सरकारी जग्गा प्रकरणमा आफ्नो मुछिएको भन्दै महासचिव पौडेलद्वारा ध्यानाकर्षण

336
  •  
  •  
  •  

काठमाडौं, २७ चैत(ओएनएस) : नेकपा महासचिव विष्णु पौडेलले बालुवाटारमा रहेको १ सय १३ रोपनी ३ आना सरकारी जग्गा घोटाला प्रकरणमा आफ्नो नाम समेत मुछिएपछि ध्यानाकर्षण गराएका छन् ।

महासचिव पौडेलले बुधबार एक विज्ञप्ति जारी गर्दै जनमानसमा भ्रम सिर्जना हुने र वास्तविकता ओझेल पर्ने गरी सञ्चारमाध्यमले समाचार प्रकाशित गरेको भन्दै आपत्ति जनाएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘२०६१ पुस २९ गते प्रचलित कानुनबमोजिम बिक्री गर्ने व्यक्तिको नाममा मालपोत कार्यालयमा दर्ता श्रेस्ता कायम रहेको र सम्बन्धित मालपोत कार्यालयले खरिद बिक्री गर्न मिल्ने यकिन गरी रजिष्ट्रेशन लिखत पारित गरी प्रचलित कानुनबमोजिम लाग्ने राजस्व लिई रजिष्ट्रेशन पास गरिदिएको जग्गा खरिद गरी लिएको हुँदा समाचारमा उल्लेख भएजस्तो जग्गा हिनामिनामा म र मेरो परिवारका सदस्यको कुनै संलग्नता नरहेको व्येहोरा सम्बन्धित सबैलाई जानकारी गराउँदछु ।’

मुआब्जा दिएर सरकारले अधिग्रहण गरेको बालुवाटारस्थित सरकारी सम्पत्ति ललितानिवास परिसरमा पौडेलको समेत ८ आना जग्गा रहेको समाचार बाहिर आएको थियो । पौडेलले यस्ता समाचारबाट भ्रममा नपर्न समेत सबैमा आग्रह गरेका छन् ।


  •  
  •  
  •