले निजी प्रकाशनलाई १ देखि ५ कक्षा र जनक शिक्षालाई ६ देखि १० कक्षासम्म पुस्तक छपाइ र बिक्री गर्ने जिम्मेवारी दिएको छ । जुम्लामा पनि ६० प्रतिशत पुस्तक मात्रै पुगेको छ । ‘जनकले यस वर्ष आफ्नै डिपो राखेर पुस्तक बिक्री सुरु गरेको छ,’ जुम्लाका शिक्षा अधिकारी क्षेत्रबहादुर भण्डारीले भने, ‘४० प्रतिशत पुस्तक आउन बाँकी छ ।’

शैक्षिक सत्र सुरु भए पनि पुस्तक नपुगेको समस्या डोल्पा, जुम्ला र मुस्ताङमा मात्रै होइन । शुक्रबारदेखि कक्षा सुरु भएको हुम्ला, कालीकोट, मनाङमा पनि पर्याप्त पुस्तक पुगेको छैन । ‘पुस्तक अभाव हुन दिन्नौं,’ महाप्रबन्धक झाले भने, ‘विगतमा क्षेत्रबाट बिक्री गर्ने गरे पनि यस वर्ष सदरमुकाममा अस्थायी डिपो राखेर बिक्री सुरु गरेका छौं ।’  डोल्पा, हुम्ला, जुम्ला, कालीकोट, मनाङ र मुस्ताङमा एक लाख ३१ हजार पाँच सय ३२ विद्यार्थी छन् ।

शिक्षा मन्त्रालयले फागुन १ बाट शैक्षकि सत्र सुरु हुने जिल्लामा माघ २० र वैशाख १ देखि सुरु हुने क्षेत्रमा चैत २० भित्र पाठयपुस्तक पुर्‍याउन जनक शिक्षा र निजी प्रकाशनलाई निर्देशन दिएको थियो । वैशाखदेखि कक्षा हुने जिल्लामा पनि बेलैमा पुस्तक नपुग्ने निश्चित भएको छ । पुस्तक छपाइ गर्न लाग्ने रकम शिक्षा विभागले जनक शिक्षालाई पेस्की स्वरूप असोजमै उपलब्ध गराउने अर्थ र शिक्षामन्त्रीले निर्णय गरेका थिए । तर, विभागले पुसमा प्राविधिक कारण देखाएर पेस्की दिन नसक्ने जवाफ दियो । कागज अभावले छपाइ रोकिएपछि अर्थ मन्त्रालयले जनक शिक्षालाई पुस अन्तिममा ३० करोड रुपैयाँ थप ऋण उपलब्ध गराएको थियो । अर्थले यसअघि असोजमा २० करोड ऋण दिएको थियो ।

केन्द्रले शुक्रबारसम्म ८७ लाख थान पुस्तक छापिसकेको झाले बताए । मागअनुसार एक करोड ४५ लाख थान पुस्तक छाप्नुपर्ने हुन्छ । अझै ५८ लाख थान पुस्तक छाप्न बाँकी छ । दैनिक ७० हजार थान छाप्दा पनि ८२ दिन लाग्छ । वैशाख १ आउन अब ६० दिन मात्रै बाँकी छ । मन्त्रालयको निर्देशनअनुसार फागुन २० भित्र पाठयपुस्तक जिल्ला सदरमुकाम पुर्‍याइसक्नुपर्ने हुन्छ । यसअनुसार शैक्षकि सत्र सुरु भएको एक महिनासम्म पनि विद्यार्थीले पुस्तक नपाउने देखिन्छ ।

९ र १० कक्षालाई आवश्यक पुस्तक छपाइ गरिसकेको केन्द्रले जनाएको छ । ६ देखि ८ कक्षासम्मको पुस्तक चौबीसै घण्टा छपाइरहेको झाले बताए । ‘अब पैसा र कागजको अभाव छैन,’ उनले भने, ‘वैशाखबाट सुरु हुने क्षेत्रमा चैत मसान्तसम्म पुस्तक पुर्‍याइसक्छौं ।’ हरेक वर्ष विद्यार्थीले पाठ्यपुस्तकको अभाव झेल्दै आएका छन् ।


  •  
  •  
  •