अंग प्रत्यारोपण मापदण्ड आउँदै

214
  •  
  •  
  •  

anga-pratyaropan_20150216075609काठमाडौं ४ फागुन । सरकारले ‘मस्तिष्क मृत्यु’ भएका व्यक्तिको अंग झिकेर अन्यमा प्रत्यारोपण गर्न सहज हुने गरी कानुनमा स्पष्ट मापदण्ड व्यवस्था गर्ने तयारी थालेको छ।

पन्ध्र वर्षअघि ल्याइएको ‘मानव अंग प्रत्यारोपण नियमित र निषेध ऐन २०५५’ मा ‘मस्तिष्क मृत्यु भएका व्यक्तिको मृगौला निकालेर प्रत्यारोपण गर्न पाइने’ भनिए पनि स्पष्ट मापदण्ड नहुँदा व्यावहारिक कठिनाइ पर्दै आएको थियो। उक्त ऐनमा मस्तिष्क मृत्यु कसले घोषणा गर्ने? कसले प्रत्यारोपण गर्ने? ठूला दुर्घटनामा मृत्यु भएको व्यक्तिको पोस्टमार्टम गर्ने कि नगर्ने? लगायत स्पष्ट व्यवस्थाहरू छैन।

दुर्घटनामा परेर मस्तिष्कमा गम्भीर चोट लाग्दा हुने मृत्युलाई चिकित्सकीय भाषामा ‘मस्तिष्क मृत्यु’ भनिन्छ। त्यस्त्ाा व्यक्तिका अन्य अंग स्वस्थ हुन्छन्। चिकित्सकका अनुसार मस्तिष्कभित्र रगत धेरै बगेर काम गर्न छोडिसकेको अवस्थामा पनि अक्सिजनको माध्यमबाट अन्य अंग चलाउन सकिन्छ। मस्तिष्क मृत्युबाट ज्यान गुमाएका व्यक्तिबाट २ वटा मृगौला, २ वटा फोक्सो, मुटु, कलेजो, प्यान्त्रिmयाज, सानो आन्द्रा गरी आठवटा अंग झिकेर प्रत्यारोपण गर्न मिल्छ।

नेपालमा मृगौला रोगी छन्। एक व्यक्तिको मृगौलाबाट दुई जनाले जीवन पाउँछन्। ‘कानुनी रूपमा स्पष्ट मापदण्ड बने परिवारका सदस्यको स्वीकृति लिएर मस्तिष्क मृत्यु भएका व्यक्तिको मृगौला झिक्न सकिन्छ,’ मानव अंग प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक पुकारचन्द्र श्रेष्ठले भने, ‘मृगौला प्रत्यारोपण गराउनुपर्ने व्यक्तिले मृगौला अभाव झेल्नुपर्ने थिएन।’

मृगौला खराब भएका व्यक्तिलाई नजिकका नाताभित्रका बाबु, आमा, काका, भतिजा-भतिजी, दिदीबहिनी, दाजुभाइ लगायतले मात्र मृगौला दिन मिल्ने कानुनी व्यवस्था छ। टाढाका नातेदार, साथीभाइ, छरछिमेकलगायत अरूले चाहेर पनि दिन पाउँदैनन्। त्यसैले मस्तिष्क मृत्यु भएकाबाट प्रत्यारोण गर्न सके धेरैले जीवनदान पाउन सक्ने निर्देशक श्रेष्ठको भनाइ छ। ‘अन्य मुलुकमा ८० प्रतिशतको मृगौला प्रत्यारोपण मस्तिष्क मृत्यु भएका व्यक्तिले दान दिएको मृगौलाबाट हुने गरेको छ। बेलायतमा दिनभर त्यस्ता व्यक्तिबाट मृगौला निकाल्ने र रातभर प्रत्यारोपण गथ्र्यौं,’ बेलायतमा ६ वर्ष मृगौला प्रत्यारोपणको अनुभवी उनले भने।

