बोगटीलाई विदेश नलैजान सिफारिस

90
  •  
  •  
  •  

काठमाडौं, २८ भदौ (ओएनएस) : हृदयघात भएका एमाआवादीका उपाध्यक्ष पोष्टबहादुर बोगटीलाई उपचारका लागि विदेश नलैजान  डाक्टरले सिफारिस गरेका छन् । उनको उपचारमा संलग्न डा. यादव भट्टले बोगटीको अवस्था स्थिर रहेको जानकारी दिए । उनले पत्रकारसँग भने  , ‘विदेशका डाक्टर र हाम्रो ज्ञान एउटै स्तरको हो, त्यसैले हामीले विदेश नलैजान सिफारिस गरेका हौं ।’

Post-Bahadur-Bogati_20120215093406

शनिबारै विदेश लैजाने तयारी भए पनि चिकित्सकको यस्तो सिफारिसपछि बोगटीलाई नर्भिकमै राखिएको छ । डा. भट्टले हृदयघातको असर मस्तिस्कमा पनि परेको बताए । उनले मस्तिस्कको शल्यक्रिया गर्ने नगर्नेबारे छलफल भइरहेको जानकारी दिए । यसअघि विदेश लैजाने विषयमा एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र महासचिव कृष्णबहादुर महरा लगायतले डाक्टरको टोलीसँग नर्भिक अस्पतालमै छलफल गरेको थियो । सो छलफलमा विदेश नलैजाने निर्णय भएको थियो ।

यसअघि एकीकृत माओवादी प्रवक्ता दीनानाथ शर्माले दिल्ली वा बैंक लैजाने तयारी भएको जानकारी दिएका थिए । उनले पार्टी कार्यालयमा भएको पत्रकार सम्मेलनमा भनेका थिए ,‘हिजोदेखि नै दिल्ली वा बैंकक लैजाने भन्ने विषयमा छलफल र तयारी भईरहेको छ त्यहाँका राजदुतहरुसँग पनि कुरा भइसकेको छ डाक्टरको सल्लाह पछि तुरुन्तै लैजान्छौं ।’ शुक्रबार राति हृदयघात भएपछि बोगटीलाई सुरुमा जनमैत्री अस्पताल र त्यसपछि गंगालाल हृदय रोग उपचार केन्द्रमा लगिएको थियो । मुटुका साथै बोगटीलाई मष्तिष्कमा असर देखिएपछि हिजो दिउँसो २ बजे थापाथलीमा रहेको नर्भिक अस्पतालमा ल्याइएको थियो ।


  •  
  •  
  •