वडा कार्यालयमा बम विस्फोट

340
  •  
  •  
  •  

नुवाकोट । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्याकर्ताले नुवाकोटको ककनी गाउँपालिका– १ को कार्यालयमा बम प्रहार गरेका छन् ।

मंगलबार राति १२ बजेतिर ककनी–१ मा रहेको वडा कार्यालयमा ४र५ जनाको समूहमा आएका विप्लव कार्याकर्ताले पेट्रोल बम प्रहार गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

बुधबार आव्हान गरेको बन्दको पूर्व सन्ध्यामा वडा कार्यालयमा पेट्रोल बम प्रहार गरिएको जनाइएको छ ।
४/५ जनाको समूहले हतार–हतार गाउँको बीचबाटोबाट दौडिँदै गरेको स्थानीयले देखेको र त्यसको केही समयमा नै वडा कार्यालयमा विस्फोट भएको वडाध्यक्ष चन्द्रबहादुर श्रेष्ठ बलामीले बताए ।

बम प्रहारपछि आगजनी हुँदा वडा कार्यालयको दुई वटा कोठा पूर्ण रुपमा क्षति भएको वडाध्यक्ष बलामीले बताए ।
साथै दुई वटा कोठामा रहेको सम्पूर्ण कागजात, दुई थान कम्प्युटरका साथै कार्यालयको सम्पूर्ण फर्निचर जलेर नष्ट भएको वडाध्यक्ष बलामीको भनाइ छ ।
आगजनीबाट लगभग ९ लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ । वडा कार्यालयमा लागेको आगो राति नै प्रहरी र स्थानीयको सक्रियतामा नियन्त्रणमा लिइएको थियो ।

वडा कार्यालयमा आगजनी

रौतहटको चन्द्रपुर नगरपालिका– ३ को वडा कार्यालयमा आगजनी भएको छ । गैडाटारमा रहेको वडा कार्यालयमा गए राती १ बजे अज्ञात समुहले आगजनी गरेको छ ।

आगजनीबाट कार्यालयमा रहेका फर्निचर, कम्प्युटर, प्रिन्टर लगायतका सामान जलेर नष्ट भएका छन् । घटना बारे अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी कबित कटुवालले बताए ।

सो वाड कार्यालय नजिकै बम जस्तो देखिने बस्तुले स्थानीय त्रसित भएका छन् । उक्त आगजनी विप्लब समूहले गरेको हुन सक्ने स्थानीयको आशंका छ ।


  •  
  •  
  •