हुम्ला फुटबल एकेडेमीका सारथि विष्णु

1010
  •  
  •  
  •  

कर्णाली प्रदेशको विकट जिल्लामध्ये एक हो हुम्ला । हुम्ला आफैंमा विकट जिल्ला, त्यसमा पनि खेलकुद क्षेत्रमा अन्त्यन्तै पछाडि ।

त्यहि जिल्लामा फुटबल क्षेत्रको विकासका लागि लामो समयदेखि लागि रहेका ४५ वर्षीय विष्णु रावत । वि.स २०३५ साल भदौ ५ गते हुम्लामै जन्मिएका रावत सानै उमेरमा काठमाडौं आइपुगे । उनी काठमाडौं आउँदा पाँच वर्षका मात्र थिए ।  त्यतिबेला गाउँमा स्कुल थिएन ।

आफ्ना नातिलाई पठाएर ठूलो मान्छे बनाउने अभिलासाका साथ उनका हजुरबुबा कर्णबहादुर रोकायले विष्णुसहित ५ जना बालकहरुलाई काठमाडौं नक्सालमा रहेको बालमन्दिरमा ल्याए ।
विष्णुको एक मात्र उदेश्य थियो, शिक्षित बनेर गाउँ फर्किने ।

उनका बाआमाको पनि सपना थियो, छोरो धेरै पढेर व्यवसायी बनोस्। त्यसैले पनि उनी पढ्नका लागि गाउँबाट काठमाडौं आइपुगे । काठमाडौं आएका विष्णु नक्सालमा बस्न थाले । विष्णु भन्छन्,‘त्यतिबेला काठमाडौंमा बच्चाहरु पढ्न ल्याउने चलन थियो । त्यहि भएर हजुर बुबाले नक्सालमा ल्याएर भर्ना गरिदिनुभयो । बाल्यबाट नै मेरो नक्सालमै बित्यो ।’

खाने, बस्ने र पढ्ने सुविधा निःशुल्क त्यहि नै थियो । त्यहि भएर विष्णुलाई सहज भयो । पढाइप्रति उनको निकै रुची थियो। त्यसैले पनि उनी पढाइको मामलामा कहिल्यै पछाडि परेनन्।

विष्णुले एकदिन फुटबल खेल्दै गरेका खेलाडीहरु देखे । मैदानमा खेलिरहेका खेलाडीले फुटवललाई खुट्टाले हानेर आकाशतिर उडाएको देखेर विष्णुलाई खुबै रमाइलो लाग्यो। अनि उनलाई पनि इच्छा जाग्यो, फुटबल खेल्ने।

उनीसँग खेल्नका लागि फुटवल थिएन न त फुटवल किन्ने पैसा नै। तर उनलाई जसरी भएपनि फुटवल खेल्नु नै थियो। त्यसैले उनले आफ्नो रहर पूरा गर्नका लागि स्कुले मोजालाई डल्लो बनाए अनि त्यसलाई फुटबल सम्झिएर खुट्टाले हान्न थाले। विष्णु भन्छन्,‘त्यो बेला फुटबल खेल्ने मन थियो तर मसँग बल किन्ने पैसा थिएन, त्यसैले आफ्नो रहर पूरा गर्न मोजाभित्र प्लास्टिक कोच्याएँ अनि फुटबल बनाएर खेल्न थालेँ’ विगत सुनाउँदै उनले भने, ’त्यति गरेपछि म खुसी भएँ ।’

स्कुलले जुटाइदिएको प्रशिक्षण

उनीहरुको फुटबलप्रतिको लगाव देखेर स्कुलले नै फुटवल प्रशिक्षण दिने अवसर जराइ दियो । त्यसपछि उनीहरुले त्यहि अनुरुप प्रशिक्षण लिए । विष्णु भन्छन्,‘२०४०/४५ सालमा लिएको त्यो प्रशिक्षण ठूलो ठान्नुपर्छ ।’

आफ्नै गाउँ फर्किए

काठमाडौंमै बसेर पढिरहेका उनी १० वर्षको उमेरमा गाउँ फर्किए । र गाउँमै बसेर पढाइलाई निरन्तरता दिन थाले।  जब उनी काठमाडौंबाट हुम्ला फर्किए त्यहाँ वरिपरि डाँडाले घेरेकोे । कहाँ आए जस्तो भयो । जन्मस्थान त त्यहि नै हो तर पनि बाल्यकाल सबै काठमाडौंमै वितेको थियो । वरिपरि हिमालको डाँडैडाँडा । कुन ठाउँमा आएपुगे भन्ने भयो । आश्चर्य लाग्यो ।

सबैभन्दा पहिले त भाषा नबुझ्ने । हुन त उनी त्यहि जन्मिएका हुन् । तर बाल्यबाल त्यति त्यहाँ बिताउन पाएनन् । विष्णु भन्छन्, ‘गाउँ जाँदा आफ्ना नातेदार पनि नचिनिने अवस्था रह्यो । लगभग दश वर्षपछि जन्मस्थान पुगेको थिए ।’

