कपडामा १० गुणा ठगी गर्ने व्यापारी पक्राउ परेनन्

155
  •  
  •  
  •  

काठमाण्डौं, १ असोज (ओएनएस) : वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले १० गुणा बढी मूल्यमा कपडा बेच्ने व्यापारीलाई अझै पक्राउ गर्न सकेको छैन ।

विभागले अनुगमनका क्रममा मंगलवार  काठमाण्डौं विशाल बजारमा रहेको बी ओम स्टोरले १० गुणा बढी मूल्यमा कपडा बेच्ने गरेको फेला पारेको थियो । विभागले १ सय ९१ रुपैयाँमा खरिद गरेको लेडिज व्यागलाई १ हजार ९ सय ५० रुपैयाँमा र ४ सय ६५ रुपैयाँमा खरिद गरेको जुत्तालाई २ हजार ५ सयमा बेच्ने गरेको पाइएको बताएको छ ।

अनुगमनका क्रममा बिशाल बजारका व्यापारीले अवरोध गरेपछि कुनै प्रमाण ल्याउन नसक्दा पक्राउ गरि कारवाही गर्न नसकेको वाणिज्य विभागका महानिर्देशक नारायण विडारीले दाबी गरेका छन् ।

बी ओम स्टोरले ठगी गरेको भेटेपछि कारवाही अगाढी बढाउन लाग्दा विशाल बजार व्यापार संघको अगुवाईमा अनुगमन रोक्न दवाब दिदै कर्मचारीलाई घेराउ गरिएको थियो । विशाल बजारको बत्ती र पसलको सटर बन्द गरेर १ सय भन्दा बढी व्यापारीले घेराउ गरेपछि अनुगमनमा भएका कर्मचारी भागेका थिए । अनुगमनमा भएका एक कर्मचारीले भने ,‘ज्यान बचाउन परिचयपत्र गोजिमा राखे र त्यहाँबाट निस्के ।’

विभागका अनुसार स्टोरले भन्सार छल्न विलमा कम मूल्य राखेको छ । वाणिज्य विभागका महानिर्देशक नारायण विडारीले भने,‘ती सामानको मूल्य विलमा राखिएको भन्दा बढी छ, भन्सार कर कम तिर्न व्यापारीले यस्तो उपाय अपनाएका हुन् ।’ उनले थपे‘तर यसलाई भन्सार र कर विभागको सहयोगमा कारवाही गर्न सकिन्छ’ । त्यस्ता व्यापारीलाई न्यून      विजीकरणको आरोपमा कारवाही गर्न सकिने उनले जानकारी दिए ।

विभागले बी ओम स्टोरका व्यापारीलाई खरिद विलसहित ७ दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको महानिर्देशक विडारीले जानकारी दिए । कालोबजारी सम्वन्धि कानुन अनुसार व्यवसायीले बस्तुको लागत मूल्यभन्दा २० प्रतिशतसम्म मात्र नाफा लिन पाउछन् । उनीहरुलाई उपभोक्ता संरक्षण ऐन अनुसार कारवाही गरिने विभागका प्रवक्ता लक्ष्मण श्रेष्ठले जानकारी दिए । चाडपर्वको मुखमा अनुगमनलाई तिव्र बनाइने विडारीले जानकारी दिए ।

चाडपर्वमा विशेषगरी खाद्य पदार्थ तथा लत्ता कपडामा ठगी हुने भएकोले यस अभियानलाई अघि बढाइएको उनको भनाई छ ।


  •  
  •  
  •