विस्फोट र हत्या आरोपी सञ्जय साहमाथि अवैध सम्पत्ति आर्जनकाे मुद्दा दर्ता

1086
  •  
  •  
  •  

काठमाडौं, १६ चैत (ओएनएस) : विस्फोट र हत्या आरोपी पूर्वमन्त्री सञ्जयकुमार साह टक्लाविरुद्ध अवैध सम्पत्ति आर्जनगरेकाे सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विशेष अदालतमा मुद्दा दायर गरेको छ।

जनकपुर बम विस्फोट र सञ्चार उद्यमी अरुण सिंघानियाको हत्या अभियोगमा थुनामा रहेका पूर्वमन्त्री साह टक्लाविरुद्ध अवैध सम्पत्ति लुकाएको भन्दै विभागले मुद्दा दायर गरेको हाे। उनले आर्जन गरेको सम्पत्ति श्रीमतीसहित १३ जनाको नाममा लुकाएर राखेको दायर गरिएकाे अाराेप पत्रमा उल्लेख गरिएकाे छ।

विशेष अदालतमै ३२ करोडको भ्रष्टाचार मुद्दामा धरौटी बुझाएका साहविरुद्ध दुई महिनापछि सोही बराबरको रकम सम्पत्ति शुद्धीकरण कानुनविपरीत आर्जन गरेको अभियोग लगाइएको छ। करिब २ वर्ष लगाएर अनुसन्धान गरेको विभागको आरोपपत्रमा साहले अपहरण, फिरौती, जबरजस्ती असुली र अन्य अवैधानिक बाटोबाट सम्पत्ति आर्जन गरेको र त्यसलाई आफन्त तथा साथीभाइको नाममा लुकाएर राखेको भनिएको छ।

विभागको आरोपपत्रमा साहले आफूसहित पत्नी रंगिलादेवी, बाबु साधु साह सुडी, आमा दुलारीदेवी, बहिनी बबिता पञ्जियार तथा साथीहरू निलम सिंह, मनोजकुमार सिंह र ओमप्रकाश यादवका नाममा गैरकानुनी सम्पत्ति राखेको जनाइएको छ।

आरोपत्रपमा २ अभियुक्त थुनामा रहेको र अन्य १२ फरार रहेको उल्लेख छ।

विभागले सम्पत्ति लुकाएको अभियोगमा अन्य केही आफन्तको पनि सम्पत्ति छानबिन गरेको थियो। विभागले बहिनीहरू अनिताकुमारी र देवन्तीकुमारी साह, मुन्निकुमारी महतो, बबिताकुमारी पञ्जियार, ससुरा लक्ष्मण साह, मामा विक्रम पञ्जियार, मामाका छोरा सुजित पञ्जियार, अजित पञ्जियार, नरेशकुमार यादव, दीपेन्द्र ठाकुर, निभाकुमारी ठाकुर, नवीनकुमार यादव, रामविनोद यादव, गुलाबदेवी महतो धिरज महतो र राजकुमार पूर्वेमाथि पनि अनुसन्धान गरेको थियो। तर उनीहरुको नाममा अवैध आर्जन सम्पत्ति नभेटिएको भन्दै विभागले उन्मुक्ति दिइसकेको छ।


  •  
  •  
  •