भक्तपुर, १५ चैत(ओएनएस) : प्रत्येक नयाँ वर्षमा भक्तपुरमा नौ दिन आठ रातसम्म तान्त्रिक विधिअनुसार मनाइने विश्व प्रसिद्ध बिस्केट जात्रा चैत २७ गतेदेखी सुरू हुने भएको छ । यसका लागि भैरव र भद्रकालीको रथ निर्माण कार्य तौमढीमा सुरु गरिएको छ ।
तान्त्रिक विधिअनुसार काठैकाठले प्यागोडा शैलीमा ३५ फिट अग्लो तीनतले भैरवनाथको रथ निर्माण निर्माण सुरु भएको गुठी संस्थान भक्तपुरका प्रमुख लेखनाथ सापकोटाले जानकारी दिए । भैरवसँगै भद्रकालीको रथ पनि १० दिनभित्र निर्माण गरेर रङरोगन गरिसक्ने उनले बताए ।
रथ निर्माणका लागि ६ लाख रूपैयाँ र बिस्केट जात्राका लागि करिब २५ लाख रूपैयाँ लाग्ने सापकोटाले जानकारी दिएका छन् । रथ निर्माणका लागि अत्यावश्यक काठ मात्र फेरिने बताउँदै उनले पुरानै काठलाई प्रयोग गरिने बताए ।
लिच्छवीकालदेखि सुरु भएको जात्रा वैशाख १ गतेभन्दा चार दिन अगाडि भैरव र भद्रकालीको रथ तानेर सुरु गरिन्छ । जात्रामा भैरवनाथको रथमा भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराई पाँचतले मन्दिर प्राङ्गणबाट माथिल्लो र तल्लो क्षेत्रमा रथलाई तानेर लैजाने परम्परा छ ।
बिस्केट जात्रामा नौ दिनसम्म विभिन्न जात्रा हुने भए पनि मुख्य गरी सुरुको दिन तौमढीमा रथ तान्ने, चैत्र मसान्तमा ल्यासिंखेलमा इन्द्रध्वजासहितको लिङ्गो उठाउने, वैशाख १ गते दिनभर लिङ्गो जात्रा गरी साँझ लिङ्गो ढाल्ने र वैशाख ५ गते तौमढीमा भैरवको रथ तानेर मनाउने गरिन्छ ।