काठमाडौं ६ भदौ ।
२६ वर्षको उमेरमा पहिलोपटक रक्तदान गरेपछि भिमसेनगोलाका राजु (नाम परिवर्तन) निकै खुशी थिए । जीवनदानका रुपमा लिइने भएकाले अब हरेक तीन–तीन महिनामा रक्तदान गर्ने उनको योजना थियो । तर रक्तदान गरेको दोस्रो दिनमै उनको योजना चकनाचुर भयो । केन्द्रीय रक्तसञ्चार सेवा केन्द्र (ब्लडबैंक) भृकुटीमण्डपका कर्मचारीले ‘हिजो दान गर्नुभएको तपाईको रगतमा एचआइभी पोजेटिभ देखिएको छ,त्यसैले एकपटक आउनुपर्यो’भन्दै फोन गरेपछि उनी बेहोसजस्तै भए । भारी मन बनाउँदै अर्को दिन आएर फेरि रगत जाँच गरे । फेरि एचआइभी पोजेटिभ देखियो । ‘हिजो रक्तदान गरेको राजु तपाई होइन ? म ब्लडबैंकबाट,भन्दै फोन आएको थियो । मैल सुरुमै व्लड ग्रुप के रहेछ भनेर सोधिहालेँ । तर,उनीहरुले त घुमाएर एचआइभी पोजेटिभ देखिएको पो कुरा गरे । म त ढलुलाजस्तो पो भएँ’ केही महिनाअघिको अनुभव सुनाउँदै राजुले भने । अर्को दिन ब्लडबैंकमै रहेको भिसिटी काउन्सिलरबाट आवश्यक परामर्श पाएपछि आफु सामान्यउन्मुख भएको उनले बताए । केन्द्रीय ब्लडबैंकका अनुसार गत वर्ष देशभर गरिएको रक्त संकलन कार्यक्रममा रक्तदान गर्नेमध्ये एक सय दुईजनामा एचआइभी पोजेटिभ देखिएको छ । तीमध्ये ३६ जना उपत्यकामा केन्द्रीय रक्तसञ्चार केन्द्रले आयोजना गरेको शिबिरमा रक्तदान गरेका व्यक्ति हुन् । नयाँपत्रिकाबाट