मस्तिष्क मृत्युसम्बन्धी कानुनी रूपमा स्पष्ट मापदण्ड बनाउन स्वास्थ्य मन्त्रालय, कानुन मन्त्रालय र मानव अंग प्रत्यारोपण केन्द्र लगायतका सरोकारवाला निकायका उच्चपदस्थ अधिकारीहरू लाग्दै आएका छन। मुख्य सचिव लीलामणि पौडेलले सरोरकारवाला निकायबाट प्रस्ताव आए त्यसलाई सरकारले चाँडै पारित गर्ने बताउँदै आएका छन्। उनले दुर्घटना वा अन्य कारण आफ्नो मस्तिष्क मृत्यु भए मृगौला दान गर्ने प्रतिबद्धता जनाउँदै प्रत्यारोपण केन्द्रमा नाम लेखाइसकेका छन्। केन्द्रमा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, स्वास्थ्य सचिव प्रवीण मिश्र, कलाकारद्वय हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, न्युरो सर्जन उपेन्द्र देवकोटा, पूर्वमन्त्री राजेन्द्र महतो लगायतले पनि नाम लेखाएका छन्। ‘१५ वर्षअघि कानुनमा एक लाइन लेखिए पनि ऐनले अन्य मापदण्ड स्पष्ट नगरेकाले हालसम्म एक जना पनि मस्तिष्क मृत्यु भएका व्यक्तिबाट मृगौला झिकिएको छैन,’ उनले भने।

मस्तिष्क मृत्युसम्बन्धी मापदण्ड बनाउन एक वर्षअघि स्वास्थ्य मन्त्रालयका चिकित्सा सेवा महाशाखाका पूर्वप्रमुख तीर्थराज बुर्लाकोटीको संयोजकत्वमा विशेषज्ञ चिकित्सक उपेन्द्र देवकोटा, वसन्त पन्त, पवन सुल्तानियालगायत १० जनाको समिति बनेको थियो। समितिले मस्तिष्क मृत्युसम्बन्धी मापदण्ड बनाएर मन्त्रालयमा पेस गरिसकेको छ। त्यसमा नेपाल मेडिकल काउन्सिलमा स्थायी दर्ता भई ५ वर्ष काम गरिसकेका २ जना विशेषज्ञ चिकित्सकले मस्तिष्क मृत्यु भएको घोषणा गर्न पाउने व्यवस्था प्रस्तावित छ।

यसरी मस्तिष्क मृत्यु भएका व्यक्तिबाट झिकिएको मृगौला लामो समयदेखि पर्खिरहेका, म्याचिङ मिल्ने र कम उमेरकाले पाउने गरी प्राथमिकतामा राख्ने प्रस्ताव छ। मन्त्रालयका सहसचिव केदारबहादुर अधिकारीले छिट्टै कानुन मन्त्रालयमा पेस गरिने बताए। कानुन मन्त्रालयका सहसचिव कमलशाली घिमिरेले स्वास्थ्यले पठाएको मस्यौदामाथि विज्ञहरू राखेर छलफल गरी अन्तिम रूप दिने सहमति भएको बताए।

सरकारी तथ्यांकअनुसार नेपालमा ठूला सडक दुर्घटनाका कारण दैनिक ४ जनाको मृत्यु हुन्छ। यस्ता मृत्युमा पोस्टमार्टम गराइन्छ। पोस्टमार्टम गरेपछि मृगौलालगायत अंग झिक्न मिल्दैन। त्यसैले कस्तो मृत्युमा पोस्टमार्टम गर्ने भन्नेबारे कानुनमा स्पष्ट व्यवस्था गर्नेगरी छलफल भइरहेको श्रेष्ठले बताए। उनका अनुसार गत मंगलबार मात्र कानुन मन्त्रालयमा पोस्टमार्टम कस्तो व्यक्तिले गर्ने भन्नेबारे छलफल भएको थियो।
कान्तिपुरबाट


  •  
  •  
  •