काठमाडौ, २० असार (ओएनएस) । भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय जोलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यकालमा नेपाल र भारतबीचको सम्बन्धले नयाँ उचाई प्राप्त गर्ने विश्वास व्यक्त गरेका छन् ।
रिपोर्टर्स क्लब नेपालले शुक्रबार राजधानीमा आयोजना गरेको विशेष साक्षात्कारमा उनले नेपाल समृद्ध भए भारत पनि समृद्ध बन्ने उल्लेख गर्दै नेपालको समृद्धि र विकासको लागि भारतको सधै सहयोग र समर्थन गर्ने स्पष्ट पारे ।
जोलीले भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्ष राजनाथ सिंहले पनि आफ्नो सन्देशमा समेत नेपालको विकासमा आफ्नो चासो प्रकट गरिसकेको बताउँदै मोदीको नेपाल भ्रमणको समयमा नेपालको विकासका लागि ६ सय मेघावाट क्षमताको जलविद्युत आयोजना निर्माण, हाल दिँदै आएको ३ हजार छात्रबृत्तिमा २ हजार कोटा थप गरिने र ब्यापार घाटा कम गर्ने विषयमा महत्वपूर्ण काम हुने जानकारी दिए । उनले आगामि ९ गते भारतीय विदेश मन्त्री सुष्मा स्वराजको भ्रमण अघिनै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण तय गरिने बताए ।
उनले मोदी गुजरातको मुख्य मन्त्री हुँदै नेपाल भ्रमणमा आउने तयारीमा रहे पनि कारणबस आउन नसकेको भन्दै अहिले पनि मोदी नेपाल भ्रमणको लागि उत्सुक भएको बताए । उनले राजनीतिक भन्दा पनि सास्कृतिक सम्बन्धको आधारमा पशुपति दर्शन गर्न मोदी नेपाल आउन ईच्छुक रहेको बताए । जोलीले मोदी छिट्टै नेपाल भ्रमणमा आउने र भ्रमणले नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा अगाडी बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।