गाउँमै लगे फुटवल

दश वर्षपछि गाउँमा जाँदा उनले काठमाडौंबाट फुटवल र फुटवल सुज बोकेर पुगेका थिए । त्यसपछिको बाँकी शिक्षा उनको मानसरोवर माध्यमिक विद्यालयबाट शुरु भयो ।

स्कुलको हाप टाइममा विष्णु फुटबल लिएर स्कुल पुग्थे । फुटबल लिएर जाँदा स्कुलका अन्य साथीहरु दंग पर्थे । किनभने त्यहाँ फुटबल थिएन । त्यहाँ कपडाको बल बनाएर खेलिन्थ्यो । फुटबल भन्ने पनि हुन्छ र भन्ने थियो । विष्णु भन्छन्, ‘त्यहाँका स्थानीयहरु हुम्लामा फुटबलको विकास हुनुको जस मलाइ नै दिन्छन् ।  त्यो हिसावले पनि गर्व पनि लाग्छ ।’

हाफ टाइममा विष्णु र दुई, तीन जना साथीहरु स्कुल ग्राउण्डमा फुटबल खेल्थे । विष्णुले काठमाडौंबाट फुटबल सिकेर गएको हुनाले त्यहाँका लागि नौलो थियो ।

त्यसरी आज खेल्यो, भोली खेल्यो गर्दै गर्दा त्यहाँका युवाहरु फुटवल भन्दा मरिहत्ते गर्ने भए । खेल मैदान थिएन । स्कुल छुट्टी भइसकेपछि विष्णु साथीहरु जम्मा गरेर एयरपोर्ट पुग्थे ।
विष्णु भन्छन्, ‘न पोल छ, न खेलकुद सामग्री, न सुज, न जर्सी । तर पनि त्यहाँका लागि फुटबल नौलो थियो । हामी फुटवल खेलिरहेको बेला प्लेन आउँथ्यो । टावरबाट साइरन लगाएपछि हामी फटवल र ड्रेस बोकेर भाग्थ्र्यौ । त्यस्तो अवस्थामा पनि ढुंगे मैदानमा हामी फुटवल खेल्यौं ।

एयरपोर्टमा ढुंगा नै ढुंगा थियो । कति चोटपटक लागे । सुरक्षाकर्मीको गाली पनि खाइयो । तर पनि हामीले फुटबल खेल्न भने छाडेनौं । मैले लगेपछि नै हुम्लामा फुटबल भन्ने यस्तो पो हुने रहेछ भन्ने भयो ।’

त्यहाँका युवाहरु विस्तारै फुटवल खेलप्र्रति आकर्षित हुन थाले । नेपाल प्रहरीको टिम,कर्मचारी मिलन केन्द्रको टिम, स्कुल–स्कुल, साना–साना क्लवहरु, खसी प्रतियोगिताहरु हुन थाल्यो ।
विष्णु भन्छन्, ‘पहिला भलिवललाई नै फुटबल बनाएर फाट्टफुट्ट खेल्थे । जब मैले फुटबल लगेपछि एकदमै चासो दिन थालियो । त्यसपछि स्कुलले पनि फुटवलहरु ल्याइदिन थाल्यो ।’

पैसा कमाउन व्यवसायी बने

उसो त विष्णुलाई खेलमा लागेर के पाउँछन् भन्ने पनि धेरै थिए । शुरुमा घरपरिवारबाट पनि आवेग थियो । त्यसपछि उनी पर्यटन व्यवसायतर्फ लागे । हुनत उनलाई फुटबल  खेलाडी बन्ने सोच थियो तर पैसा कमाउन उनी व्यवसायी बने।

’मेरो सपना थियो खेलाडी बन्ने तर पैसा पनि त कमाउनु नै पथ्यो, त्यसैले म व्यवसायी भएँ’ उनी भन्छन् । पर्यटन क्षेत्रमा आवद्ध भएका उनले हुम्ला, जुम्ला र मानसरोवरमा पर्यटक भित्र्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । उनी मनाङ एयरमा पनि आवद्ध छन् ।

उनी एक सफल व्यवसायी त बने तर उनको फुटबलप्रतिको लगाव कहिल्यै हटेन । त्यसैले त चार दशक कटिसकेका उनी विशुद्ध समाज सेवामा लागेर हुम्लामा फुटबलको भविष्य कोर्दैछन् ।
उनको सपना हुम्लाका खेलाडीले राष्ट्रलाई खेलकुदको माध्यमबाट योगदान पुर्याउनु हो । जसकारण उनले हुम्लाको सिमीकोट–५ मा फुटबल मैदान बनाएका छन्। खेलाडी बन्ने सपना देखेका युवालाई प्रोत्साहन गर्नका लागि बनाइएको सो ग्राउण्डमा साथीहरुको पनि योगदान रहेको उनी बताउँछन् ।

‘भाइबहिनीहरुका लागि बनाएको फुटबल मैदानमा मेरा साथीहरु प्रीतीबहादुर रावत, बुद्धि रोकाय र रविन बस्नेतको पनि योगदान छ’ उनी भन्छन्, ‘मलाई साथ दिने नै मेरा साथीहरु हुन् ।’

