बच्चा जन्माउन ‘लोग्ने’ जरुरी हुँदैन, ‘लोग्नेमान्छे’ भए पुग्छ

250
  •  
  •  
  •  

सीता पाण्डे :
sita-pande
विवाहपछि धेरै स्वास्नीमान्छेहरू आफनो थर पतिको थरमा परिवर्तन गर्छन् । अथवा यसो भनौँ आफ्नो थरलाई छाडेर पतिको थर धारण गर्छन् । यसो गर्दा मलाई लाग्छ स्वास्नीमान्छेहरूले आफ्नो छुट्टै अस्तित्व र पहिचान बनाउन नसक्ने मात्र होइन, भइरहेको पहिचान पनि लगेर लोग्नेको पोल््टामा सुम्पिदिन्छन् जस्तो लाग्छ । हुन त कुनै पनि व्यक्तिको व्यक्तित्व बनाउनमा ‘थर’को केही पनि भूमिका हुँदैन । त्यसका लागि अन्य गुण र योग्यताको आवश्यकता पर्छ चाहे त्यो महिला होस् वा पुरुष ।

हाम्रो गाउँ–घरका निरक्षर तथा अशिक्षित स्वास्नीमान्छेहरूको त कुरा छाडिदिऊँ शिक्षित, चेतनशीत र योग्यता भएका स्वास्नीमान्छेहरू पनि बिहेको मण्डपबाट हिँड्नेबित्तिकै आफ्नो भइरहेको ‘थर’ चट्ट त्यहीँ छाडेर ‘पतिको थर’ भन्न वा लेख्न रुचाउँछन्। केही स्वास्नीमान्छेहरू भने आफ्नो थरको पछाडि वा अगाडि ब्राकेटभित्र लोग्नेको थर झुन्ड्याउँछन् । यस्ता स–साना र ध्यान नदिएका कुराले पनि स्वास्नीमान्छेहरूको कमजोर मानसिकताको झलक दिन्छ । लोग्नेमान्छेमा अनावश्यक रुपले  निर्भर बन्दै गएको आभास दिन्छ । के जरुरी छ हरक्षण, हरघडी लोग्नेको परिचय टाँसेर चिनाउन ? के स्वास्नीमान्छेको आफ्नो छुट्टै अस्तित्व र व्यक्तित्व बन्न सक्तैन ? कुनै पनि स्वास्नीमान्छेलाई परिचय गराइँदा फलानाकी श्रीमती, फलानाकी छोरी भनेर ‘लोग्ने’ वा पिताको’ परिचयद्वारा चिनाइन्छ ।

के कुनै लोग्नेमान्छेले श्रीमतीको परिचय दिएर आफूलाई चिनाउँछ ? भलै त्यो लोग्नेमान्छेभन्दा उसकी श्रीमती योग्य र क्षयमतावान् किन नहोस् तर त्यसरी परिचय दिनु उसको लाजमर्दो ठान्छ । यी सबै कुरा सोचेर विवाहपछि मैले ‘लोग्नेको थर’ धारण गरिनँ । अझ मलाई न के लाग्छ भने सन्तानहरूलाई आमाले आफ्नो थर दिन पाउनुपर्छ न कि उसको लोग्नेको । किनभने कुनै बच्चा त्यही आमाकै हो भन्ने अनुमान गर्नु पर्दैन । उसको महिनावारी बन्द हुनु, शारीरिक परिवर्तन हुनु, प्रसव वेदना हुनु, जन्माउनु, स्वतःस्फूर्त भएर दूध आउनु कुनै मामुली कुरा होइन । उसकै सन्तान हो भन्ने कुरा जगजाहेर र घाममा हेरेजस्तै स्पष्ट हुन्छ । यस कुरामा रत्तिभर पनि दुविधा र वादविवाद हुन सत्तैmन । तर “उसको लोग्ने नै त्यस बच्चाको बाबु हो” भन्ने कुराचाहिँ एउटा विश्वास मात्र हो । त्यस विश्वासलाई कसी लगाएर त्यसको शुद्धता र पवित्रतालाई जाँच्ने कुरा केही नभए पनि शङ्का गर्ने ठाउँहरू नभएका पनि होइनन् ।

