काठमाडौं २८ पुस (ओएनएस) : सर्वोच्च अदालतको फैसलाअनुसार सरकारी जग्गाको मुआब्जा बराबर सेयर दिन नमान्ने र कम्पनीमा थोरै आम्दानी देखाएर भाडावापतको ठूलो रकमम आफै खाने गरेको अभियोगमा भ्रष्टाचार मुद्दा धाइरहेका विशाल बजार कम्पनीका निलम्बित सञ्चालकहरुले हिजो दिनभर शंकास्पद गतिविधि गरेका छन् ।
उनीहरुले हिजो दिउँसो २ बजेदेखि विशालबजारकै मूलभवनअगाडिको लायन्स क्लब रहेको सानो घरको छतमा भेला गरेर रकम संकलन गरेका छन् ।
भेलामा निलम्बित अध्यक्ष रवीन्द्रलाल श्रेष्ठ, निलम्बित सदस्यहरु वासुदेव विष्ट, भवानीराज पाण्डे, विजय बानिया र प्रमोद अग्रवाल थिए । भेलामा प्रतिव्यक्ति १० लाखका दरले रकम उठाउने निर्णय भएको संलग्न स्रोतको भनाइ छ ।
निलम्बित सञ्चालक विजय बानियाँले १० लाख रुपियाँ कागजमा पोको पारी झोलामा राखेर अर्का निलम्बित सञ्चालक प्रमोद अग्रवालको कपडा पसलमा राख्न दिएका थिए । अग्रवालको कपडा पसल विशालबजारको पहिलो तलामा छ । निलम्बित सञ्चालक गौतमलाल श्रेष्ठले साढे तीन लाख रुपियाँ बुझाएका छन् । गौतमलालले त्यहीँको बाणिज्य बैंकबाट रकम झिकेको एक प्रत्यक्षदर्शी व्यापारीले जानकारी दिए । रवीन्द्रलालले साढे दुई लाख रुपियाँ प्रमोदलाई जिम्मा लगाएको स्रोतको भनाइ छ । अन्य सञ्चालक समेत गरी करिब ९५ लाख रुपियाँ उठाएको रकम स्रोतले जनाएको छ ।
उनीहरुले यो रकम यस्तो दिनमा उठाएका छन्, जसको भोलिपल्ट अर्थात् आजै विशेष अदालतमा भ्रष्टाचार मुद्दाको सुनुवाई हुँदै छ । कानुन व्यवसायी वा अरु कुनै व्यापारिक प्रयोजनका लागि यो रकम खर्च हुनेमा स्रोतले शंका व्यक्त ग¥यो ।
विशालबजारका आठ सञ्चालकविरुद्ध अख्तियारले विशेष अदालतमा ९ करोड ७५ लाख रुपियाँबराबर बिगो दावीसहित भ्रष्टाचार मुद्दा दायर गरेको छ । अध्यक्ष रवीन्द्रलाल श्रेष्ठविरुद्धको अर्को भ्रष्टाचार मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ ।
निलम्बित सञ्चालक मध्येका एक प्रमोद अग्रवालले त्यसलाई अस्वीकार गरे । ‘हिजो दिउँसो हामी घाम तापेर मात्रै बसेका हौं ’ उनले भने, ‘मुद्दाको विषयमा कुरा भएको हो तर पैसा उठाउने त्यस्तो कुनै काम भएको छैन । ’
रजिस्ट्रारलाई किन्ने !
निलम्बित अध्यक्ष रवीन्द्रलाल श्रेष्ठले आफ्नो मीनभवनस्थित घर न्यूरोडस्थित सुन पसलमा पटकपटक विशेष अदालतका रजिस्ट्रार नातिबाबु लामिछानेसँग भेटेको र उनले छिटोछिटो पेसी राखिदिने गरेको बताउँदै आएका छन् ।
आफ्नो सम्पर्कका कारण अभियुक्तहरुको बयान, साक्षी बकाउनेदेखि मुद्दाका अंग पु¥याउने काम पनि उनले फटाफट गरिदिएको रवीन्द्रको भनाइ छ । रजिस्ट्रार लामिछानेले पनि पेसीमा आफूले नै चढाउने र पक्षहरुको अवस्था हेरी छिटोढिलो गर्न सकिने कुरा ओएनएससँग स्वीकार गरे । तर उनले अभियुक्तहरुलाई बाहिर कतै भेट्न नगएको बताए । उनले भने, ‘मेरो उनीहरुसँग पूर्वचिनजान पनि होइन । यहीँ (विशेष अदालत) आएपछि चिनेको हो । उनीहरुको आग्रहबमोजिम पेसीमा चढाउने गरेको हो तर उनीहरुलाई भेट्न बाहिर कतै गएको छैन ।’
रकमको डिलिङको सम्भावनाबारे पनि उनले अस्वीकार गरे । उनले भने, ‘अहिलेको विशेष अदालत बाहिर आकलन गरेका आधारमा सबै कुरा हुने खालको छैन । मेरो नाम त्यसरी बेच्नुपर्ने त होइन ।’
विशेष अदालतमा विचाराधीन भ्रष्टाचार मुद्दा उनीहरुले यसअघि दुईपटक पेसी चढेको थियो । पेसीबाट निलम्बित अध्यक्ष श्रेष्ठले नै हटाएका छन् । हिजोको बैठकमा उनले सके यही सोमबार नभए अर्को सोमबारसम्म निर्णय भइसक्ने र आफू सफाइ पाएर आउने दाबी गरेका थिए । अन्य सदस्यहरुलाई पनि ढुक्क भएर रकमको बन्दोबस्त गर्न निर्देशन पनि दिएका थिए । विष्ट र पाण्डेको पनि विशेष अदालतमा सम्पर्क भएकाले सबै कुरा मिल्ने श्रेष्ठको दाबी थियो ।