बोकोहरामले गर्भवतीलाई पनि छोडेन

90
  •  
  •  
  •  

काठमाडौं २ माघ ।

फोटो :फाइल फोटो
लागोस : नाइजेरियाको बागामा बोकोहरामले नरसंहार गरेको खबर आएको छ। एम्नेस्टी इन्टरनेसनलले बोको हरामको आक्रमणका क्रममा गर्भवती महिलालाई पनि नछाडिएको दाबी गरेको छ।
एम्नेस्टीका अनुसार पछिल्लो ६ वर्षमा यो बोकोहरामको सबैभन्दा भीषण आक्रमण हो। आक्रमणमा बच्न सफल एक प्रत्यक्षदर्शीले मानवाधिकार संस्था एम्नेस्टीलाई कयौं जानकारी दिएका छन्।
 आतंककारीहरूले अन्धाधुन्ध गोलाबारी गरेर कयौं महिलाको हत्या गरेको र ससाना बालबालिकाको पनि क्रूरतापूर्वक हत्या गरिएको उनले बताए। ती प्रत्यक्षदर्शीले भने, ‘मैले एक गर्भवती महिलाको शव देखें। उनको शरीरबाट आधा बच्चा बाहिर आइरहेको थियो।’
एम्नेस्टीले उत्तरपूर्वी नाइजेरियाको बागामा जनवरी ३ मा भएको आक्रमणमा सयौंको हत्या भएको दाबी गरेको छ। विशेषगरी सेनालाई सहयोग गर्ने नागरिकहरूको हत्या गरिएको देखिन्छ। एक अज्ञात प्रत्यक्षदर्शीले भने, ‘मैले आफैं एक सय शव गनें।
म झाडीमा लुकेर हेरिरहेको थिएँ। बोको हराम आतंककारीले भागिरहेका सर्वसाधारणमाथि अन्धाधुन्ध गोलाबारी गरे।’ एक अन्य महिलाले भनिन्, ‘मलाई थाहा छैन कतिजनाको हत्या भयो, तर मैले त्यहाँ शवैशव देखें।’
नाइजेरियाको जुन क्षेत्रहरूमा बोको हरामले आक्रमण गरेको थियो, त्यसको भूउपग्रह तस्बिर सार्वजनिक गरिएको छ। यसबाट सहरमा भएको विश्वंस र मृत्युलाई देख्न सकिन्छ। एम्नेस्टीले भनेको छ, ‘यी तस्बिरबाट नाइजेरियाको बागामा करिब तीन हजार सात सय भवनमा नोक्सानी भएको स्पष्ट छ।’
करिब दुई हजारको मृत्यु भएको बताइएको छ। तर, नाइजेरिया सरकारले यो खबरको खण्डन गरेको छ। सरकारका अनुसार बोको हरामको आक्रमणमा एक सय ५० जनाको मृत्यु भएको थियो। उक्त भूउपग्रह तस्बिर आक्रमणको पहिलो दिन २ जनवरी र आक्रमणपछि जनवरी ७ मा खिचिएको थियो।
गत वर्षको अप्रिलमा दुई सय १९ जना स्कुले छात्रा अपहरण गरेपछि संसारभरबाट बोको हरामप्रति आक्रोश प्रकट भएको थियो। ह्युमन राइट्स वाचका अनुसार बोको हरामले पाँच सयभन्दा बढी महिला र किशोरीलाई बन्धक बनाएको छ। ती महिलाको संगठनभित्र बलजफ्ती विवाह पनि गरिदिने गरेको छ।
बोको हरामका नेताले बन्धक छात्रालाई विवाह गरिएको दाबी गरेपछि उनीहरूका परिवार स्तब्ध भएका छन्। बोको हरामले पश्चिमी शिक्षा बन्द हुनुपर्ने र बालिकाले विवाह गर्नुपर्ने आफ्नो अडान राखेको छ। बोको हरामको अर्थ हो, पश्चिमी शिक्षा प्रतिबन्धित। बोको हरामको गठन सन् २००२ मा भएको थियो।
बोको हरामले सन् २००९ मा बोर्नो राज्यमा आफ्नो विद्रोह सुरु गरेको थियो। उसको आक्रमणमा हजारौंको मृत्यु भइसकेको बताइन्छ। सन् २०१३ मा अमेरिकाले बोको हरामलाई आतंककारी संगठन घोषणा गरेको थियो। अन्न्पूिर्णपोष्टबाट

  •  
  •  
  •