‘कमरेड’ नहुँदै चरीसँगको एक जम्काभेट

229
  •  
  •  
  •  

विष्णु रिजाल/

पाँच वर्षअघि उनी यति ‘चर्चा’मा आएका थिएनन् । हिउँदको कुनै एक दिन म प्रधानमन्त्री कार्यालयबाट बल्खु पुगेको थिएँ । त्यतिबेला एकजना कमरेडले ‘यति एउटा काम गर्नुपर्ने भयो’ भन्नुभयो, जसलाई मैले काट्न सक्दिनथें । क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव आइरहेको थियो । सधैं लफडा भइरहने त्रिचन्द्र क्याम्पसमा खुकुरी हानाहान भइसकेको थियो र केही विद्यार्थी नेताहरु हिरासतमा थिए, कोही अस्पतालमा थिए । जहिले पनि प्रतिष्ठाको विषय बन्ने स्ववियु चुनाव सत्ता साझेदार दुबै दल एमाले र कांग्रेसका लागि उत्तिकै महत्वको थियो । त्रिचन्द्रमा अखिल पस्ला कि भनेर त्रस्त नेविसंघका कार्यकर्ताहरु हतियार बोकेर घुमिरहेका थिए ।

यही पृष्ठभूमिमा मैले त्यो काम गर्नुपर्ने अभिभारा आइलागेको थियो । ‘नेविसंघका कार्यकर्ताले साह्रै हैरान पारेका छन्, भीम रावल (गृहमन्त्री) कुरै सुन्नुहुन्न । यो मान्छेलाई अलि दिन पक्राउबाट जोगाउन सकियो भने फाइदा हुन्छ’– मलाई भनिएको थियो– ‘त्यसैले प्रहरीलाई भनेर केही दिनका लागि पक्राउ नगर्ने वातावरण मिलाउनुपर्‍यो ।’ मोटरसाइकलमा आएका र मसँग कुरा गर्दा पनि अलिकति मात्रै हेल्मेट खोलेका ती खाइलाग्दा युवालाई मैले कहिल्यै देखेकै थिइनँ । ‘दाइ पुलिसले यत्तिकै दु:ख दिन्छ’– उनले छोटो शब्दमा भने– ‘खासमा कांग्रेसका केटाहरुले पिछा गरिरहेका छन् ।’ ती रहेछन् दिनेश अधिकारी । मैले त्यहींबाट प्रहरी महानिरीक्षक रमेश चन्द ठकुरीलाई फोन गरें ।

कुनै काम नगरे पनि गर्दिनँ नभन्ने स्वभावका ठकुरीसँग मलाई भनिएकै कुरा दोहोर्‍याइदिएँ । उनले ‘हुन्छ नि, तपाईंले भनेपछि म केटाहरुलाई भन्छु’ भन्दै विस्तृत विवरण टिपाउन अर्को नम्बर दिए । आइजीका स्टाफ रमेश थापा मैले फोन गर्दा उनीसँग रहेछन् । उनले सधैंझैं नम्र स्वरमा कुरा गरे । तर, अन्तिममा जे भने, त्यसबाट म नराम्ररी झस्कें । ‘सरहरुले सबै कुरा थाहा पाउनु हुन्न । त्यो केटा खतरनाक अपराधीका रुपमा विकास हुँदैछ । त्यसको खास चिनिने नाम चरी हो । म दरबारमार्ग बसेको हुनाले उसका बारेमा सबै थाहा पाउँछु । सरहरु पनि यस्ताबाट सतर्क रहनुपर्छ ।’

रमेश थापाले यति भन्दै उसको मोबाइल ट्राकिङ भइरहेको हुनाले नभेट्न र फोनमा पनि कुरा नगर्न सतर्क गराए– ‘नभए सरहरु पनि लफडामा तानिनुहुन्छ । सतर्क रहनु बेस होला ।’ ती भलाद्मी र इमानदार इन्स्पेक्टरको कुराबाट म त्रस्त भएँ । फोन राख्नासाथ के भयो भनेर उसले सोध्न नपाउँदै मैले ‘भाइको नाम चरी हो ?’ भनेर सोधें । उनको अनुहारको भावमा तुरुन्तै परिवर्तन आयो र यसबाट पनि पार लाग्ने रहेनछ भनेर हेल्मेट लगाए बाहिर निस्किए । मैले उनी हिंडेपछि सबै विवरण मैले ती कमरेडलाई पनि बताइदिएँ ।

प्रधानमन्त्री कार्यालयमा रहँदा अनेक प्रकारका कामहरु आइपर्थे । भन्न मिल्ने, नमिल्ने सबै थरीका काम सुन्नुपथ्र्यो । व्यावसायिक प्रहरी अधिकृतहरुले भन्थे– ‘हामीलाई थाहा छ, राजनीति गर्ने भएपछि तपाईंहरु कहाँ जस्ता मानिस पनि आउँछन् । तपाईंहरुले पनि हामीलाई भन्नु कर्तव्य हुन्छ । तर, हामीले आफ्नो विवेकले सही काम गर्छौं । कति गर्ने र कति नगर्ने, हामी थाहा पाउँछौं ।’ थाहा छैन, यति बेला ती अधिकृतको विवेकले काम गर्‍यो वा गरेन । राजनीतिक तहबाट आएको दवावलाई उनीहरुले कुन रुपमा ग्रहण गरेर वा गरेनन् । चरी मारिएका छन् र त्यसमा संलग्न प्रहरीलाई तारो बनाउन खोजिँदैछ । मैले चिनेसम्म पुष्कर कार्की नेपाल प्रहरीका इमानदार र व्यावसायिक थोरै अधिकृतमध्येमा पर्दछन् । काठमाडौंको डनगिरीका बारेमा उनलाई सुक्ष्म जानकारी छ ।

