काठमाडौ, २२ मंसिर(एजेन्सी) : ‘रक्तदान जीवनदान,यस महान कार्यमा काम गर्दै केही जीवनदाताहरूले एक सय भन्दा बढी पटक रक्तदान गरेका छन् ।
काठमाडौ बागबजारका प्रेम सागर कर्मचार्यले १ सय ४० पटक रक्तदान गरेका छन् । उनलाई आपतकालिन रक्तदाताका रूपमा समेत हेरिन्छ । रगतको अभाव हुँदा उनको खोजी निकै धेरै हुने गर्छ ।
– नेपाल प्रहरीका एसपी डा. आनन्द श्रेष्ठले १ सय ६१ पटक रक्तदान गरेका छन् । रक्त सञ्चारसेवाले दिएको आकडा अनुसार नेपालमा सबैभन्दा बढी रक्तदान गर्ने व्यक्ति श्रेष्ठ नै हुन् ।
– अमेरिकामा बस्दै आएका अर्जुन प्रसाद मैनालीले पनि १ सय ३० पटक रक्तदान गरिसकेका छन् । उनले रक्तदान गर्नुका साथै विश्वभरका नेपालीमाझमा पुगेर रक्तदानको प्रचारप्रसार गर्ने गरेका छन् ।
– नेपालगञ्जका काशीनाथ वैस्यले १ सय ३९ पटक रक्तदान गरिसकेका छन् । उनीमात्रै नभई उनको सबै परिवारले रक्तदान गर्ने गरेका छन् ।
– नीता घिराय पनि रक्तदान गर्ने व्यक्तिको सूचीमा रहेकी छिन् । मारवाडी परिवारमा जन्मिएकी नीताले अहिलेसम्म १ सय २६ पटक रक्तदान गरिसकेकी छिन् । उनी सीतापाइला निवासी हुन् ।
– काठमाडौका प्राध्यापक चन्द्र रमण अधिकारी पनि रक्तदानका साथै रक्तदाता अभियानकानायक समेत हुन् । उनले १ सय ११ पटक रक्तदान गरिसकेका छन् ।
– धनकुटामा जन्मिएर न्युरोड काठमाडौ बस्ने बिनोद श्रेष्ठले १ सय १९ पटक रक्तदान गरेका छन् ।
– विराटनगरका डा. के. एन. ठाकुरले पनि १ सय १९ पटक रक्तदान गरेका छन् ।
– अमेरिकामा बस्दै आएका अर्का नेपाली अजय सत्यालले १ सय १९ बढीपटक रक्तदान गरेका छन् ।
– बनेपाका बिदुर खड्काले १ सय २ पटक रक्तदान गरिसकेका छन् ।
– बारामा बसपबास गर्ने प्रेम बहादुर कटुवालले पनि १ सय भन्दा बढी पटक रक्तदान गरेका छन् ।
– काठमाडौ बागबजारमा आफ्नो व्यवसाय गर्दै आएका समुन्द्रमान तण्डुकारले ८० भन्दा बढि पटक रक्तदान गरेका छन् ।
– पत्रकारिताका साथै समाजसेवा गर्दै आएका नेत्र विक्रम बिमलीले पनि ८६ पटक रक्तदान गरिसकेका छन् । नेपालमा सबैभन्दा बढि रक्तदान गर्ने पत्रकारका रूपमा परिचित बिमली नेपाल पत्रकार महासंघ ललितपुरका सदस्य हुन् ।
नेपालका पहिलो रक्तदाता दयावीर सिंह कङ्साकार हुन् । उनले २०२० सालमा रक्तदान गरेका थिए । नेपालको पहिलो रक्त प्राविधिक वासुदेव शर्मा पौडेल हुन् । रक्तसञ्चारको सूरूवात नै उनीले गरेका थिए ।
स्रोतः रक्तसञ्चार सेवा