काठमाडौं बम विस्फोट प्रकरण : थप एकको मृत्यु

913
  •  
  •  
  •  

काठमाडौं । काठमाडौंस्थित सुकेधारा र घट्टेकुलो विस्फोटमा घाइते थप एक जनाको मृत्यु भएको छ । चाबहिलको ओम अस्पतालमा उपचारका क्रममा रामेछाप मन्थली नगरपालिका ४ का रामकुमार श्रेष्ठको शनिबार मृत्यु भएको हो । उनीसँगै विस्फोटमा मृत्यु हुनेको संख्या ५ पुगेको छ ।

प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीका अनुसार उपचार गराइरहेका श्रेष्ठको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ । जेठ १२ अपराह्न अनामनगर र सुकेधारमा श्रृखलावद्ध रुपमा विस्फोट भएको थियो ।

विस्फोटमा कालिकोटको सानीत्रिवेणी गाउँपालिका ९ घर भएका विभुराम भनिने दिपिन विक, दाङको बबई गाउँपालिका ३ घर भएका ३३ वर्षका गोकुल रानामगर र वर्ष ४४ का निरन्तर मल्ल र शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) इकाईका विधार्थी नेता प्रज्वल शाहीको बिस्फोट भएकै दिन मृत्यु भएको थियो । चारै जना प्रतिबन्धित नेत्रविक्रम चन्द समूहका कार्यकर्ता रहेको प्रहरीले पुष्टि गरेको छ । अस्पतालमा उपचार गराइरहेको ४ घाइतेमध्ये ३ जना समेत चन्द समूहमा आबद्ध रहेको प्रहरीको दावी छ ।

प्रहरी परिसर काठमाडौंका अनुसार सुकेधारा विस्फोटका तीन घाइतेमध्ये चन्द समूहमा आवद्ध रहेका हरि खड्का र सुरेन्द्र मर्हजनको उपचार चाबहिलको ओम अस्पतालमा भइरहेको छ, भने विस्फोट भएको सैलुनका सञ्चालक छोटे भनिने जीवकुमार ठाकुरको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

सोही दिन थानकोटमा भएको विस्फोटमा घाइते भएका चन्द समूहका कार्यकर्ता महेन्द्र लामाको पनि कलंकीस्थित शहीद मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।


  •  
  •  
  •