यदि ‘स्वास्नी’ लोग्नेसित कुनै मानेमा असन्तुष्ट छे वा उसको लोग्ने उसलाई सन्तान दिन असमर्थ छ र ऊ अर्को बिहे गर्न सक्तिन भन्ने लाग्यो र उसले त्यो साहस वा दुस्साहस गरी भने प्रेमी, पुरुष साथी या परपुरुषबाट के उसले सन्तान जन्माउन सक्तिन र ? त्यसबेला पनि त्यो ‘लोग्ने’ हुनुको गर्वमा “ती बच्चाहरूको बाबु हुँ” भन्ने भ्रम पाल्छ र आफ्नो ‘थर’ सारेर अधिकार जमाउँछ भने यो स्वास्नीमान्छेप्रति अन्याय मात्र होइन, पुरुषवर्गको मूर्खता पनि हो ।

त्यस्तो बेला गणितीय फर्मूला सूत्र नै गल्ती भएर सम्पूर्ण हिसाब नै बिग्रिएजस्तै उसका नाममा गरिने संस्कारहरू जस्तो काज–क्रिया, श्राद्ध, पिण्ड आदि नै गलत ठाउँमा पुग्दैन र ?

यस किसिमले स्वास्नीको थरमा बच्चाहरूको ‘थर’ नसारी आफ्नो ‘थर’मा राख्न चाहने लोग्नेमान्छेको अहंम्पनले गर्दा हाम्रो धर्म र संस्कारमा उनीहरूले धावा बोलेका छन् । सनातनदेखि एउटा गलत प्रक्रियालाई घिसारिरहेका छन् । आधुनिक र वैज्ञानिक विचार राख्नेहरूले यस कुरामा मनन गरी सच्याउनुपर्ने आवश्यकता भने मैले मससुस गरेकी छु ।

हुन त यस्ता कुराहरू अहिलेको समाजलाई पचाउन गह्रो होला । स्वयं स्वास्नीमान्छेहरूलाई यो संभालन पनि गाह्रो पर्ला समाजमा यी कुराहरू गर्न त्यति सहज र स्वाभाविक छैन, वर्जित छ । साथै कसैले पनि विश्वासघात गर्न हुँदैन । यसले सामाजिक विकृति फौलाउन मद्दत गर्छ, यो बेग्लै कुरा हो । तर असम्भव र हुन नसक्ने भने होइन ।

अधिकांश हामीहरू ढोँगी छौँ । कमजोर र तर्कहीन कुराहरूलाई पनि आदर्शको खोल ओढाएर गौरवान्वित हुन्छौँ । उदाहरणकै लागि यही कुरा गरुँ कुनै पनि आमाले जन्माएको ‘सन्तान’ उसकै हो भन्ने छर्लङ्ग र स्पष्ट हुँदाहुँदै पनि उसको ‘थर’ दिन नपाउनु तथा त्यो बच्चा जन्माउने आइमाईको ऊ ‘लोग्ने’ हो भन्ने कारणले मात्र त्यस बच्चालाई ‘थर’ दिन र आजीवन एवम् पुस्तौँपुस्ता अधिकार जताउनु कतै त्रुटिपूर्ण संस्कार त भएन ?

त्यसकारण गहिरिएर विचार गर्ने हो भने आफूले जन्माएका सन्तानहरूलाई लोग्नेको ‘थर’ दिने होइन कि आमाहरूले नै आफ्नो ‘थर’ दिन पाउनुपर्छ किनभने बच्चा जन्माउनका लागि ‘लोग्ने’ जरुरी हुँदैन, ‘लोग्नेमान्छे’ भए पुग्छ ।
पाण्डेको कृति ‘यौन र अनुभूति’ बाट


  •  
  •  
  •