काठमाडौँ, १४ कात्तिक(एजेन्सी) : रोमानियाको राजधानी बुखारेष्टको एक नाइट क्लबमा शुक्रबार राति भएको विस्फोटमा २७ जनाले ज्यान गुमाएका छन् भने १ सय ५० भन्दा बढी घाइते भएका छन् ।
प्रत्यक्षदर्शीहरूका अनुसार नाइट क्लबभित्र आतिशबाजी गरिएको थियो, यसैका कारण एक पिल्लर र क्लबको छतमा आगो लाग्यो र विस्फोट हुन पुग्यो ।
समाचारहरूमा जनाइए अनुसार नाइट क्लबमा करिब ३ सय देखी ४ सय सम्म मानिस रहेका थिए । रक कन्सर्ट भएका कारण अन्य दिनको तुलनामा क्लबमा मानिसको संख्या धेरै थियो । विस्फोट भएपछि क्लबमा भागदौड मच्चिएको समाचारमा जनाइएको छ । मृत्यु हुनेहरूमा किशोरकिशोरीहरूको संख्या धेरै रहेको छ । धेरै घाइतेहरूको शरिर जलेको छ ।
विस्फोटपछि पुरै नाइट क्लबमा आगो फैलिएको बताइएको छ । यसले गर्दा धेरै मानिस जलेका थिए । केही मानिसको मृत्यु धुँवाका कारण सास फेर्न नसक्दा भएको समाचारमा जनाइएको छ ।
स्वास्थ्य मन्त्रालयले मानिसहरूलाई रक्तदान गर्न अपिल गरेको छ । शनिबार मन्त्रीपरिषद्को आकस्मिक बैठक बोलाइएको छ ।