पुर्वसभासदसहितले गाविस सचिवलाई कुटे

129
  •  
  •  
  •  

काठमाडौं १ पुस ।
एमाओवादीका पुर्वसभासद सुदन किरातीसहितको समूहले भोजपुरमा एक गाविस सचिवलाई कुटेका छन् । सोमबार दिउँसो १२ बजे भोजपुरका स्थानीय विकास अधिकारीको कार्यकक्षमा देउराली र साङपाङ गाविसका सचिव खड्गबहादुर पौडेललाई किराती लगायतको समूहले दैलो थुनेर कुटेको हो ।

एकीकृत माओवादी भोजपुरका अध्यक्ष समेत रहेका पूर्वसभासद किरातीको नेतृत्वमा षडानन्द नगरपालिका उद्घाटनको विषयमा कुरा गर्न गएको राजनीतिक दलको टोलीले सचिव पौडेललाई मरणासन्न हुने गरी कुटेका हुन् । घाइते पौडेलको सिद्धकाली भोजपुर हस्पिटलमा उपचार भईरहेको छ । पौडेलको टाउको र मुखमा चोट लागेको छ ।

साङपाङ गाविसमा सडक हेरालु नियुक्त गरेको विषयमा लिएर पौडेलमाथि आक्रमण भएको बताइएको छ । यही विषयमा कुरा गर्न स्थानीय विकास अधिकारी भानुभक्त न्यौपानेलाई दलका नेताले सचिव पौडेललाई कार्यकक्षमा बोलाउन लगाएका थिए ।

सचिव पौडेल स्थानीय विकास अधिकारीको कार्यकक्षमा आउने वित्तिकै कांग्रेसका सचिव हेमन्त मुकारुङले हप्काएपछि किरातीले टेबलले आक्रमण गरेका थिए । पौडेललाई जिविसमा पुगेका सबै दलका नेता तथा कार्यकर्ताले कुटेका हुन् ।
‘म एलडिओको कार्यकक्षमा पुग्न साथ पुर्व सभासद किरातीले दुव्र्यवहार शुरु गरे, त्यसपछि मुकारुङ, अनिल बस्नेत लगायतले कुटेको थाहा छ । म माथि आक्रमण हुँदा तल्लो स्तरका शब्द प्रहार भइरहेको थियो’, घाइते पौडेलले भने ।

जिविसमा प्रहरी आउँदा समेत कांग्रेस सचिव मुकारुङले प्रहरीलाई गाली गलौज गर्दैे हप्काएको कर्मचारीले बताएका छन् । कांग्रेस सचिव मुकारुङले भने अन्यत्र गाविसका मान्छेलाई सडक हेरालु नियुक्त गरेको विषयमा सोध्न खोज्दा सचिव पौडेलले ठुला कुरा गरेकोले कुटपिट गरेको स्विकारे । सचिव पौडेल गाविस सचिव हकहित संरक्षण केन्द्र नेपालका केन्द्रिय सदस्य हुन् ।

यसैविच पौडेलले सार्वजनिक अपराध अन्तरगत आठजना विरुद्ध निवेदन दिएका छन् । हेमन्त मुकारुङ, अनिल बस्नेत, सुदन किराती, सफल किरात, राजेश खतिवडा, चन्द्र बुढाथोकी, आङपासाङ शेर्पा र एक जना अपरिचितका विरुद्धमा प्रहरीमा निवेदन दिएका हुन् ।

घटनाको विरोधमा भोलि तीन बजेदेखि एक घण्टासम्म कार्यालयको सम्पूर्ण कामकाज बन्द गर्ने नौ वटा पेशाकर्मीका संगठनले हस्ताक्षर गरेको विज्ञप्तीमा जनाइएको छ । घटनाको नेकपा एमालेले दोषीलाई कडा कार्वाहीको माग गरेको छ । एमालेले प्रेस विज्ञप्ती निकाल्दै पिडितलाई न्याय र दोषीलाई कानुनी कारबाहीको माग गरेको हो । अन्न्पूर्णपोष्टबाट


  •  
  •  
  •