काठमाडौं १२ साउन (ओएनएस) :
छोराको हत्यारामाथि कारवाहीको माग राख्दै अनसनरत अधिकारी दम्पतीलाई वीर अस्पतालले उपचार गर्न नसक्ने भएको छ ।
गोरखा फुजेलका नन्दप्रसाद र गंगामाया अधिकारीको उपचार खर्च सरकारले दिन छाडेपछि अस्पतालले अब धेरै थेग्न नसक्ने जनाएको छ । दम्पत्तीको उपचारमा संलग्न चिकित्सकहरुले अहिलेकै स्थितिमा ‘बचाउन नसक्ने’ जानकारी दिइसकेको अस्पतालका निमित्त निर्देशक केदार सेन्चुरीले बताए । ‘उहाँहरुको अवस्था चिन्ताजनक छ, ब्रेनका नसाहरु बन्द भइसकेका छन्’ उनले भने, ‘अब धेरै दिन हामी यसैगरी अगाडि बढ्न सक्दैनौं ।’
सेन्चुरीका अनुसार चिकित्सकहरुलाई उपचारकै काममा पनि थुप्रै झमेला छन् । ‘स्लाइन पानी दिँदा थुतेर फ्याक्ने, डाक्टरहरुलाई जथाभावी गाली गलौज गर्ने र औषधि नखाँदा’ हैरानी छ । ‘उहाँहरुको शरीरले पनि साथ दिएको छैन । स्लाइन पानी दिन लाग्दा नसा नै भेटिदैन,’ उनले भने, ‘उपचारमा परिवारले पनि सहयोग नगरेको बुझिएको छ ।’
उपचारै गर्न नपाएपछि स्वास्थ्य सुधार हुन नसकेको सेन्चुरीले बताए । अर्कातिर खर्चको समेत अभाव भएपछि वीर अस्पताल प्रशासनलाई के गर्ने भन्ने निर्णय गर्नै हम्मे परेको छ । ‘उपचार गरिरहौं, खर्च छैन’ उनले भने ‘नगरौं बुढाबुढीको ज्यानको सबाल छ, बडो अप्ठेरो भइरहेको छ ।’
अधिकारी दम्पतिको उपचारमा हालसम्म अस्पतालले ठूलो रकम खर्चिसकेको निर्देशक सेन्चुरीले जानकारी दिए । ‘दैनिक करिब दश हजार रुपैया औषधी उपचारमा खर्च भइरहेको छ,’ उनले भने, ‘हालसम्म २२ लाख भन्दा बढी खर्च भइसक्यो तर सरकारले उपलब्ध गराउने भनेको रकम पाइएको छैन ।’
हाल अधिकारी दम्पत्तीको आइसियु कक्षमा उपचार भइरहेको छ । उनीहरु नौ महिनादेखि अस्पतालमै अनसन बसेका हुन् । उनीहरुका छोरा कृष्णप्रसादको ०६१ मा माओवादीले अपहरिणपछि हत्या गरेको थिए ।
कान्तिपुरबाट