आठ वर्षमै ब्ल्याक बेल्ट (फोटोफिचर)

96
  •  
  •  
  •  

काठमाडौं २६ पुस । उनको नाम विशांक राना मगर। उनी भर्खर नौ वर्षका भए। उमेरले सानै भए पनि खेल क्षेत्रमा उनले हासिल गरेको उपलब्धि भने अपत्यारिलो छ। काठमाडौंको भानुभक्त मेमोरियल स्कुलमा कक्षा चारमा अध्ययनरत विशांकले कराँतेमा ब्ल्याक बेल्ट (कालो पेटी) पाइसकेका छन्।

कुनै पनि खेलाडीले कराँते सिक्न सुरु गरेदेखि ब्ल्याक बेल्टसम्म पुग्न सातवटा चरण पार गर्नुपर्छ। विशांकले पनि ह्वाइट, यलो, अरेन्ज, ब्लु, ग्रिन, पर्पल र ब्राउन बेल्टको चरण पार गरेर आठ वर्षकै उमेरमा ब्ल्याक बेल्ट पाएका हुन्।
कराँतेका उदीयमान खेलाडी भए पनि पछिल्लो समयमा आएर फुटबल खेलले पनि विशांकलाई मोहित पारेको छ रे। फुटबल खेलले उनको मन तान्नुको पछाडि कारण भने रहेछन्, -राष्ट्रिय फुटबल टोलीका चर्चित खेलाडी अनिल गुरुङ। 
उनले सन् २०१३ को सेप्टेम्बर ४ तारिखमा ब्ल्याक बेल्टको प्रमाणपत्र पाएका थिए। पक्कै पनि, यो असामान्य उपलब्धि हासिल गर्न उनले गर्नुपरेको परिश्रम सामान्य थिएन।
‘चार वर्षको उमेरदेखि निरन्तर रूपमा कराँतेको प्रशिक्षण लिँदै आएको छु, विशांक भन्छन्। कराँते खेलप्रतिको लगावका कारण उनको दैनिकी भने निकै व्यस्त बनेको रहेछ। खेल र अध्ययनप्रतिको तादात्म्य मिलाउन उनले परिश्रम पनि उत्तिकै गर्नुपरेको छ।
 
‘बिहानै उठेर प्रशिक्षण लिन जान्छु, त्यहाँबाट फर्किएर स्कुल जान्छु। स्कुल सकिएपछि ट्युसन पढ्छु अनि साँझमा फेरि कराँतेको प्रशिक्षण लिन्छु’, उनले आफ्नो दैनिक सुनाए। हो, कडा अनुशासन र बलियो इच्छा शक्ति भए संसारमा हासिल गर्न नसकिने उपलब्धि केही छैन, विशांक यसैको सशक्त उदाहरण हुन्।
विशांकका बुवा विनोद पनि कराँतेकै खेलाडी भएकाले सानै उमेरदेखि यो खेलसँग उनको नाता गाँसिएको रहेछ। कराँतेका चौथो डान विनोद अहिले जापान कराँते डो जोगुरियो ओसिकाई संघ नेपालका प्रशिक्षक हुन्। विशांकलाई कराँतेमा निपुण बनाउन अन्य प्रशिक्षकसँगै उनको बुवाको पनि ठूलो हात छ।
‘म खेलाडी भएकाले दुई/तीन वर्षको उमेरदेखि नै विशांकलाई पनि विभिन्न प्रतियोगिता र प्रशिक्षणमा लिएर जाने गरेको थिएँ। त्यसैले होला, कराँते खेलमा उसको मन बसेछ।
निकै जिद्दी गरेपछि चार वर्षको उमेरदेखि नै उसलाई प्रशिक्षणका लागि भर्ना गरिदियौं’, विनोद भन्छन्, ‘अन्तत: कराँते खेलप्रतिको यही आशक्तिका कारण नै ऊ आठ वर्षको कलिलो उमेरमै ब्ल्याक बेल्टसम्म पुग्न सफल भयो।’
विभिन्न स्तरका थुप्रै प्रतियोगितामा पदकसमेत जितिसकेका विशांकले भविष्यमा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेर राष्ट्रको प्रतिष्ठा बढाउने सपना बुनेका छन्।
‘अझ कडा परिश्रम गरेर भविष्यमा देशलाई बढीभन्दा बढी पदक दिलाउन चाहन्छु’, उनी भविष्यको योजना सुनाउँछन्। कराँतेभित्रका दुई विधामध्ये कुमुतेभन्दा पनि कातामा आफू बढी रमाउने गरेको उनले बताए।
प्रशिक्षणका क्रममा एक दिन उनको भेट अनिलसँग भएछ। अनिलले पनि उनलाई फुटबल खेल्न र भविष्यमा राम्रो खेलाडी बन्न सुझाव दिएछन्। त्यसपछि त के चाहियो र! दिनरात फुटबलकै मात्र कुरा गर्न थालेछन् घरमा। 
राष्ट्रिय स्तरका विभिन्न प्रतियोगितामा भाग लिएर पदकसमेत जिते पनि अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिताको अनुभव बटुल्ने अवसर भने उनले हालसम्म पाएका छैनन्।
पछिल्लोपटक उनले गत जुलाईमा राजधानीमै सम्पन्न छैटौं राष्ट्रिय गोजुरियो ओसिकाई कराँते प्रतियोगिताको कुमुते २० केजी तौलसमूहमा स्वर्ण पदक जितेका थिए। ‘अहिले सानै भएकाले प्रतियोगितामा भाग लिन टाढा पठाउन मनले मान्दैन’, आमा शान्ति भन्छिन्। खेलसँगै विशांक अध्ययनमा पनि राम्रो रहेको उनले बताइन्।  अन्नपूर्णपोष्टबाट

  •  
  •  
  •