बम विस्फोटमा मृत्यु हुनेको संख्या चार पुग्यो, ८ घाइते

गृहमन्त्रालयमा आकस्मिक बैठक
239
  •  
  •  
  •  

काठमाडौं, १२ जेठ(ओएनएस) : काठमाडौं र ललितपुरमा आइतबार श्रृखलाबद्ध बम विस्फोट भएको छ । सुकेधारा, घट्टेकुलो र चन्द्रगिरीमा भएको बम विस्फोटमा चार जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।

सुकेघारास्थित एक शैलुनमा र घट्टेकुलोस्थित एक घरको कोठामा बिस्फोट भएको थियो । सुरुमा सिलिण्डर विस्फोट मानिएको दुबै घटनामा प्रतिबन्धित नेकपा विप्लव समूहको संलग्नता भेटिएको छ ।
बम बनाउने क्रममा विस्फोट भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
सुकेधारा विस्फोटमा घाइते भएर ओम अस्पतालमा उपचाररत नेवाः मुक्ति मोर्चाका अध्यक्ष सुरेन्द्र महर्जनले बम बनाउने क्रममा विस्फोट भएको बताएको प्रहरी समक्ष बयान दिएका छन् ।

सुकेधारा बिस्फोटमा एकजनाको घटनास्थलमै र दुई जनाको ओम अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । सुकेधारा विष्फोटमा मृत्यु हुनेमा काभ्रे घर भएका कपन मिलनचोक बस्ने ४४ वर्षीय हरि खड्का र कपन चुनिखेल घर भएका सुरेन्द्र महर्जन रहेका छन् । अन्यको भने सनाखत हुन सकेको छैन ।

सुकेधारामा बिस्फोट भएकै समयमा घट्टेकुलोमा समेत विस्फोट भएको छ । विस्फोटमा प्रज्वल शाहीको मृत्यु भएको छ भने रविन केसी घाइते भएका छन् । खुट्टामा चोट लागेका उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । केसी विप्लव समूहसम्वद्ध विद्यार्थी संगठनको त्रिचन्द्र कलेजका इकाई अध्यक्ष भएको खुलेको छ ।

विप्लव समूहले सोमबार नेपाल बन्द आह्वान गरेको छ । त्यही क्रममा विभिन्न स्थानमा बम राखेर विप्लव समूहले आतंकित बनाएको छ ।

यस्तै चन्द्रगिरी नगरपालिका–३ इँटाभट्टा चोकमा बम विस्फोट भएको छ । प्रेसर कुकर बम बोकेर ल्याउँदै गर्दा भएको विस्फोटमा आकाश लामा घाइते भएका छन् । अर्का घाइतेको भने पहिचान खुल्न सकेको छैन ।
यसैबीच प्रहरीले काठमाडौंको कोटेश्वर नरेफाँटबाट नेत्रविक्रम चन्द विप्लव समूहका सातजना कार्यकर्तालाई पक्राउ गरेको छ । पक्राउ पर्नेको नाम खुलाइएको छैन ।
प्रहरीका अनुसार विप्लव समूहका सातजना कार्यकर्ता पक्राउ परेका हुन् ।

पक्राउ परेकाहरुको साथबाट प्रहरीले चार वटा प्रेसर कुकर बम समेत बरामद गरेको छ । यस्तै ललितपुरको लगनखेल, ग्वार्को, सातदोबाटो लगायतका स्थानमा समेत शंकास्पद बस्तु भेटिएको छ ।

विष्फोटको घटनापछि गृहमन्त्रालयमा आकस्मिक बैठक बसेको छ ।
गृहमन्त्री रामबहादुर थापाले ३ वटै सुरक्षा निकायका प्रमुललाई बोलाएर आकस्मिक छलफल गरेका हुन् ।

छलफलमा गृहसचिव प्रेमकुमार राई, नेपाल प्रहरीका प्रमुख सर्वेन्द्र खनाल, सशस्त्र प्रहरी बलका प्रमुख शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी, महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका प्रमुख डीआईजी शैलेश थापा क्षेत्रीसहित काठमाडौं, भक्तपुर र ललितपुर ३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी उपस्थित रहेको बताइएको छ ।

गृहमन्त्री थापाले सुरक्षा निकायका प्रमुखसँग आइतबार दिनभर भएको घटनाबारे जानकारी लिएका थिए ।
लगतै देशैभरका कार्यालयलाई हाइ अलर्टमा राख्न र सुरक्षा स्थिति बजबुत बनाउन निर्देशन दिएका थिए ।


  •  
  •  
  •