नाइजेरियामा बोको हरामद्वारा सैन्य शिविरमा आक्रमण, २० को मृत्यु, ८२ जना घाइते

240
  •  
  •  
  •  

२० चैत्र – नाइजेरियाको उत्तरी शहर मैदुगरीमा रहेको एक सैन्य शिविरमा बोको हराम आतंककारी समूहले गरेको आक्रमणमा परी कम्तीमा २० व्यक्तिको मृत्यु भएको छ।

शुरुमा १८ व्यक्तिको मृत्यु भएको भनिए पनि सो संख्या पछि २० पुगेको यहाँको संकटकालीन व्यवस्थापन निकायले सोमबार जानकारी दिएको छ।

आक्रमणमा परी करीब ८२ जना घाइते भएका छन्। तर घाइतेमध्ये धेरैको अवस्था चिन्ताजनक भएकाले मृतकको संख्या बढ्ने पनि प्रहरी अधिकारीहरुले अनुमान गरेका छन्।

शहरको प्रवेशद्वारमा अवस्थित प्लानतासन क्षेत्रमा रहेको सो सैन्य शिविरमा मोर्टर, बन्दुक र आत्मघाती बमद्वारा बोको हराम आतंककारी समूहले आक्रमण गरेका मैदुगरीका वरिष्ठ सैन्य आधिकारीले जानकारी दिएका छन्।

स्थानीय समयानुसार सोमबार राति ८ः५० मा ७ जना आत्मघाती आक्रमणकारीसहित १८ जना बोको हराम आतंककारी हिँडेरै आएका र अत्याधुनिक हतियारले आक्रमण शुरु गरेका बताइएको छ।

यस आक्रमणमा परी मारिनेमा सैनिकहरुको संख्या नै बढी रहेको सेनाले जनाएको जनाएको छ। तर घटनाको विस्तृत जानकारी भने सेनाले सार्वजनिक गरीसकेको छैन।

बोर्नो र मैदुगरी राज्यमा बोको हरामको ठूलो बाहुल्यता रहेको बताइन्छ। सोही राज्यबाट नै उनीहरुले आफ्नो संगठन शुरु गरेका पनि बताइएको छ।

सोही कारण पछिल्ला केहि महिनादेखि उनीहरुले उक्त राज्यमा धेरै हिंसात्मक गतिविधिहरु गर्दै आएका छन्। बोको हरामले गरेको आक्रमणका कारण नाइजेरियामा हालसम्ममा कम्तीमा २० हजार नागरिकको ज्यान गइसकेको छ।

नाइजेरियामा बोको हरामलाई राज्यले नै आतंककारी समूहमा राखेको छ। उनीहरुको हिंसाका कारण त्यहाँका लाखौँ मानिस विस्थापित भएका छन्। रासस/एएफपी


  •  
  •  
  •