हुम्ला फुटबल एकेडेमीको स्थापना


२०७७ सालमा हुम्ला फुटबल एकेडेमी शुरु गर्दा दुःख पाए पनि उनले कहिल्यै हार मानेनन्। त्यसैले त उनलाई धेरै सहयोग गरे।

’मलाई धेरै जनाले सहयोग गर्नुभयो र गरिरहनु पनि भएको छ। त्यसैले पनि मैले कहिल्यै हिम्मत हारिनँ’ उनले भने, ’म रहुन्जेल एकेडेमी रहनेछ ।’

दुई वर्षअघि सञ्चालन गरेको फुटबल एकेडेमीमा अहिले २५० बढी प्रशिक्षार्थीले प्रशिक्षण लिइरहेका छन्। जसमा नेपाली महिला फुटबल टिमबाट दिपा शाहीले खेलिरहेकी छन्।
२९१० मिटर उचाईमा बनेको फुटबल मैदानमा उनी बिहानै पुग्छन् र फुटबल खेलिरहेका भाइबहिनीलाई देखेर खुसी हुन्छन्। अनि सोच्न थाल्छन्, ’यीनीहरु नै हुन् भविष्यका खेलाडी ।’

विष्णु भन्छन्, ‘पहिले धेरै दुःख पाइयो । पहिला खेलाडीहरु पनि नहुने । भन्ने बित्तिकै सबै चिजहरु नपाइने । फुटबलहरु साथीहरुको सहयोगबाट हामीले गत साल ६०/७० वटा फुटबल ल्यायौं ।

काठमाडौंबाटै गएर पनि हामीलाई सहयोग गर्नुभएको छ । रमेश महर्जनज्यूले काठमाडौंबाटै आफ्नो व्यक्तिगत खर्चमा २७ वटा फुटबल जर्सीहरु लिएर दुईदिन सिमिकोट बसेर सहयोग गर्नुभयो । हामीले दुःख सबै बिर्सिएर हुम्लालाई केहि गर्न सक्यौं । ए डिभिजन हुँदै राष्ट्रिय स्तरमा पुर्याउने सक्यौं भने भोली हाम्रो जन्म थलोकै नाम रहने हो, नेपाल भनेर चिनिने हो । त्यो हिसाबले हामी लागेका छौं । फुटबलकै माध्यमबाट राष्ट्रको नाम चिनाउन पनि सफल भएका छन् । हामी एक दिन सफल हुन्छौं भन्ने लागेको छ ।’

अबको योजना

विष्णु भन्छन्, ‘आफ्नो विजनेश एकातिरको पाटो छ । फुटबललाई अंँगाली सकेपछि बीच बाटोमा ल्याएर छोड्नु पनि भएन । प्रशिक्षणपछि हुम्लामा पनि फुटबल खेल्दा रहेछन् भन्ने भएको जानकारी भएको छ । सामाजिक सञ्जालबाट साढे ६ बजे उपस्थित भएर प्रशिक्षणको लाभइ गर्दै आएका छौं । अब हुम्लाको फुटबललाई जीवनको अन्तिम अवस्थासम्म लैजाने छु ।’

सरकारको साथ र सहयोग

सरकारले खेलकुदलाई खासै प्राथमिकता दिन नसकेको विष्णु बताउँछन् । विष्णु भन्छन्, ‘नेपालको फुटबलको सर्वोच्च संस्था एन्फाले केहि सहयोग गर्नुपर्ने हो तर गरेको छैन । यो एन्फाको पनि कतव्र्य हो । अखिल नेपाल फुटवल संघ, कर्णाली खेलकुद परिषद्, राष्ट्रिय खेलकुद परिषदको पनि कतव्र्य र दायित्व हो । तर केहि सहयोग भएको छैन ।’

उनी राष्ट्रका अंगलाई खेलकुदलाई पनि राम्रोसँग नियालेर सहयोग गरिदिन आग्रह गर्दछन् ।

उनी भन्छन्, ‘दुई वर्ष अगाडि एन्फाले १० वटा फुटबल दिएको थियो । कर्णाली खेलकुद विकास परिषदको सहयोग शुन्य नै छ । जिल्ला खेलकुद विकास समितिले एक पल्ट मैदानमा आएर १ सय ८० थान जर्सी सहयोग गर्यो । अरु सहयोगी हातहरुले नै चलेको छ ।’

विष्णु थप्छन्, ‘शिक्षा, स्वास्थ्य खेलकुद हाम्रा लागि परिपूरक हुन् । नेपालको झण्डा समातेर गोलमेडल लिन जाँदा त्यो क्षण राष्ट्रका कस्तो हुन्छ ?, खेल भन्ने मात्र होइन् । खेल्नका उपयुक्त मैदान, खेलकुद सामग्री र खेलकुदमा लागेका व्यक्तिगत तबरबाट लागेर हामी पनि छौं है भनेर अलिकति सर्पोट गरिदिनुभयो भने हामीलाई धेरै उर्जा मिल्छ ।’

 

 

 

 

 

 

 

 

 

 

 


  •  
  •  
  •