औषधीको कालोबजारी : विभाग समाउने, प्रहरी छाड्ने

239
  •  
  •  
  •  

medicinesविराटनगर, २१ मंसिर(ओएनएस) : औषधी व्यावस्था विभाग क्षेत्रीय कार्यालय विराटनगरले औषधीको कालोबजारी गरेको भन्दै कारवाही गर्न प्रहरीको जिम्मा लगाएका व्यक्ति तारेखमा छुटेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङले कालोबजारी गरेको अभियोग लागेका राधेश्याम मण्डललाई मुद्धा नचलाई तारेखमा छाडेको हो ।

औषधी व्यावस्था विभागले अनुगमनका क्रममा ६ रूपैयामा किनेको एड्रिनालिन औषधी तिनगुना नाफा राखी २४ रुपैयामा बिक्री गरेको भन्दै कारवाहीकोलागि जिल्ला प्रहरी कार्यालयलाई सिफारिस गरेको थियो ।

तर, प्रहरीले भने तत्काल कालोबजारी नदेखिएको भन्दै मण्डललाई मुद्धा नचलाई तारेखमा छाडेको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक प्रमोद खरेलले तत्काल कालोबजारी गरेको नदेखिएकाले तारेकमा छाडिएको बताउँछन् । उनले औषधी व्यावस्था विभागले गत साउनको खरिद र मंसिरको बिक्री बिल अनुसार कारवाहीकालागि सिफारिस गरेपनि अहिले सो औषधीको मुल्य २४ रुपैया नै पर्ने गरेको बताए । ‘हामीले अनुसन्धान गरि रहेका छौ ।’, खरेलले भने ‘तत्काल कालोबजारी गरेको नदेखिएकाले तारेकमा छाडिएको हो ।’

तर, अनुगमनका क्रममा कमजोरी भेटिएर नै पक्रउ गरी कारवाहीकोलागि प्रहरीको जिम्मा लगाएको औषधी व्यवस्था विभागले जनाएको छ । विभागले भने मण्डलले कालोबजारी गरेको दावी गरेको छ । ‘मण्डलले हामीलाई पेस गरेको कागजमा कालोबजारी गरेको देखिन्छ ।’, विभागका विराटनगर प्रमुख गणेश तामाङले भने, ‘कालोबजारी गरेको भेटिएकाले प्रहरीको जिम्मा लगाएका हौ ।’

भारतले गरेको अघोषित नाकाबन्दी र मधेश आन्दोलनले गर्दा बजारमा औषधीको अभाव छ । अभावको बेला औषधीको मुल्य बढी लिएर कालोबजारी गरेको भन्दै औषधी व्यावस्था विभागको टोलीले आर के चिल्डेन हस्पिटल भित्र विन्देश्वरी मेडिकल हल चलाएका मण्डललाई कारवाहीकालागि बिहिबार जिल्ला प्रहरी कार्यालयलाई सिफारिस गरेको थियो ।

अनुगमनका क्रममा एनआइसियुमा चाहिने जीवनदायी औषधी एड्रिनालीनको मुल्य बढि लिएको भन्दै औषधी व्यावस्था विभागले कारवाहीको लागि सिफारिस गरेको बताइएको छ ।

विभागले ६ रुपैया पर्ने औषधीको मुल्य २४ रुपैया लिएको बताइएपनि एड्रिनालिन औषधीको मुल्य १५ रुपैया भारु पर्ने व्यवसायीहरुले बताएका छन् ।

६ रूपैँयामा खरिद गरेर २४ रूपैँयामा बिक्री गरेको बिल भेटेपछि कारवाहीकालागि पठाइएको तामाङको भनाई छ । उनका अनुसार मण्डलले खरिद र बिक्री गरेको बिल अनुसार धेरै नाफा राखेको देखिन्छ ।

खुद्रा बिक्रेताले डिलरसँग किनेर १६ प्रतिशत नाफा राखेर मात्र बेच्न पाउने व्यवस्था छ ।


  •  
  •  
  •