अंश माग्दा कुटपिट

398
  •  
  •  
  •  

काठमाडौं ३ माघ ।
अंश दिंदैनौं भन्दै सौतेनी छोराको परिवार र आफन्तले कुटपिट गर्दा बबरमहलका आमा-छोरी घाइते भएका छन् । लामो समयदेखि अंश दिंदैनौं भनी धम्काउँदै आएको प्रेमकुमार थापाको परिवारले बुधबार राति ६२ वर्षीया शोभा थापा र २३ वर्षीया सपनालाई कुटपिट गरेका हुन् । हाल उनीहरूको नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।

शरीरमा नीलडाम, आँखा सुन्निएको, आँखाको डिलको मासु लुछेको, हातका औंलामा टोकेर घाउ छ । भक्तपुरका कृष्णबहादुर थापाको जेठी श्रीमती शोभा र कान्छी पत्नी चमेलीको परिवार हाल बबरमहलस्थित एउटै घरमा बस्दै आएका छन् ।

जेठी श्रीमतीलाई तीन कोठा मात्र छुट्याएर कान्छीको परिवारले पूरै घर कब्जा गर्दै आएको उनीहरूले अदालतमा दिएको उजुरीमा उल्लेख छ । ‘०६० मा श्रीमानो मृत्युपछि खान, लाउनसमेत नदिएर समस्यामा पारेपछि हामीले अंश मुद्दा हालेका थियौं,’ उपचार गराइरहेकी शोभाले भनिन्, ‘अदालतले अंश दिलाउनु भन्ने फैसला गरे पनि नदिने भन्दै अहिलेसम्म धम्क्याउँदै आएका छन् ।’

कान्छी सौताका छोरा प्रेमकुमार थापा हाल विदेशमा भएकाले थापाको सालो सन्दीप थापाले मार्ने धम्की दिंदै कुटपिट गरेको पीडितले बताएका छन् । घरमा अभद्र व्यवहार गर्ने, अनावश्यक दुःख दिने काम गर्दै आएकाले प्रहरीलाई जानकारी गराउँदा प्रहरीले समेत उजुरी नलिएको उनीहरू बताउँछन् ।

मंगलबार केही समयका लागि आमा-छोरी घर बाहिर निस्कँदा आफू बस्ने ढोकाको ताल्चा लगाएको ठाउँमा पूरै दिसा दलिदिएको र राति फर्केर सफा गर्ने क्रममा मार्छु भन्दै कुटेको छोरी सपनाले बताइन् ।

‘हामीले पटक/पटक पारिवारिक मिटिङ राखेर अभद्र व्यवहार नगर्न सम्झाइ बुझाई गर्‍यौ तर केही गर्दा मानेनन्,’ शोभाको भतिजले भने, ‘जिल्ला अदालत, पुनरावेदन दुवैले अंश दिनू भन्ने फैसला गरे पनि कार्यान्वयन हुन सकेको छैन ।’

महानगरीय प्रहरी वृत्त अनामनगरका डीएसपी सन्तोष खडाले घटनामा महिलामाथि कुटपिट भएको स्वीकार गरे । अंश मुद्दालाई लिएर परिवारमा सानोतिनो कुरामा झगडा भइरहने गरेको उनले जानकारी दिए । यसमा दुवै पक्षका व्यक्ति घाइते भएको उनले बताए । ज्यान मार्ने उद्योग स्थापित नहुने भएकाले उजुरी नलिएको जानकारी दिंदै उनले भने, ‘कुटपिट मुद्दा दर्ता गराउनुभन्दा उहाँहरू मान्नुभएन ।’
कान्तिपुरबाट


  •  
  •  
  •