काठमाडौँ, २९ चैत(ओएनएस) : सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्रशमशेर जबराले महिनौँअघि तयार भएको फैसलाको पूर्ण पाठ रोकेर राख्दा विशाल बजार कम्पनी लिमिटेडमा अनिर्वाचित नेतृत्वको मनोमानी बढेको छ ।
कम्पनीमा अध्यक्षका रुपमा काम गरिरहेका नेपाल खाद्य संस्थानका महाप्रबन्धक शिवहरि श्रेष्ठले विशालबजारलाई आफन्तको भर्तीकेन्द्र बनाएका छन् । आफन्त भर्ना गर्दा उनले प्रतिस्पर्धाका नाममा औपचारिकता समेत पूरा गरेका छैनन् । र, कम्पनीको सबैभन्दा संवेदनशील र आकर्षक मानिने लेखा शाखामा उनीहरुलाई नियुक्त गरिएको छ ।
अध्यक्ष श्रेष्ठ र नेसनल ट्रेडिङका महाप्रबन्धक सत्यनारायण मेहताले मिलिजुली विशालबजारमा आफ्ना छोरी र सालीहरु भर्ना गरेका छन् । श्रेष्ठले एलिजा थापा नामकी युवतीलाई वरिष्ठ सहायक पदमा १८ हजार रुपियाँभन्दा बढी मासिक तलब सुविधा दिएर राखेका छन् । श्रेष्ठले नै अर्की युवती सिन्धुकुमारी सिंहलाई १६ हजार रुपियाँ न्यूनतम तलब खाने गरी सहायक पदमा नियुक्त गरेका छन् । सत्यनारायण मेहताले छोरी स्नेहा मेहतालाई वरिष्ठ सहायकमा नियुक्त गरेका छन् । उनले पनि मासिक १८ हजार रुपियाँभन्दा बढी तलब पाउँछिन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यो कम्पनी सर्वसाधारणको सेयरबाट चलेको, ३४ प्रतिशत लगानी सार्वजनिक संस्थानहरुको रहेको र यसको जग्गा समेत सरकारको भएकाले सार्वजनिक खरिद ऐनअनुसार प्रतिस्पर्धाबाट मात्र वस्तु र सेवा गरिद गर्नुपर्ने निर्देशन दिएको छ । विशेष अदालत र सर्वोच्च अदालतले समेत यस्ता आदेश दिएका छन् । तर, अख्तियारको निर्देशन र न्यायालयका आदेशलाई समेत चुनौती दिँदै श्रेष्ठले दुई वर्षको करार एकैचोटि गरेर आफन्तलाई पोस्ने काम गरेका छन् । श्रेष्ठ भने आफूले कुनै कानुनविपरीतको काम नगरेको बताउँछन् । उनी भन्छन्, “कम्पनीकै विनियमावलीअनुसार नियुक्ति गरेको हुँ ।”
यो कम्पनी सर्वसाधारण सेयरधनी र नेपाल सरकारका तीनवटा संस्थानहरुको लगानीबाट चलेको हो । यस कम्पनीले चर्चेको न्यूरोडको महँगो जग्गा ८ रोपनी ४ आनाको मूल्यबराबरको सेयर सरकारका नाममा कायम हुन सकेको छैन । वैधानिक नेतृत्व र सुशासनको अभावमा दशकौँदेखि यो संस्था अस्थिर र अस्तव्यस्त छ । सुशासनका पक्षमा कुनै निकायले हस्तक्षेप गर्न खोज्दा अदालतमा मुद्दा दायर गर्ने र आफ्नो प्रभुत्व कायम राखिरहने सञ्चालकहरुको प्रवृत्तिका कारण पनि न्यूरोडजस्तो व्यावसायिक केन्द्रमा रहेको कम्पनी लथालिंग भएको हो ।
को हुन् शिवहरि ?
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशालबजारका सञ्चालकहरुविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेपछि खाद्य संस्थानको प्रतिनिधिको रुपमा शिवहरि श्रेष्ठ विशालबजारका पदेन सदस्य हुन पुगेका हुन् । सरकारले अर्को नेतृत्व नआएसम्मका लागि काम गर्न उनलाई नै अध्यक्ष तोकेको छ । उनको कार्यसम्पादन क्षमता र शैलीमाथि प्रश्न उठाउँदै सुशील कोइराला नेतृत्वको सरकारले मन्त्रालयमा तानेको थियो । गृहसचिव नारायणगोपाल मलेगोका साढुभाइ समेत रहेका श्रेष्ठ पछि शक्तिकेन्द्रसँग तालमेल मिलाएर पुनः खाद्य संस्थानमा महाप्रबन्धकको रुपमा काम गर्न पुगेका हुन् । यद्यपि, उनी खाद्य संस्थानबाट मन्त्रालयमा तानिरहेका बेला पनि विशालबजारका बैठकमा गइरहन्थे ।
अहिले उनी अध्यक्षका हैसियतले काम गर्न थालेपछि वार्षिक साधारणसभा गर्न आनाकानी गरिरहेका छन् । अघिल्लो सञ्चालक समितिको म्याद सकिइसक्दा पनि उनले वार्षिक साधारणसभा गर्न मानिरहेका छैनन् । केही विवादित विषयमा सर्वोच्चको फैसला आवश्यक पर्ने भन्दै उनी साधारणसभा आह्वानमा ढिलाइ गरिरहेका छन् । “उता सर्वोच्चले समयमा फैसला नदिने, यता अनिर्वाचित अध्यक्षले जथाभावी गर्दै जाने हो भने सर्वसाधारण सेयरधनीले विद्रोह गर्ने दिन आउन सक्छ”, विशालबजार सेयरहोल्डर संघका एक पदाधिकारीले ओएनएससँग भने ।
सम्बन्धित समाचार :