रौतहट, ८ बैशाख(ओएनएस) : नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले मधेसवादी दलहरुको अबको आन्दोलन सिंहदरबार केन्द्रित हुनुपर्ने बताएका छन् ।
नयाँ शक्ति नेपालको मधेस जागरण अभियान अन्तर्गत गौरमा आयोजित कार्यक्रममा पूर्व प्रधानमन्त्री भट्टराईले मधेसवादी दलले आन्दोलनलाई सिंहदरबार केन्द्रित गरेर सिंहदरबारमा नाकाबन्दी लगाउन सकेमात्र आन्दोलनको माग अनुसार संविधान संशोधन गर्न सरकार बाध्य हुने बताएका छन् ।
उनले अब गरिने आन्दोलनले जनतालाई भन्दा सरकारलाई अप्ठ्यारो पार्नुपर्ने भनाई राखेका छन् । उनले मधेसमा गरिएको आन्दोलनलाई सरकारले वेवास्ता गरेको र जनता मात्र संकटमा परेको भन्दै सरकारलाई संकटमा पार्ने खालको आन्दोलन गर्नुपर्ने आवश्यकता औल्याएका छन् ।
उनले सरकारमा रहेका दलहरुले संविधान संशोधन गरेर समस्या समाधान गर्न पहल गर्नु पर्ने बताए ।