भाजपा नेता जोलीले भने, ‘हाम्रो सकल र अकल दुवै मिल्छ, आफै बुझ्नुहोस् के गर्दा ठिक ।’

192
  •  
  •  
  •  

vijay jollyकाठमाडौं, ७ फागुन : भारतीय जनता पार्टी(भाजपा)का प्रभावशाली नेता विजय जोलीले नेपालमा धर्म परिवर्तन बढेकाले भारत चुप लागेर बस्न नसक्ने बताएका छन् । रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा उनले धर्म परिवर्तनले भारतको सुरक्षा चुनौती बढ्ने भन्दै त्यसलाई रोक्न उचित कदम चाल्ने बताए ।

धर्म परिवर्तनलाई रोक्न प्रधानमन्त्री सुशील कोइराला, एमाओवादी अध्यक्ष प्रचण्डलगायतका नेताहरूको ध्यानाकर्षण गराएको खुलाए । दुवै नेताले आफूले भारतका तर्फबाट व्यक्त गरेको चिन्तालाई मनन गरेको जोलीको भनाई थियो । ‘नेपालमा गरिब जनतालाई प्रलोभनमा पारेर धर्म परिवर्तन गर्न बाध्य पारिएको छ,’ जोलीले भने, ‘भारतलाई समेत सुरक्षा चुनौती बढाउन सक्ने भएकाले तत्काल धर्म परिवर्तन रोक्न मैंले नेपालका प्रधानमन्त्री सुशील कोइराला र एमाओवादी अध्यक्ष प्रचण्डलाई ध्यानाकर्षण गराएको छु । धर्म परिवर्तन चिन्ता गर्नुपर्ने विषय भएको र त्यसले नेपाललाई समस्यामा पार्ने बताएपछि दुवै नेताले चिन्ता व्यक्त गर्नुभयो ।’

नेपालको धर्म परिवर्तनले बढोत्तरी पाइरहेमा भारतलाई समेत खतरा आउनसक्ने भएकाले आफूहरू चुप नलाग्ने बताए । आफूले चाहेको धर्म मान्ने अधिकार सबै नागरिकका लागि छूट भएको तर करकाप र प्रलोभनबाट धर्म परिवर्तन गराउने प्रवृत्ति मान्य नहुने बताए । नेपालमा हिन्दु राज्य कायम हुनुपर्छ भन्ने भाजपाको लाइन हो भनी सोधिएको प्रश्नमा जोलीले भने, ‘नेपालमा के हुनुपर्छ भन्ने निर्णयकर्ता नेपाली जनता हुन् भारत सधै त्यसको सम्मान गर्छ ।’ धार्मिक मुद्धामा पनि नेपाली जनताको चाहना सम्बोधन हुनुपर्ने जोलीको भनाई थियो ।

साक्षात्कारमा भाजपाका पूर्व विदेश विभाग प्रमुख समेत रहेका जोलीले सहमतिमै संविधान निर्माण गर्न नेपालका राजनीतिक दलका नेताहरूलाई आग्रह गरे । भारत सरकार संख्याका आधारमा नभई सहमतिमै संविधान बनोस् भन्ने पक्षमा रहेको बताए । ‘नेपालमा सहमतिबाटै संविधान जारी होस्,’ जोलीले भने,‘मैंले भेटे जति नेताहरूलाई संख्यामा नगई सहमतिमै संविधान जारी गर्न आग्रह गरेको छु ।’

नयाँ दिल्लीमा भएको १२ बुँदे समझदारी हुँदै नेपालको शान्ति प्रक्रिया अहिलेको अवस्थामा आइपुगेको उल्लेख गर्दै सहमतिको बाटोलाई नछाड्न सुझाव दिए । नेपालका राजनीतिक दलहरूले सहमतिबाट जनआन्दोलन देखि संविधानसभाको निर्वाचन दुईपटक सफलताका साथ सम्पन्न गर्न सकेको बताए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि सहमतिबाट संविधान निर्माण गर्न सुझाव दिएको स्मरण गराउँदै नेपाल मामलामा मोदीको धारणामा कुनै परिवर्तन नआएको स्पष्ट पारे ।

