भाजपा अध्यक्षविरुद्ध प्रहरीको अभियोग

105
  •  
  •  
  •  

काठमाडौं २७ भदौ ।
प्रहरीले सत्तारुढ दल भारतीय जनता पार्टीका अध्यक्ष अमित साहविरुद्ध बुधबार अदालतमा अभियोगपत्र दर्ता गरेको छ।प्रहरीद्वारा दायर अभियोगपत्र गएको लोकसभा चुनावताका साहको उत्तेजना फैलाउने भाषणसँग सम्बन्धित छ। प्रहरीले चुनावताका नै यसबारे परेको उजुरी छानबिनपछि लखनऊका अतिरिक्त मुख्य न्यायाधीशसमक्ष अभियोगपत्र बुझाएको हो।

छानबिनपछि प्रहरीले अध्यक्ष साहविरुद्ध कैयौं गम्भीर मामिलामा अभियोग लगाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। भाजपाका तर्फबाट बहस गरिरहेका वकिल चन्द्रबिर सिंहले साहविरुद्ध कैयौं अभियोग लगाइएको जानकारी दिए। तर उनले साहविरुद्ध लागेका अभियोगबारे विस्तृत रुपमा आफूलाई थाहा नभएको भन्दै थप जानकारी दिएनन्। सिंहका अनुसार मुद्दाको पेसी तोकिएको छैन।
प्रहरी अधिकारी योगेन्द्र सिंहले भने त्यहाँ उपचुनाव हुनुभन्दा ३ दिनअघि मात्र अभियोगपत्र पेस गरेकोबारे सञ्चारकर्मीले सोधेका थिए। सिंहले नियमित कारबाहीअर्न्तगत नै अभियोगपत्र पेस गरिएको जबाफ दिए। त्यहाँ १३ सेप्टेम्बरमा लोकसभाको उपचुनाव हुँदैछ।
गएको लोकसभा चुनावताका भाजपा अध्यक्ष साहले मुजफ्फरनगर सामलीका निकै ठाउँमा सामाजिक सद्भाव बिथोल्ने र उत्तेजना फैलाउने आपत्तिजनक भाषण गरेको आरोप लागेको थियो। यसबारे उनीविरुद्ध सामाजिक सद्भाव बिथोल्ने उत्तेजक भाषण गरेको उजुरी मुजफ्फरनगर, सामली र बिजनोरमा समेत परेका थिए।
मुजफ्फरनगरको नयाँ मन्डी प्रहरी थाना क्षेत्रको एउटा भवनमा ४ अप्रिल २०१४ मा साहले एउटा जनसभा सम्बोधन गरेका थिए। साहले उक्त जनसभामा आपत्तिजनक भाषण गरेको आरोप लागेको थियो। जनसभामा साहले गरेको भाषणको भिडियोका आधारमा १२ अप्रिलमा नयाँ मन्डी प्रहरी थानामा उजुरी परेपछि प्रहरीले छानबिन गरिरहेको थियो। एजेन्सी


  •  
  •  
  •