नाका परिवर्तन गरेका कन्टेनर भारतले रोक्यो

171
  •  
  •  
  •  

काठमाडौं १६ कात्तिक ।
नेपाल आउन नाका परिवर्तन गरेर पूर्व पुगेका मालवाहक कन्टेनरलाई पनि भारतीय सीमा सुरक्षा बलले रोकेको छ।

मधेस केन्द्रित दलको आन्दोलनका कारण अन्य नाकाबाट आउन नसकेका कन्टेनर बाटो परिवर्तन गरेर काँकडभिट्टा हुँदै ल्याउन लागिएको थियो।मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख भन्सार अधिकृत भीम अधिकारीका अनुसार बाटो तथा नाका परिवर्तन गरेर आएका मालवाहक कन्टेनरलाई समेत भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले भारतपट्टि नै रोकेर राखेको छ।

अधिकारीले करिब पाँच किलोमिटर लाममा रहेका मालवाहक सवारीसाधनको पछाडिपट्टि अन्यत्र नाकाबाट बाटो परिवर्तन गरेर ल्याइएका सामान बोकेका सवारीसाधन रहेको बताए । उनले भने, ‘विराटनगर तथा वीरगन्ज भन्सार जान नसकेका सवारीसाधन यहाँको सीमावर्ती भारतीय बजार पानीट्यांकीमा आएर थन्किएका छन् । एसएसबीले ती सवारीसाधन नेपाल आउन दिएको छैन।’

सामान्य अवस्थामा आउन लागेको पूर्वीनाकामा दसैंपछि एसएसबीले सामान जाँचमा कडाइ गरेको प्रमुख भन्सार अधिकृत अधिकारीले बताए। एसएसबीले रोकेर राखेका मालवाहक कन्टेनरमा तेस्रो देशबाट आयात गरिएका सामानसमेत रहेको जानकारी उनले दिए।

उनले भने, ‘दसैंअघिसम्म सामान्य अवस्थामा आइसकेको यो नाकामा अचानक भारतीय पक्षबाट कडाइ गर्न थालियो। तेस्रो देशबाट आयात गरिएका सयौं कन्टेनरसमेत भारतले रोकिदियो।’

नेपाली व्यवसायीका अनुसार भारतीय सीमावर्ती पानीट्यांकी बजारमा नाका परिवर्तन गरेर ल्याइएका करिब ५० वटा कन्टेनर छन्। नाका परिवर्तन गरेर ल्याइएका ती कन्टेनरको भारतीय भन्सारबाट जाँचपाससमेत भइसकेको छ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य केशव पाण्डेले भने, ‘हामीलाई सीमा सुरक्षा बलले अत्यन्तै दुःख दिएको छ। उसैका कारण नाका परिवर्तन गरेर र तेस्रो देशबाट आएका सयौं कन्टेनर पानीट्यांकीमा रोकिएका छन्।’

कोलकातास्थित नेपाली महावाणिज्य दूतावासले उक्त विषयमा भारतीय सीमा सुरक्षा बलका उच्च अधिकारीसँग कुरा गरेको जनाएको छ। तर पछिल्लो समयमा नाका परिवर्तन भएर आएका मालवाहक कन्टेनरलाई नेपाल छिर्न दिने भन्ने विषयमा कुनै सकारात्मक परिणाम आउन नसकेको महावाणिज्यदूत चन्द्र घिमिरेले बताए।

उनले भने, ‘सामान्य अवस्थामा आइसकेको पूर्वीनाकामा फेरि समस्या आयो । हामीले एसएसबीका उच्च अधिकारीसँग पनि कुरा गर्‍यौं तर अहिलेसम्म हाम्रो कुराको सुनुवाइ भएन।’

नेपाली व्यवसायीले नाकामा देखिएको समस्या समाधानका लागि पहल गर्न भारतीय सीमा सुरक्षा बल एसएसबीका अधिकारीसँग भेट गर्न समय मागे पनि नदिएको गुनासो गरेका छन्। व्यवसायी केशव पाण्डेले भने, ‘हामीले स्थानीय एसएसबीका अधिकारीसँग कुरा गर्न खोज्दा समय दिन चाहेनन्।’
अन्नपूर्णपोष्टबाट


  •  
  •  
  •