काठमाडौँ, १९ असोज(ओएनएस) : नेकपा एमालेका उप–महासचिव विष्णु पौडेलले संविधान निर्माणको लागि भएको १६ बुँदे सहमति हुँदा नै एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सहमतिको सरकार बनाउने सहमति भईसकेकोले त्यसमा कसैले शंका नगर्न आग्रह गरेका छन् ।
राजधानीमा आयोजित एक कार्यक्रममा उपमहासचिव पौडेलले भने, ‘१६ बुँदे सहमति गर्दा नै संविधान जारी भईसकेपछि अध्यक्ष ओलीको नेतृत्वमा सहमतिको सरकार बनाउने, प्रधानमन्त्री कोइरालालाई राष्ट्रपति र एमाओवादीलाई सभामुख दिने गरी शक्ति बाँडफाँडमा सहमति भईसकेकोले त्यसमा तलमाथि हुँदैन ।’
उप–महासचिव पौडेलले सबै मुख्य पदमा फोरम लोकतान्त्रिक सहित चार राजनीतिक पार्टीहरूबीच सहमति भईसकेकोले ओलीको नेतृत्वमा काग्रेससहितको सहमतिको सरकार आगामी असोज २४ गते बन्ने दावी गरेका छन् । उनले संविधान कार्यान्वयन गर्न र भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुर्ननिर्माणको लागि सहमतिको सरकारको विकल्प नभएको बताएका छन् ।
उप–महासचिव पौडेलले तीन दलसहितफोरम लोकतान्त्रिक र राप्रपा नेपालसहितका दलहरुको सहमतिमा ओली प्रधानमन्त्री बन्ने दावी गरेका छन् ।
उनले नयाँ सरकार गठन नहुन्जेलसम्म संविधान संसोधन हुन नसक्ने स्पष्ट पार्दै सहमति नभई संविधान संसोधन नहुने भएकोले पहिला वार्तामा आएर मधेसीहरुलाई सहमतिमा आउन आब्हान गरे ।
उप–महासचिव पौडेलले भने,‘ संविधान संसोधन गर्न पहिला संसोधन प्रस्ताव हाउसमा टेबल हुनु पर्छ । त्यो अहिलेसम्म भएकै छैन । संसदमा टेवल भएको मितिले एक महिनाभित्र नेपाली जनतालाई जानकारीको लागि सार्वजनिक गर्नु पर्छ । त्यसमा फेरि पुरक संसोधन प्रस्ताव पर्न सक्छ । त्यसले पनि समय लिन्छ । त्यसैले नयाँ सरकार गठन हुनु भन्दा अगाडि संविधान संसोधन हुने सम्भावना कम छ ।’
संविधान संसोधनको लागि बार्ताबाट सहमति गर्ने वा जनतामा गएर त्यो हैसियत पाएर गर्ने बाहेक अरु बिकल्प नरहेको भन्दै सडकबाट समस्याको समाधान नहुने भएकोले बार्तामा आएर सहमति खोज्नु पर्ने बताए ।