हल्लाभन्दा काममा बढी विश्वास गर्ने ती अधिकृतले कुनै व्यक्तिगत रिसइबीले चरीमाथि कारवाही गर्न टोली पठाए होलान् जस्तो लाग्दैन । चरी साँच्चै प्रहरीका लागि चुनौती बनेर आएका थिए । चरी एमालेमा प्रवेश गरेपछि एक दिन कफी खाने क्रममा एकजना अपराध अनुसन्धानमा पकड राख्ने प्रहरी अधिकृतले निकै चिन्ता व्यक्त गरेका थिए । ‘अपराधीलाई हामी कारवाही गर्न सक्छौं’– उनले भनेको मोटामोटी कुरा थियो– ‘जब त्यसले राजनीकि कभर पाउँछ, अझ आफैं ऊ कार्यकर्ताका रुपमा राजनीतिमा संलग्न हुन्छ, त्यसबेलामा प्रहरी निरीह हुन्छ । फलाना, फलानालाई अहिल्यै केही गर्न नसक्ने हो भने हेर्दै जानुहोला, भोलि कुनै दिन हामीले यिनलाई सलाम गर्न जानुपर्छ ।’ यसबीचमा डनगिरीसँग एमालेको नाम कुनै जोडियो । हाल सम्पत्ति शुद्धीकरणको मुद्दा खेपिरहेका विराटनगरका पर्शुराम बस्नेतदेखि धादिङ क्षेत्र नम्बर १ का उपाध्यक्ष बनेका दिनेश अधिकारी (चरी) सम्मले एमालेलाई बद्नाम बनाउन भूमिका खेलिरहे ।

अझ भएन भनेर अर्का चर्चित डन सुजन पौडेल उर्फ रमेश बाहुन पनि गत वर्ष तामझामका साथ एमालेमा प्रवेश गरे । थाहा छैन, यसबाट एमालेको कति शक्ति आर्जन भयो र कति ती युवामा सुधार आयो । तर, सार्वजनिक रुपमा डनको नाम लिनासाथ एमालेका केही नेताका कानका रौं भने तात्ने गरेको देखिन्थ्यो । आज एमाले अक्करमा परेको छ । गत वर्ष असार २३ गते राधे समूहले नागढुंगामा चरीमाथि गोली चलाएपछि उनलाई भेट्न एमालेका नेताहरु शिक्षण अस्पताल नै पुगेका थिए । यसपटक मृत्यु भएपछि पनि एकथरी नेताहरु आक्रोशित छन् । पक्कै पनि राज्यले गैरन्यायिक हत्या गर्न मिल्दैन, पाइँदैन । मृत्युदण्डलाई संविधानले बर्जित गरेको छ ।

तर, राजनीति र अपराधलाई अलग बनाउन सक्ने होइन भने अहिले एमाले परे जस्तै अक्करमा परिन्छ: कार्यकर्ता हो, पदमा पनि बसेको हो, आफ्नै पार्टीका उपाध्यक्ष गृहमन्त्री भएको बेला ‘मुडभेड’ मा मृत्यु हुन्छ तर पनि पार्टीले मुख खोल्न सक्दैन । चक्रे मिलनदेखि दीपक मनाङेसम्म कुनै न कुनै नेतासँग नाम नजोडिएका नेता होइनन् । चक्रेले त एमालेकै नेताकी श्रीमतीलाई दिदी मानेका छन् र तिहारमा टिका लगाउँछन् भन्ने पनि सुनिन्छ । गणेश लामालाई विजय गच्छदारले केन्द्रीय सदस्य बनाएका छन् । महासमिति सदस्य मीनकृष्ण श्रेष्ठलाई कांग्रेसले राष्ट्रिय खेलकुद परिषद्को कोषाध्यक्ष बनाएको थियो । दीपक मनाङे पनि कुनै पार्टीका उपाध्यक्ष छन् । पर्शुराम बस्नेत त अस्ति एमालेको महाधिवेशन प्रतिनिधि नै भएर आएका थिए । प्रश्न यो छ– यी युवालाई प्रयोग मात्रै गर्ने कि सुधार्ने पनि ? सुधार्नका लागि भाषण मात्रै गर्ने कि केही ठोस काम पनि गर्ने ? अथवा यस्तालाई अपराधीकै व्यवहार गरेर कारवाहीका लागि राज्यलाई अझ बलियो बनाउने कि ? 

साभार : ईबुधबार डटकमबाट


  •  
  •  
  •