मुख्यमन्त्रीद्वारा बम विष्फोट स्थलको निरीक्षण

140
  •  
  •  
  •  

बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक भूमिश्वर ढकालको घरमा शुक्रबार बिहान भएको बम विष्फोटको मुख्यमन्त्री शंकर पोखरेलसहितको टोलीले स्थलगत निरीक्षण गरेको छ ।

सचेतक ढकालको रुपन्देही जिल्ला सैनामैना नगरपालिका वडा नं ८ रामापुरस्थित निजी निवासमा शुक्रबार बिहान २ः३० बजेको समयमा अज्ञात समूहले पेट्रोल बम प्रहार गरेको थियो । मुख्यमन्त्रीसहितको टोलीले सचेतक ढकालको निजी निवासमा पुगेर स्थलगत निरीक्षण गर्नुका साथै घटनाको सुक्ष्म अध्ययन गर्न प्रहरी प्रशासनलाई निर्देशन समेत दिएका छन् ।

छानविनका लागि कुनै कसुर नराख्ने भन्दै उनले परिवारजनको सुरक्षाका लागि सुरक्षाकर्मी परिचालन गर्न सकिने बताए ।

प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले यस्ता अपराधपूर्ण कार्य सह्य नहुने भन्दै घटनामा संलग्नको खोजबिन गरेर कानूनी दायरामा ल्याइने बताए ।

बम प्रहारबाट सचेतक ढकालले चढ्ने गरेको लु१प ४५६ नंको सरकारी गाडीको पछाडिको भाग जलेर क्षतिग्रस्त भएको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रमुख प्रहरी निरीक्षक रबिनराज मैनालीले जानकारी दिए ।

मोटरसाइकलमा आएका आक्रमणकारी समूहले ढकालको घरको झ्यालमा समेत बम प्रहार गरेका थिए ।

घटनास्थलमा मुख्यमन्त्री पोखरेलसहित प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्ती, प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री केसी, प्रदेशसभा संसदीय समितिका सभापति दधिराम न्यौपाने, डा कृष्ण न्यौपाने, कांग्रेसका सचेतक निर्मला क्षेत्री, प्रदेशसभा सदस्य कमला विश्वकर्मा, तारा जिसी, प्रमुख जिल्ला अधिकारी अर्जुनप्रसाद पोखरेल, प्रदेशका सुरक्षा निकायका उच्च पदस्थ अधिकारीहरु पुगेका थिए ।

प्रमुख सचेतक ढकाल बिरामी भई केही दिनदेखि काठमाडौँस्थित मेडिसिटी अस्पतालमा भर्ना भएको बेला घरमा आक्रमण भएको हो ।

यो पनि हेर्नुहोस्

नेकपा प्रमुख सचेतक ढकालको घरमा बम प्रहार


  •  
  •  
  •