काठमाडौ, २५ पुस(एजेन्सी) : नाइजेरियाको बागा क्षेत्र कब्जा गरेपछि बोको हरामका आतंककारीहरूले १६ वटा गाऊँमा आक्रमण गरी गत एक वर्षमा २ हजारको हत्या गरेका छन् ।
वासिंगटन पोष्टका अनुसार बागा शहरका एक अधिकारी मुसा अलहाजी बकरलाई उदृत गर्दै बोको हरामको उक्त हमलाहरूमा कम्तिमा २ हजार मानिसको हत्या भएको अनुमान गरिएको छ । हमलाहरूबाट करीब १५ लाख मानिस घरबार बिहिन भएका छन् ।
हमलाबाट बचेर भागेका मानिसहरूका अनुसार आतंकाकारीहरूले गाऊँमा घुसेर अन्धाधून्ध गोली वर्षाएका थिए । कयौ घर र भवनहरू जलाइदिएका थिए । बोर्नो प्रान्तको माछा बिक्रेता संगठनका अध्यक्ष अबु बकर गमांडीले उक्त हमलाको पुष्टी गरेका छन् । उनी बागा शहरमा बस्छिन् । उनका अनुसार सयौ मानिस चाड झीलको बीचस्थित द्धीपहरूमा आतंककारीहरूको घेराबन्दीमा फसेका छन् ।
राष्ट्रपति गुडलक जोनाथनले हमलाको निन्दा गरेका छन् । उक्त आतंकी संगठनले हालै एक सैन्य बेस क्याम्प क्याम्पमा कब्जा गरेका छन् । बोको हरामले पछिल्लो ६ महिनामा नाइजेरिया, चाड र क्यामरूनको सीमामा रहेको करीब २ दर्जन गाऊँमा कब्जा गरेका थिए ।