उनले भने, ‘नरेन्द्र मोदीजी सहमतिबाट संविधान जारी होस् भन्ने पक्षमा अडिग हुनुहुन्छ । उहाँले संख्याका आधारमा नभई सहमतिबाट जानुपर्ने भन्नुभएको कुरा दोहोर्याउन चाहन्छु ।’

जातीय पहिचानसहितको संघीयताबारे भाजपाको औपचारिक धारणाबारे सोधिएको प्रश्नमा कस्तो पद्धति, प्रणाली र संघीयतामा जानेबारे नेपाली जनता र राजनीतिक दलले तय गर्ने बताए । भारतले नेपालको आन्तरिक राजनीतिमा कहिल्यै हस्तक्षेप नगरेको र नगर्ने बताए । उनले भने, ‘नेपालको विकास, शान्ति र स्थायित्वका लागि भारत सधै सहयोगी भइरहनेछ ।’

संविधान निर्माण प्रक्रियामा नेपालले खोजेको सहयोग दिन भारत तयार रहेको बताए । नेपालमा समस्या पर्दा भारत समेत प्रभावित हुने उल्लेख गर्दै नेपालको द्रुत विकास र प्रगति देख्न भारत आतुर रहेको बताए ।

नेपालमा भारतीय नीति असफल हुँदै गएको हो भन्ने प्रश्नमा जोलीले कुटनीतिक उत्तर दिदै भने, ‘भारत नेपालको साथमा छ ।’ नेपालमा चीन र पश्चिमा प्रभाव बढ्दै गएकोबारे भारतीय पक्ष चिन्तित भएको हो भन्ने प्रश्नमा उनले नेपाल र नेपालीका लागि भारत जत्तिको सहज र सहयोगी मित्र अरू हुननसक्ने बताए । उनले भने, ‘तपाईंहरू र हाम्रो सकल र अकल दुवै मिल्छ । अब आफै बुझ्नुहोस् के गर्दा ठिक हुन्छ ।’ भारत जान र आउन जत्तिको नेपालीलाई अन्त सहज नहुने हुँदा नेपालीका लागि पनि भारत जत्तिको असल मित्र अरू हुननसक्ने बताए ।

भारतले नेपाललाई उच्च महत्व दिएको बताए । प्रधानमन्त्री नरेन्द्र मोदीले पद तथा गोपनीयताको सपथ खाएको ६८ दिनमा नेपाल भ्रमण गरेको र पहिलो भ्रमणको १२२ दिनमा पुनः भ्रमण गरेबाट नै नेपालप्रति भारतको चासो प्रष्ट हुने बताए । उनले भने, ‘हामीले नेपाललाई असल मित्रभन्दा पनि प्रीय भाईका रूपमा बुझेका छौं ।’

नेपाल र भारतबीचको अन्यौन्याश्रित सम्बन्धलाई बिगार्न खोज्नेहरू देखापरेको औल्याए । सम्बन्ध बिगार्न खोज्नेहरू कुनै हालतमा सफल नहुने बताए । ऐतिहासिक सम्बन्धले जोडिएको दुई देशबीच परस्पर सहयोग बढिरहेबाट सुखद सम्भावनाका ढोकाहरू खुलिरहेको जोलीको भनाई थियो । मोदीले नेपाललाई विकासका लागि दश हजार करोड सहयोग गरेको, काठमाडौं–दिल्ली सिधा बससेवा शुरू गर्नुका लागि पहल थालेको, नेपाल प्रहरीलाई भवन निर्माणका लागि सहयोग प्रदान गरेको उल्लेख गर्दै थप सहयोग ल्याउन आफ्नो तर्फबाट पनि पहल गर्ने बताए । नेपालसँग भएका सहमति र सम्झौताले दुवै देशको दीगो विकासमा हित हुने जोलीको भनाई थियो ।


  •  
  •  
  •